७ वैशाख २०८१ शुक्रबार
विचार

शर्मामाथि खनिए कर्मचारी र सेयर सदस्य

साझा प्रकाशनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चालक समितिका सदस्यहरू पूर्वमन्त्रीद्वय दीनानाथ शर्मा, प्रदीप नेपाल, अर्का सदस्य कृष्णहरि बराल र अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा। तस्बिर :  नरेश श्रेष्ठ

काठमाडौं- साझा प्रकाशनमा भइरहेको अनियमितता र अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको विरोधमा संस्थाकै कर्मचारी र सेयर सदस्य खनिएका छन्। साझाको लोगोमा अवैध रूपमा पुस्तक प्रकाशन भएको, गैरकानुनी रूपमा राजनीतिक भागबन्डामा कर्मचारी भर्ना गरिएको, साझाको सम्पत्ति दुरुपयोग भएको जस्ता विषयमा साझाका कर्मचारी तथा शुभचिन्तकबाट गम्भीर प्रश्न उठेपछि अध्यक्ष तथा महाप्रबन्धक शर्मासहित सदस्यहरू पूर्वमन्त्री प्रदीप नेपाल, अर्का पूर्वमन्त्री दिनानाथ शर्मा र साहित्यकार कृष्णहरि बराल आकुलव्याकुल भएका थिए। 

अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, सदस्यहरू पूर्वमन्त्रीद्वय दीनानाथ शर्मा र प्रदीप नेपालले न पत्रिकामा प्रकाशित समाचारको खण्डन गर्न सके न कर्मचारी र सेयर सदस्यले लगाएको आरोपको चित्तबुझ्दो उत्तर नै दिन सके।

साझा प्रकाशनमा भइरहेको अनियमितताबारे नागरिक दैनिक र रिपब्लिका दैनिकमा प्रकाशित समाचारको खण्डन गर्न भन्दै अध्यक्ष एवम् महाप्रबन्धक शर्माले आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पत्रकार सम्मेलनमा कर्मचारी र शुभचिन्तकहरू साझाका सञ्चालकमाथि खनिएका हुन्।

उनीहरूले शर्मामाथि आफू अनुकूल नचल्ने कर्मचारीलाई दुःख दिने, घरबाटै साझा चलाउने, साझाको बैठक आफ्नो घरमा बोलाउने, अधिकृतलाई बाहिर राखेर सहायकलाई विभागीय प्रमुख बनाउने, बोर्डका निर्णय गोप्य राख्नेलगायतका आरोप लगाएका थिए। तर कार्यक्रममा अध्यक्ष एवम् महाप्रबन्धक शर्मा र सञ्चालकहरू पूर्वमन्त्रीद्वय शर्मा र नेपालले न पत्रिकामा प्रकाशित समाचारको खण्डन गर्न सके न कर्मचारी र सेयर सदस्यले लगाएको आरोपको चित्तबुझ्दो उत्तर दिन सके।

महाप्रबन्धक शर्माले चार पृष्ठ लामो पे्रस विज्ञप्ति पढ्ेर सुनाउन नपाउँदै उनीमाथि साझाकै कर्मचारी र सेयर सदस्यले साझाभित्र भइहरहेका अनियमितता तथा बेथितिबारे प्रश्न तेर्स्याउन सुरु गरेका थिए।

साझा प्रकाशनकी सेयर सदस्य तथा पूर्वकर्मचारी तारा चालिसेले आफूहरूले साझाको भलाइका लागि जागिर छोडे पनि महाप्रबन्धक शर्माले अवकाश प्राप्त कर्मचारीलाई सेवासुविधा नदिई नयाँ कर्मचारी भर्ना गरेर साझामाथि थप भार थपेको आरोप लगाइन्। शर्माले पदको दुरुपयोग गरेर महँगो गाडी खरिद गरेको, कार्यशैलीमाथि प्रश्न उठाउने कर्मचारीलाई सरुवा गराएको र अवकाश लिन बाध्य बनाएको आरोप पनि चालिसेले लगाइन्।

