४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रधानमन्त्रीको निर्देशन अलपत्र, पुरिएनन् खाल्डा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन। सडकका भ्वाङ झन्झ्न जोखिमपूर्ण बन्दै गएका छन्। खाल्डा पुर्ने जिम्मा पाएका सरकारी अधिकारीले आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न त परै जाओस्, अहिलेसम्म गरेको कार्यप्रगति विवरण दिनसमेत अटेरी गरेका छन्।

अहिले उपत्यकाका मुख्य सडकखण्डमा उस्तै जोखिमपूर्ण खाल्डा छन्। बितेका १५ दिनमा कतैकतै खाल्डा पुर्ने काम सुरु भए पनि त्यो 'झारा टार्ने' शैलीको देखिन्छ। प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले सडक विभाग, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी), खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायले मिलेर काम नगर्दा १५ दिनमा सबैतिरका खाल्डा पुरिनसकेको बताए। '१५ दिनमा यति काम हुनुलाई नराम्रो भन्न मिल्दैन,' उनले भने, 'धेरै किसिमका व्यवधानले गर्दा सडकका सबै खाल्डा पुर्न सकिएन।'

उनले खानेपानीका पाइप, ढल र  बिजुुलीका पोलले खाल्डा पुर्ने कार्यमा अवरोध गरेको जानकारी दिए। 'समयसीमाभित्रै तोकिएका सडकखण्डको काम सक्न हामीले जिम्मेवार निकायलाई घचघच्याइरहेका छौं,' घिमिरेले भने, 'तर धेरैजसोले रिपोर्ट पठाएका छैनन्।'

रिपोर्ट नपठाउनेमा सडक विभाग, पिआइडी, केयुकेएल, बागमती सभ्यता, धोबीखोला करिडोर आयोजना, विष्णुमती करिडोर आयोजना, महादेवखोला करिडोर आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत छन्।

यी निकायले कार्य विवरण पठाउन अटेरी गरेका कारण प्रधानमन्त्री कार्यालयले खाल्डा पुर्ने अन्तिम दिन आइतबार कार्य विवरण सार्वजनिक गरेको छैन। विवरण नपठाउने निकायलाई पठाउन समय दिएको प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए। उनले सोमबारसम्म रिपोर्ट नपठाउनेलाई कारबाही गरिने बताए।

'समयसीमा सकिए पनि हामीले यसलाई रोक्नु हुँदैन भनेर निर्देशन दिएका छौं,' उनले भने, 'अझै पनि चाबहिल र गौशाला खण्डमा काम हुन सकेको छैन। यो सडक खण्डमा काम गर्न बारम्बार निर्देशन दिएका छौं।'

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाले करिब ८८ प्रतिशत सडकका खाल्डा पुरिसकेको दाबी गरे। उनले भने, 'सबै निकाय तदारुकताका साथ लागिपरेको भए अझ बढी काम हुन्थ्यो, तर आपसी समन्वय नहुँदा पनि सोचेजस्तो प्रतिफल लिन सकेनौं।'

उनले लाजिम्पाट–लैनचौर, पानीपोखरी, चुच्चेपाटीलगायत ठाउँमा पानी रसाएर कामै गर्न नसकेको बताए। 'अहिले काठमाडौंका सडक जति बनाए पनि सुधि्रन समय लाग्छ, हतारमा काम गर्दा भरपर्दो हुँदैन,' निर्देशक सापकोटाले भने, 'काम गर्दा त सडकको अवस्था यस्तो छ, नगरेको भए यहाँका सडक कस्ता हुन्थे होला?'

उनका अनुसार नयाँ बानेश्वर–पुरानो बानेश्वर, गौशाला–चाबहिल, चुच्चेपाटी–बौद्ध, जोरपाटी–नारायणगोपालचोक, गोल्फुटार–सामाखुसी–बसपार्क, बालाजु–नारायणगोपालचोक, लाजिम्पाट–लैनचौर, सुन्धारा–त्रिपुरेश्वर–टेकुलगायत क्षेत्रका खाल्डा लगभग सकिएको बताए। 'यी ठाउँमा काम गरिसकेका छौं,' सापकोटाले भने, 'तर वर्षात्का कारण अघिल्लो दिन गरेको काम भोलिपल्ट बल्भि्कन्छ।'

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले सबैतिरबाट तथ्यांक आइनसकेकोले ८८ प्रतिशत काम भयो भनेर भन्न सकिने अवस्था नरहेको बताए। 'धेरैजसो निकायले कति काम भयो भनेर रिपोर्ट नै बुझाएका छैनन्, स्थलमा पुग्दा खासै काम भएको पनि देखिँदैन,' उनले भने, 'स्थल र रिपोर्ट दुवै हेरेर सोमबार कार्य विवरण सार्वजनिक हुन्छ।'

