coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संवैधानिक र व्यवस्थापकीय दृष्टिले एकैपटक दुईवटा निर्वाचन गर्न सकिँदैन : यादव

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संवैधानिक र व्यवस्थापकीय दृष्टिले समेत एकैपटक गर्न नसकिने बताएका छन्।
व्यवस्थापिका–संसद् सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उनले दुबै निर्वाचन एकैपटक गर्दा संविधानले परिकल्पना गरेको महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न अप्ठरो पर्नसक्ने जानकारी दिए।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्नुपर्ने अवस्थालाई सबै सरोकारवाला पक्षले हेक्का राख्न जरुरी रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त यादवले नेपाल जस्तो मुलुकका मतदाताले चारवटा मतपत्रको प्रयोग एकै पटक कसरी गर्न सक्दछन् भनी प्रश्न गरे।

मतपत्रलगायत निर्वाचन सामग्रीको उत्पादन, ढुवानी, मतदाता शिक्षा, जनशक्तिको बन्दोबस्ती, मतदाता नामावली संकलन, मतदानस्थलको व्यवस्थापन जस्ता कारण पनि एकै पटक दुईवटा निर्वाचन असम्भव रहेको उनको भनाइ थियो। उनको प्रश्न थियो, 'दुबै निर्वाचन एकै पटक गर्ने हो भने मतपत्र मात्रै सात करोड छपाइ गर्नुपर्छ। त्यो अहिलेको संरचनामा कसरी सम्भव होला?'

उनले मतगणना व्यवस्थापनमा सुधारको खाँचो रहेको बताए। आचारसंहिताको पालनामा राजनीतिक दलबाट थप प्रतिबद्धता आउनुपर्ने उनको भनाई थियो। 'निर्वाचन चिन्ह वितरण गरेपछि मतपत्रको छपाइ गर्नुपर्छ भन्ने कुरा हाम्रो हकमा असम्भवजस्तै हो,' उनले भने।

 

 

प्रकाशित: १५ श्रावण २०७४ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App