चालिसेले शर्माका गलत गतिविधिलाई मन्त्रीजस्तो गरिमामय पदमा पुगिसकेका प्रदीप नेपाल र दिनानाथ शर्माले मौन समर्थन गरेको भन्दै उनीहरूको समेत आलोचना गरिन्।

कर्मचारीले तलबसुविधा नपाएको अवस्थामा संस्थाका कर्मचारीलाई व्यक्तिगत ढंगले प्रयोग गरेको भन्दै चालिसेले पूर्वमन्त्री शर्माको चर्काे आलोचना गरिन्। त्यसको बचाउ गर्दै महाप्रबन्धक शर्माले पूर्वमन्त्री शर्माको निजी प्रयोगका लागि साझाका कर्मचारी पठाएको सत्य भए पनि त्यो सामान्य विषय भएको बताए। 'यति सानो विषयलाई पनि ठूलो बनाउन खोजियो,' उनले भने। पूर्वमन्त्री शर्माले साझा प्रकाशनका चालकलाई निजी रूपमा प्रयोग गरिरहेका छन्।

महाप्रबन्धक शर्माले साझामा अनियमितता हुनुमा उनीभन्दा अघिल्ला सञ्चालकहरू जिम्मेवार रहेको आरोप लगाए। आफूमाथि उठेका प्रश्नको जबाफ भने शर्माले दिन सकेनन्। पत्रकार सम्मेलन तथा सार्वजनिक सुनुवाइ नाम दिएर आयोजना गरिएको कार्यक्रम शर्माको कार्यशैलीको आलोचनामै सकिएको थियो।

महाप्रबन्धक शर्मामाथि राजनीतिक संरक्षण दिएर साझामा अनियमितता गरिरहेको आरोप लागे पनि सञ्चालक समितिका सदस्यहरू एमाले नेता एवम् पूर्वमन्त्री नेपाल, माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री शर्मा र साहित्यकार बराल केही बोलेनन्।

कार्यक्रममा पूर्वमन्त्री तथा साहित्यकार मोदनाथ प्रश्रितले भने महाप्रबन्धक शर्माको बचाउ गरेका थिए। तर शर्मामाथि लागेका आरोपबारे भने उनले पनि केही बोलेनन्।

निजी पब्लिकेसनबाट १५ हजार पुस्तक बिक्री

साझा प्रकाशनको लोगोमा प्रकाशित कक्षा ११ र १२ को 'सबैको नेपाली' पुस्तक अनियमित रूपमा बिक्री भइरहेको प्रश्न उठिरहेका बेला लगनखेलस्थित अनु बुक्सले उक्त पुस्तक १५ हजार थान बिक्री गरेको छ। उक्त पुस्तक साझाको आफ्नै बिक्री केन्द्रबाट आधिकारिक रूपमा गत मंगलबारसम्म दुई हजार नौ सय मात्र पुस्तक बिक्री भएका छन्। साझाको लागो प्रयोग गरेर अन्यत्रै छपाइ गरी उक्त पुस्तक बजारमा बिक्री भइरहेको विषयमा पत्रकार सम्मेलनमा प्रश्न उठेको थियो। 'सबैको नेपाली' पुस्तक अनियमित रूपमा प्रकाशित भइरहेको भन्दै  साझाका कर्मचारीले शर्माकै नेतृत्वमा तत्काल बजार अनुगमनका लागि आग्रह गरेका थिए। तर शर्माले भने त्यसको कुनै जबाफ दिएनन्। यसअघि पनि कर्माचारीले बजारमा अवैध रूपमा छापिएका पुस्तक बिक्री भइरहेको विषयमा अनुगमनका लागि शर्मासँग आग्रह गर्दा उनले अस्वीकार गरेका थिए।

प्रकाशित: १६ श्रावण २०७४ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App