६ वैशाख २०८१ बिहीबार
समाज

जनता हिँड्ने सडकमा सधैं खाल्डा

काठमाडौं- जोरपाटीकी ज्ञानुमाया कार्कीका दुवै नाति विद्यालयबाट फर्कंदा लुगा र झोला दुवै हिलाम्मे हुन्छ। यति मात्रै होइन, खाल्डा परेको सडकमा गाडी पल्टिएर नातिहरूलाई किच्देला कि भन्ने चिन्तामा हुन्छिन् दिनभर उनी।

'सडकमा ठूलाठूला खाल्डा छन्, ओरालो बाटो भएकाले यहाँ दुर्घटना धेरै हुन्छ', उनले भनिन्। केही समयअघि पनि ओरालोमा गाडी दुर्घटना हुँदा जोरपाटीमा एक जनाको ज्यान गएको थियो। उसो त जोरपाटी ओरालोमा सानातिना दुर्घटना भइरहने स्थानीय बताउँछन्।

'ओरालो सडक छ,' स्थानीय चन्द्र चौलागाईले भने, 'भैंसी पस्ने जत्रा खाल्डा छन्। मोटरसाइकल त दिनहुँजसो दुर्घटना हुन्छन्।' पानी परेका बेला सडकमा ठुलै भल  बग्ने हुँदा बढी दुर्घटना हुने स्थानीय बताउँछन्। यस्तो समस्या जोरपाटीमा मात्रै होइन, चाबहिल, बौद्ध, साँखु, सुन्दरीजलसम्मै छन्।

उसो त असारको अन्तिम साता सडकमा बगेको भलको कारण दुईवटा भयानक दुर्घटना भए। सत्या सापकोटालाई सामाखुसीको सडकमै भलले बगायो।  विनिता फुयाँलको भलले बगाएर ज्यान गयो। यही घटनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका सडकमा रहेका खाल्डा १५ दिनभित्र पुरिसक्न दिर्नेशन दिए।

प्रधानमन्त्री देउवाको निर्देशन आएको आइतबार १५ दिन पुग्यो। यस अवधिमा खाल्डा पुर्ने काम पनि भयो। सबै ठाउँका सडकमा भने खाल्डा पुरिएनन्।

आइतबार नागरिक टोली चाबहिल, बौद्ध, जोरपाटी, गोकर्ण, नारायणटार, दक्षिणढोका, कपनलगायतका ठाउँमा पुग्दा सडकमा बाक्लै खाल्डा देखिन्थेँ। गौशाला, रातोपुल, बत्तीसपुलती, बूढानीलकण्ठ, चक्रपथ, लैनचौर, जमललगायतको ठाउँमा भने खाल्डा पुरिएको पाइयो।

'उपत्यकामा खाल्डा नभएका सडक छैनन्,' चाबहिलमा भेटिएका दलबहादुर थापाले भने, 'तीमध्ये मुख्य ठाउँका मुख्य सडकमा मात्रै खाल्डा पुरिएका छन्।' पुरिएका खाल्डा पनि माटो हालेर झन् जोखिम बनाएको गुनासो थापाले गरे।

कपन क्षेत्रको सडक अघिल्लो वर्षदेखि नै बिग्रिएको हो। कपन प्रवेशका अधिकांश सडक हिँडिसक्नुका छैनन्। प्रधानमन्त्रीको निर्देशन आउँदासमेत ती सडक प्राथमिकतामा परेनन्। चुच्चेपाटी हुँदै महांकाल भएर कपन छिर्ने सडक होस् वा गोपीकृष्ण हुँदै कपन प्रवेश गर्ने सडक आइतबार पनि असारे खेतजस्तै थिए।

चुच्चेपाटीबाट बौद्ध महांकाल जाने सडक बन्द भएको तीन महिनाभन्दा बढी बित्यो तर त्यहाँ अझैसम्म सकड पुनर्निर्माण गरिएको छैन।

'दुई वर्षदेखि सडकको दुरवस्था खेपिरहेका छौं,' कपनकी मनीषा दाहालले भनिन्, 'यस पटक त बन्ला कि भन्ने आस थियो तैपनि बनाइदिएनन्।' धुलो र हिलोले आफ्नो पसलको सामान बिग्रिएर नोक्सान सहनुपरेको दुःखेसो मनीषाको छ।

चाबहिल–जोरपाटीको सडक काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत पर्छ। कपन क्षेत्रको सडक भने आयोजना कार्यान्वयन निर्देशनालय (मेलम्ची उपआयोजना–२) को जिम्मेवारीमा छ।

यी दुवै निकाय प्रधानमन्त्रीको निर्देशनअनुसार खाल्डा पुरिरहेको बताउँछन्। सडकमा खाल्डा नपुरेको स्वीकार्न तयार छैनन्।

विस्तार आयोजनाले बौद्ध पीपलबोटस्थित सडक केही दिनअघि माटो हालेर पुरेको थियो। पानी परेपछि पुरेको सडकमा फेरि खाल्डा परेका छन्।

प्रकाशित: १६ श्रावण २०७४ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App