पिआइडीका आयोजना निर्देशक तिरेश खत्रीले नसकिएका ठाउँमा निरन्तरका काम गर्ने बताए। 'धेरैजसो ठाउँमा काम सकिएको छ,' उनले भने, 'लैनचौर र पानीपोखरी क्षेत्रमा काम गर्न मुस्किल परेको छ।' उनले उक्त क्षेत्रको खानेपानीको पाइप बनाउने काम केयुकेएलको रहेको बताए।

'खाल्डा पुर्न प्रधानमन्त्रीले १५ दिने म्याद दिनुभएको छ भन्ने त सुनेको थिएँ तर दिनभरि सडककै खटिँदा पनि कतै काम भएको देखेनौं,' आइतबार कलंकी–नागढुंगा सडक खण्डमा खटिएका ट्राफिक प्रहरी हरिबहादुर थापाले भने, 'खाल्डा पुरिएको भए हामीलाई सवारी व्यवस्थापन गर्न यति कठिन हुँदैनथ्यो।' उनले खाल्डा पुर्ने जिम्मा पाएका सरकारी उच्च अधिकारी यस ठाउँमा नपुगेको बताए।

पुर्नुपर्ने सडकखण्ड र नतिजा

साउन १ गते प्रधानमन्त्रीको निर्देशनपछि सुन्धारा–रत्नपार्क, भोटाहिटी–जमल, लैनचौर–नारायणगोपालचोक, थापाथली–माइतीघर, वाँसबारी–नारायणचोक, पुतलीसडक–हात्तीसार, हात्तीसार–बालुवाटार, अनामनगर–कालिकास्थान, चारखाल–ज्ञानेश्वर, नक्साल—भगवतीबहाल, गौशाला–जयवागेश्वरी, चाबहिल–गोपीकृष्ण, तीनकुने–कोटेश्वर, रत्नपार्क–सिनामंगल, हात्तीसार–गौशाला, जयवागेश्वरी–कालोपुल, त्रिपुरेश्वर–कलंकी, लैनचौर–सोह्रखुट्टे, कलंकी–सीतापाइलालगायत २१ स्थानका खाल्डा पुर्न थालिएका निर्देशन दिइएको थियो।

प्रधानमन्त्री देउवाको निर्देशनपछि खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाको नेतृत्वमा काम सुरु भएको थियो।

कामदारको कमी र निर्माण सामग्री अभाव

उपत्यकाका सडकका खाल्डा पुर्ने कामदार कम भएकाले समयसीमाभित्रै काम नसकिए सरकारी उच्च अधिकारीहरू बताउँछन्। प्रधानमन्त्री कार्यालयका अनुसार अहिले सडकका खाल्डा पुर्न एक सय १७ जना कामदार परिचालित छन्। प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भने, 'अहिले सडकमा काम गर्ने इन्जिनियर र कामदार पाउन मुस्किल छ। सबैतिर सडक निर्माणको काम भइरहेकाले कामदार त्यतै परिचालित छन्।' उनले सडक बनाउन प्रयोग हुने अलकत्रा (इमालसन) गिटी, र ढुंगा पाउन कठिन भएको बताए।

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक सापकोटाले यी सामान नपाएका कारण पनि काममा ढिलो भएको बताए।

खानेपानीका पाइप फुट्नु

सडकमा खानेपानीका पाइप फुटेका कारण काममा खाल्डा पुर्ने काममा बाधा परेको छ। खाल्डा पुर्ने जिम्मा पाएका उच्च सरकारी अधिकारीहरु मुख्य बाधाको विषय नै खानेपानीको पाइप रहेको बताउँछन्। 'काम समयमै नसक्नुको एक कारण खानेपानी पाइप पनि हुन्,' स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले भने, 'पाइप नभएका स्थानका खाल्डा लगभग पुरिएका छन्।' उनका अनुसार अहिले बालाजु–नारायण गोपालचोक, लाजिम्पाट–लैनचौर–पानीपोखरी क्षेत्रमा पाइप फुटेर काममा प्रत्यक्ष असर परेको छ। 'खानेपानीका पाइप फुटेकै कारण मुख्य सडकखण्ड सुधि्रन समय लाग्छ,' सचिव घिमिरेले भने, 'लाजिम्पाट, पानीपोखरी, चुच्चेपाटीलगायत ठाउँमा पानी रसाएर सडक मर्मतमा अवरोध पुगेको छ।' उनले पाइप फुटेर अवरोध पुगेका ठाउँमा तुरुन्तै पाइप बनाउन आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) र काठमाडौं उपत्यका खानेपानी निर्देशनालयलाई निर्देशन दिएको जानकारी पनि दिए। 'सकेसम्म मुख्य सडकमा फुटेका खानेपानीका पाइप बनाउँदै आएका छौं,' पिआइडीका आयोजना निर्देशक तिरेश खत्रीले, 'लैनचौर र पानीपोखरी क्षेत्रमा फुटेका खानेपानी पाइप तत्काल बनाउन कठिन छ।' निर्माण कार्य भइरहेका २२ स्थानमा खानेपानीको पाइप फुटेको छ।

प्रकाशित: १६ श्रावण २०७४ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App