coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फिस्टुलाबारे जनचेतना जगाउँदै मनिषा कोइराला

धरान- चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला आइतबार संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष(युएनएपपिए)को सद्भावना दुत बनेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइन्।

प्रतिष्ठानका पदाधिकारीसँगको भेटघाट पछि उनी प्रतिष्ठानको गाइनो वार्डस्थित प्रसव फिस्टुलाका उपचाररत महिलाहरुसँग भेट गर्न पुगिन्। सप्तरीकी ७० बर्षीय कौशिल्यादेवी साह, कपिलबस्तु, भैरहवाकी ३५ बर्षीय कौशिल्य गौडसहित ५ जना महिला उपचाररत छन्। उनीहरुसँग अभिनेत्री कोइरालाले भेटवार्ता गरिन्। दुवैको अप्रेशनमार्फत प्रसुती गराएपछि फिस्टुला भएको थियो। सप्तरीकी कौशिल्याले फिस्टुला भएको ३० बर्षपछि मात्र उपचार पाइन् भने अर्की कौशिल्याले युवा उमेरमा नै फिस्टुलाबाट पीडित हुन् पुगिन्। फिस्टुला पीडित महिलाहरुको व्यथा सुनेपछि अभिनेत्री कोइराला अवाक बनिन्। ‘मैले ७० बर्षकी महिलालाई पनि भेटे, जसले ३० औं बर्षसम्म रोग पालिन्। श्रीमानको मृत्यु भएपछि आफ्नो छोरालाई पनि भन्न सकिनन्, र घरमा बुहारी आएपछि मात्र थाह दिएर उपचार गर्न आइन्,’ पीडितसँगको भेटपछि आयोजित पत्रकार अन्तर्क्रयामा अभिनेत्री कोइरालाले भनिन्,‘मसँग पनि त्यति बोल्न चाहेनन्, यो रोगबारे अझै गाउँघरमा लकाएर बसेका छन्, ती सबै महिलाहरुलाई उपचारमा ल्याउनुपर्छ।’

योनीबाट निरन्तररुपमा पिसाब वा दिसा वा दुवै चुहिने समस्या अब्स्ट्रेटिक(प्रसव) फिस्टुला हो। लामो र कठिन प्रसव व्यथाको अवस्थामा दक्ष स्वास्थ्यकर्मी वा प्रसुतीकर्मीबाट सही समयमा सही सेवा नपाउँदा महिलाहरुमा प्रसव फिस्टुला हुने चिकित्सकहरु बताउँछन्। प्रजनन स्वास्थ्य समस्यासँग सम्बन्धित यो रोगबाट नेपालका ग्रामिण, सीमान्तकृत र गरिब महिलाहरु नरकीय जीवन बिताउन बाध्य छन्। फिस्टुलाको समस्या देखिएपछि गन्हाउने वा दुर्घन्ध फैलिने हुनाले घरपरिवार र समाजदेखि ती पीडित महिलाहरु तिरस्कृत हुन्छन् । उपचार पछि निको हुने रोग भएर पनि महिलाहरु लोकलाजको कारणले रोग लुकाएर बस्छन् । ‘फिस्टुला हुनु मेरो भाग्य नै यस्तो हो, पूर्वजन्मको फल हो भन्ने ठानेर पीडा, समस्या लुकाएर बस्छन्,’अभिनेत्री कोइरालाले भनिन्,‘यस्तो समस्या सबैभन्दा बढी सिमान्तकृत, पीछडिएको महिलाहरुमा छ, जसप्रति हामी कसैले ध्यानै दिएको हुदैनौं।’

अमेरिकामा क्यान्सरजस्तो जटिल रोगको उपचार गराएर फर्किएकी अभिनेत्री कोइरालाले फिस्टुलाको पनि उपचार र रोकथाम सम्भव भएको उल्लेख गर्दै यसको लागि समाजका सबै क्षेत्रबाट अठोटको आवश्यकता रहेको औल्याइन् । ‘फिस्टुला रोकथाम गर्न र रोग निको पार्न सकिन्छ, यही पुस्ताभित्र फिस्टुलालाई अन्त्य गर्ने प्रमिस गरौं । उपचार हुन्छ, रोग नलुकाउ भन्ने सन्देश फैलाउ,’ कोषकी सद्भावना दुत कोइरालाले भनिन् । उनले आफु ग्लामर फिल्मी दुनियाबाट आएको उल्लेख गर्दै अहिले मात्र समाजको वास्तविक पीडा, समस्या बुझने मौका पाइरहेको बताइन् । ‘म ग्लामर फिल्डबाट आएको मान्छे, समाजसँग जोडिएको हुन्न। अहिले सामाजिक काममा आएपछि मात्र समाजको वास्तविक पीडा बुझ्ने मौका पाए,’ उनले भनिन्। अभिनेत्री कोइरालाले नेपालमा २०७२ मा गएको महाभुकम्प पछि महिला तथा किसोरीको क्षेत्रमा काम गर्न चाहेकी थिइन् । त्यसै बेला युएनएफपिएले सद्भावना दुतको प्रस्ताव गरेपछि दुवैबीच सहकार्य सम्भव भयो भने अभिनेत्री कोइरालाले महिला तथा किसोरीहरुको पीडा, समस्यालाई नजिकबाट बुझ्ने मौका पाइन्।

प्रकाशित: १५ श्रावण २०७४ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App