coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘भुइँमान्छे’ लिएर धरान आइन् सिपोरा

धरान-  सिपोरा गुरुङ भलिवल खेल्न मात्र होइन, अभिनयमा पनि पोख्त छिन्। उनले ६ बर्ष अघि(सन् २०११) मा नै पोखरामा निर्माण भएको फिल्म ‘घलेकः द साइन अफ लव’मा अभिनय गरेकी थिइन्। त्यसबेला उनी घाइते भएकोले खेल मैदानबाट केही समयको लागि टाढिएकी थिइन्।

घलेक फिल्मपछि कलाकारितासँग टाढिएकी उनै सिपोरा अहिले नवराज बुढाथोकीको निर्देशन र रोहिणी भट्टराई मुख्य निर्माता भएको फिल्म ‘भुइँमान्छे’मा पर्दामा देखिदैछिन् । मिस नेपालमा समेत सहभागी भएकी उनलाई थुप्रै फिल्मबाट प्रस्ताव पनि आए। तर, ६ बर्षको ग्यापमा मात्र उनले पुनरागमन जनाइन्। यसको पनि खास कारण रहेछ। ‘पहिलो फिल्म पछि धेरै अफर आएको थियो, आइटम डान्सको पनि प्रस्ताव आयो तर गरिन,’ फिल्मको प्रर्वद्धन गर्ने क्रममा सोमबार धरान आएकी उनले भनिन्,‘यो फिल्मको स्क्रिप्ट हातमा परेपछि नै खेल्न चाहे, फरक कथा, बिषय बस्तु भएको र जनचेतनामुलक पनि लाग्यो।’

चलचित्र निर्माताका अनुसार भुइँमान्छे नेपाली समाजमा कहिल्यै पनि प्राथमिकतामा नपरेको पोष्टमार्टममा काम गर्ने मान्छेको मनोविज्ञानमा आधारित चलचित्र हो। सधै लाशको चिरफार गर्ने एक संर्घषशील मान्छे, जसलाई नेपाली समाजमा कहिल्यै पनि प्राथमिकता दिइएको छैन, उसैको मनोविज्ञान समेटेर भुइँमान्छे फिल्म बनेको छ। फिल्म हेर्न रमाइलो लाग्ने तर अभिनय गर्न मन नभएकी सिपोरालाई यही कथाले तान्यो। ‘यो स्क्रिप्ट नपढेसम्म म पनि डक्टरले पोष्टमार्टम गर्छ भन्ने थियो, तर होइन रहेछ। एउटा राम्रो चलचित्र बनेको छ, सन्देश दिने खालको पनि भएकोले अभिनय गरेको हुँ,’ नायिक सिपोराले भनिन्,‘खेलमा जस्तै फिल्ममा पनि सत प्रतिशत मेहनत गरेको छुँ ।’ खेलबाट टाढिएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले साउथ एसिएन गेम अन्यौल भएकोले मात्र त्यस्तो लागेको बताइन् । ‘घरेलु प्रतियोगिता कम हुन्छ, साउथ एसिएन गेम नेपालमा हुनुपर्ने हो, नहोला जस्तो छ । भयो भने खेल्छु,’ उनले भनिन्।

निर्माता रोहणि भटराईका अनुसार फिल्ममा लाश चिरफार गर्ने व्यक्तिको लिड रोलमा रमेश बुढाथोकी छन्। फिल्म पोष्टमार्टम गर्ने व्यक्तिको मनोविज्ञानमा आधारित भएपनि यसले अस्पताल, समाज, नेपालको राजनीति, सत्तालगायत विविध पक्षको विकृति, विसंगतिलाई पनि चिरफार(पोष्टमार्टम) गरेको उनले बताए।

प्रकाशित: १६ श्रावण २०७४ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App