१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खेत बन्धकी राख्दा पनि पुगेन उपचार खर्च

बाग्लुङ- यहाँको एक परिवारले छोराको उपचारका लागि सहयोग याचना गरेको छ। बाग्लुङ नगरपालिका—३ का नुवाराका खड्कबहादुर किसान र ममिता किसानले आफ्ना २० वर्षीय छोरा सन्तोष किसानको उपचारमा आर्थिक समस्या भएपछि सहयोगको याचना गरेको हो।  छोराको उपचारका लागि लाखौं खर्चिएका किसान दम्पत्तीले ऋण काढ्ने ठाउँ बाँकी नरहेपछि उनीहरुले दुई रोपनी खेत समेत बन्धकी राखेका छन्।

‘१६ वर्षको उमेर पुग्दा छोराको मृगौला फेल भएको थाहा भो,’ किसानले भनिन्,‘भए भरको ऋणधन गरेर उपचार गरेपछि केही समय ठिक भएको थियो। अहिले फेरि समस्या बल्झिएपछि उपचारमा समस्या भएको छ ।’ छोराको उपचारका लागि ऋण लिने ठाउँ नभएपछि दुई रोपनी भएको खेत पनि बन्धकी राखेको उनले बताईन् । ‘उपचार खर्च धेरै लाग्ने भयो, साथमा पैसा नभएपछि भएको दुई रोपनी खेत पनि एक ठाउँ ३० हजार र अर्को ठाउँ ४० हजार गरेर दुई ठाउँमा बन्धकी राखेका छौं,’ किसानले भनिन् । दुवै मृगौला फेल भएका सन्तोषको स्वास्थ्य परिक्षण र उपचारका लागि अहिले सम्म १२ लाख बढी खर्च भइसकेको सार्की दम्पति बताउँछन् । ‘छोरालाई रोग नलाग्दा सम्म बुढाले भारतको सिलाङमा काम गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘विगतमा अलि अलि कमाएको पैसा पनि यसैको उपचारमा सकियो। छरछिमेकमा पटक पटक ऋण लिएर उपचार गरियो अहिले सबै ढोका बन्द भएको छ ।’ सन्तोषले शुरुमा टिचिङ अस्पताल काठमाण्डौंमा स्वास्थ्य परिक्षण तथा उपचार गरिए पनि अहिले वीर अस्पतालमा नियमित डायलासिस गराउँदै आएका छन् । 

मूलपानी उच्च माध्यमिक विद्यालयबाट चार बर्ष अघि एसलसी उत्तिर्ण गरेका सन्तोष त्यस यता कक्षा १२ मा भर्ना भए पनि स्वास्थ्य अवस्था कमजोर भए पछि तीन बर्षदेखी पढाई छाड्न बाध्य भएका छन् । छोराको डायलाईसीसको लागि काठमाडौं लैजान पैसा समेत आफुसंग नभएकोले सहयोगको याचना गरेको सन्तोषका बुबा खडकबहादुर किसानले बताए । ‘जिन्दगीभर कमाएको पैसा यसैको उपचारका लागि सकियो,’ अब यसको मृगौलाले काम गर्दैन अर्को फेर्नुपर्छ भनेका छन् डाक्टरले,’ उनले भने,‘हामी बुढाबुढीमध्ये कसको मिल्ने हो थाहा छैन । त्यही काठमाडौंसम्म पुग्ने पैसाको पनि अहिले त अभाव भएको छ ।’ 

अहिले गाउँलेले सय दुई सय हजार रुपैयाँ जम्मा गरेर उपचारमा सहयोग गरेका छन् । अन्य निकाय र व्यक्तिहरु भने कतैबाट पनि सहयोग नपाएको सार्कीले गुनासो गरे । ‘हामीलाई केही थाहा पनि छैन, कहाँ कसरी जाने त्यो पनि थाहा छैन,’ किसान दम्पत्तीले भने, सरकारले दिने भनेको सहयोगबारे पनि थाहा छैन ।’ देश विदेशमा रहेका सबैले धेरथोर सहयोग गरिदिए आफ्नै मृगौला दिएर भए पनि छोरालाई बचाउने चाहाना रहेको उनीहरुले बताए । ‘मृगौला फेर्नका लागि पनि ६ महिनासम्मका काठमाडौंमै बस्नुपर्छ भन्छन्,’ उनीहरुले भने,‘फेरिसकेपछि फेरि जाँच गराउन दिल्ली जानुपर्छ रे । जवान छोराको यो अवस्था देख्दा हामीलाई त साह्रै गाह्रो परेको छ।’

प्रकाशित: १६ श्रावण २०७४ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App