८ वैशाख २०८१ शनिबार
अन्य

सधैँ स्वस्थ रहन यस्तो गरौँ

हामीले साना कुरामा पनि ध्यान दिन सक्यौँ भने स्वस्थ हुन सक्छौँ । यति मात्र होइन बारम्बार डाक्टरकहाँ जानुपर्ने बाध्यताबाट मुक्ति पाइन्छ । यहाँ त्यस्तै केही महत्वपूर्ण टिप्सहरु प्रस्तुत गरिएको छ ।  

क्याल्सियम र आइरनको पर्याप्त प्रयोग
मानव शरीरका लागि क्याल्सियम र आइरन पर्याप्त मात्रामा आवश्यक हुन्छ । शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउनका लागि यी दुई तत्वको निकै ठूलो भूमिका हुन्छ । शरीरमा क्याल्सियम र आइरनको कमी भएमा हिँड्डुलमा समेत समस्या सिर्जना हुन्छ । त्यसैले चिकित्सकहरुले पनि हामीलाई क्याल्सियम र आइरनयुक्त खाना पर्याप्त मात्रामा खान सुझाव दिन्छन् । खानामा पालुङ्गो, मेथी तथा हरियो सागपात नियमित खानाले शरीरलाई चाहिने आइरनको मात्रालाई पूर्ति गर्छ । त्यस्तै बन्दाकोबीमा पनि एन्टिअक्सिडेन्ट, भिटामिन, फोलेट र फाइबरसँगै आइरन पनि पाइन्छ । यसलाई तरकारी वा सलादका रुपमा प्रयोग गर्न सकिन्छ ।

क्याल्सियम हाम्रो हाडका लागि चाहिने मुख्य तत्व हो । यसको कमी भएमा हड्डी कमजोर हुन्छन् । क्याल्सियमले न्यूरो प्रणालीलाई पनि स्वस्थ राख्छ । साथै, शरीरका अन्य अंगमा पनि यसले महŒवपूर्ण भूमिका निर्वाह गर्छ । क्याल्सियम त्यतिबेला मात्र शरीरमा पच्छ, जतिबेला भिटामिन डीको तह शरीरमा पर्याप्त मात्रामा हुन्छ । भिटामिन डीको कमी भएमा क्याल्सिय शरीरमा जान पाउँदैन र हड्डी कमजोर हुन थाल्छ । भिटामिन डी पर्याप्त नभएमा क्याल्सियम शरीरमा भए पनि यसको कुनै फाइदा हुँदैन । हड्डीमा क्याल्सियमको कमी हुन थाल्यो भने हाडमा पीडा हुन थाल्छ । यसका लागि क्याल्सियमसँगै भिटामिन डीको मात्रालाई पनि सन्तुलन गर्नुपर्छ ।

हेमोग्लोबिनको सन्तुलन
हाम्रो शरीरका लागि हेमोग्लोबिन निकै आवश्यक हुन्छ । यसको अभाव भएमा शरीरमा विभिन्न किसिमका समस्या उत्पन्न हुन थाल्छन् । जस्तो अक्सिजन वहन गर्ने क्षमता कम हुनु, रगतमा राता रक्तकोषको कमी हुनु, एमिनिया हुनु लगायतका समस्या हेमोग्लोबिनको अभावमा उत्पन्न हुन्छन् । त्यसैले यस्ता समस्याबाट बच्नका लागि शरीरमा हेमोग्लोबिनको मात्रा सन्तुलित बनाइराख्नु पर्छ ।

हामीले दैनिक खाने भोजनबाट यसलाई सन्तुलिन गर्न सकिन्छ । अम्बा (अम्बक) खानाले शरीरमा हेमोग्लोबिनको मात्रा कम हुन दिँदैन । त्यस्तै चुकन्दर पनि यसको राम्रो स्रोत हो । खानासँगै सदाल खानाले हेमोग्लोबिनको अभावलाई पूर्ति गर्छ । अनार पनि यसको राम्रो स्रोत मानिन्छ । स्याउ खानाले एनिमियाजस्ता रोगबाट टाढै राख्छ । साथै, दैनिक तुलसीको पात वा तुलसीको सुकाइएको बिउ खानाले पनि शरीरमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।  

भिटामिन डी
भिटामिन डीले हड्डी, मांसपेसी तथा लिगामेन्टहरूलाई मजबुत बनाउँछ । शरीरमा रोगको प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउन, नशा तथा मांसपेसीको संयोजनलाई नियन्त्रण गर्न निकै महत्वपूर्ण भूमिका खेल्छ । त्यस्तै विभिन्न किसिमको संक्रमण (इन्फेक्सन)बाट बचाउन, मृगौला, कलेजो तथा मुटुको रोगलाई नियन्त्रण गर्न, क्यान्सरको रोकथामका लागि पनि यसको आवश्यकता हुन्छ ।

सहरमा बस्ने करिब ८० देखि ९० प्रतिशतसम्म मानिस यसको अभावका कारण हुने समस्याबाट संघर्ष गरिरहेका छन् । यसको कारण हो, सहरमा बस्नेहरु सकेसम्म घामको प्रकाशबाट तर्कन्छन् । घामको बिहानी किरणमा भिटामिन डिका तत्व पाइन्छन् । त्यसैले घाममा हिँडेकाभन्दा नहिँडेका मानिसहरु कमजोर हुन्छन् ।
भिटामिन डिको अभावले हड्डी कमजोर हुने तथा खोक्रो हुने, जोर्नी तथा मसल्स कमजोर हुने, कम्मर तथा शरीरको तल्लो भागमा दुख्ने,  हड्डीबाट आवाज निस्कने, रोग प्रतिरोधात्मक क्षमता कम हुने, कपाल झर्ने, मिहिनेतबिना नै थकान तथा कमजोर महसुस हुने, बेचैनी हुने, महिलाहरुमा पिरियड्स अनियमित हुने लगायतका कैयाँैँ समस्या देखिन थाल्छ ।

भिटामिन डिका लागि बिहानीपखको घाम ताप्ने, बिहान अबेरसम्म नसुत्नेजस्ता कुरा प्राकृतिक उपचार हुन् भने भिटामिन डीको औषधि नियमित लिएर पनि शरीरमा यसको अभावमा भइरहेका समस्यालाई हटाउन सकिन्छ ।

 

प्रकाशित: १६ श्रावण २०७४ ०९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App