६ वैशाख २०८१ बिहीबार
समाज

प्रहरीकै संरक्षणमा गैरकानुनी उत्खनन्

धनगडीमाई (सिरहा)- सिरहाको धनगडीमाई नगरपालिकाको जयपुरमा तीन दिनदेखि गैरकानुनी ग्राभेल उत्खन्न भैरहेको छ। स्थानीय खहरे खोला किनारमै मेसिन (जेसिवी)मार्फत भैरहेको ग्राभेल उत्खन्न गैरकानुनी भएको जानकारी पाउँदासमेत सो क्षेत्रका प्रहरी चुपचाप छ।

असारदेखि भदौ महिनासम्म खोलाजन्य र खानीजन्य पदार्थको उत्खन्न तथा संकलमा रोक छ। जिल्ला समन्वय समिति राजस्व शाखाका प्रमुख महेन्द्र यादवका अनुसार भदौसम्म खोला/खानीबाट उत्खन्न तथा संकलनकार्य पूर्णतः रोक लगाइएको छ। यसको जानकारी जिल्लाभरिका प्रहरीलाई गराइसकेका उनले बताए।

यो वर्षका लागि नयाँ खानीलाई सञ्चालन अनुमती नदिएको समितिले जनाएको छ। अनुमती नलिइ जयपुरमा गैरकानुनी खानी सञ्चालन गरी ग्राभेल उत्खन्न तथा निकासी भैरहेकोले रोकिदिन यो क्षेत्र हेर्ने इलाका प्रहरी कार्यालय धनगडीका इन्चार्ज(सई) उत्तम कार्कीलाई गरेको आग्रह बेवास्ता भएको यादवको गुनासो छ।

गैरकानुनी उत्खन्न रोकिदिन जिल्ला विकास समितिबाट गरेको आग्रह स्वीकार्दै कार्कीले नागरिकन्युजसँग भने, ‘यो मेरो काम होइन, म रोक्न सक्दिन।’ खानीक्षेत्रका एक स्थानीयले भने, ‘प्रहरीको संरक्षण बेगर चारवटा मेसिन (जेसिवी)ले दिनरात्त उत्खन्न गर्नै सक्दैन।’ 

निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई गैरकानुनी उत्खन्नबारे अनविज्ञता प्रकट गरे। उनले भने, ‘अनुमती बिना गरिने काम गैरकानुनी हो, गैरकानुनी कार्य नियन्त्रण गर्नु प्रहरीको कर्तब्य हो। यसबारे जानकारी लिएर कारबाहीका लागि निर्देशन दिन्छु,' उनले भने।

सुखिपुर नगरपालिकाले वर्षको अन्तमा यहाँका सडकमा ग्राभेल हाल्ने सम्झौता गर्यो। योजना सम्पन्न गरिसक्नुपर्ने बेला याजनाको सम्झौता गरिएको स्रोतको भनाई छ। असारमै सम्पन्न गर्नुपर्ने योजना साउनको मध्यसम्म पनि सम्पन्न भएको छैन।

सुखिपुर नगरपालिकाका कार्यकारी अधिकृत टेकप्रसाद भट्टराईको आग्रहमा प्रहरी चुप बसेर अवैध खानी सञ्चालन गर्न दिएको स्रोतको दाबी छ। यो खानीबाट खुखिपुर नगरपालिकाकालागि पाँचसय टिपर ग्राभेल निकासी गर्न दिने आन्तरिक सहमती भएको स्रोतको भनाई छ।

 

प्रकाशित: १५ श्रावण २०७४ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App