coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

नेपालको सिंगापुर सपना

आफ्नो शासनकालमा एक तानाशाहझैँ प्रस्तुत भएर निरन्तर तीन दशक प्रधानमन्त्री बनेका सिंगापुरका पूर्वप्रधानमन्त्री लि क्वान युको मृत्यु भएको दुई वर्ष नाघिसकेको छ । तर, अन्तर्राष्ट्रिय जगत्मा उनको चर्चा सेलाएको छैन ।  

२०४६ मा प्रजातन्त्रको पुनःस्थापनापछि देशको कार्यकारी प्रमुखको पदमा पुग्ने सबैजसो नेताहरूले नेपाललाई सिंगापुर बनाउने मीठो सपना बाँड्दै आए, त्यसले आजपर्यन्त निरन्तरता पाइरहेको छ । त्यही मीठो सपना सँगालेका नेपालीहरूले लगभग तीन दशकको अवधि गुज्रिँदासमेत न देशलाई सिंगापुरतर्फको प्रस्थानविन्दुमै पाए, न त नेताहरूमा लिको जस्तो न्यूनतम विशेषता नै । हुनत आफ्नो शासन कालमा उनी एक तानाशाहकै रूपमा स्थापित थिए । तर एक तानाशाहको हिसाबले नकारात्मक टिप्पणीभन्दा देश र जनताको समृद्धिका लािग जीवन अर्पेको राजनेताका रूपमा उनको पहिचान कायम हुनगयो । यस सवालमा उनका अधिनायकवादी शासनपद्धतिका केही कुरा जेलिएर आए पनि उनले उकासेको सिंगापुरे जनताको जीवनस्तर र सिंगापुरको समृद्धिका अगाडि ती फिक्का बनेको देखिन्छ । 

नेपालमा लिजस्तै दह्रो आत्मबल भएको नेताको जति खाँचो छ, त्यति नै सिंगापुरे जनताले देशप्रति निर्वाह गरेको सभ्य र सुसंस्कृत योगदान पनि भुल्न हुँदैन । 

भौतिक विकास र उन्नतिको चरम रस चाखिरहेका सिंगापुरे जनताका लागि त उनले अवलम्बन गरेको शासनपद्धतिप्रति कुनै गुनासो नरहेको भान हुन्छ भने उनको तानाशाही प्रवृत्तिको विरोध गर्नेहरूले पनि उनलाई ‘उदारवादी’ या ‘विवेकशील’ तानाशाहका रूपमा चित्रित नगरी धर पाएका छैनन् । चानचुने उपलब्धिबाट उनलाई यो सफलता मिलेको भने पक्कै होइन । उनले सम्हाल्दाताकाको सिंगापुर र हालको सिंगापुरमा सामान्यतया कल्पना गरिने भन्दा कयौैैँ गुना बढी समृद्धि देख्न सकिन्छ ।

बेलायती साम्राज्यबाट मुक्त हुँदा सिंगापुरको अवस्था अति नै नाजुक र पिछडिएको थियो । चिनियाँ, मलेसियाली र भारतीय मूलका मानिसहरूको मिश्रित बसोवास रहेको त्यहाँका जनता अभाव, गरिबी, अशिक्षाबाट ग्रस्त थिए । प्राकृतिक स्रोतसाधनको प्रचुरता रहे पनि त्यसको उपयोग हुन सकेको थिएन । यी विविध कारणले समस्यै समस्याको टापुका रूपमा मात्र चिनिएको थियो, त्यति बेला सिंगापुर । छिमेकी देशहरूको हेराइमा पनि सिंगापुर कुनै उपयुक्त भूभाग थिएन, त्यसैले मलेसिया संघमा आबद्ध रहेको सिंगापुरलाई त्यसबाट अलग्याउन मलेसिया आफैँ अग्रसर भएको थियो । यस्तो स्थितिमा लिले शासन सुरु गरेका थिए । पिपुल्स एक्सन पार्टी स्थापना गरेर राजनीति सुरु गरेका लिले सिंगापुरको शासनपद्धतिमा यति प्रभुत्व जमाए कि आधा शताब्दीभन्दा बढी समयको अन्तरालमा उनको पार्टीको एकछत्र प्रभुत्व डगमगाएन । यति लामो अवधिमा उनीसहित जम्मा तीन जना प्रधानमन्त्रीले मात्र शासन गरे । प्रत्येक पटकको चुनावमा अन्य पार्टी वर्जित भएझैँ उनको पार्टीलाई निरन्तर र अभूतपूर्व सफलता मिलिरह्यो । 

राजनीतिक स्वतन्त्रताको अधिकारले विद्रोह निम्त्याउँछ भन्ने बुझाइको प्रधानता थियो, लिभित्र । साथै खोक्रो स्वतन्त्रताले पेट भरिँदैन भन्ने मान्यतामाथिको विश्वासले शासनलाई दर्बिलो ढंगबाट सञ्चालन गर्नुपर्छ भन्नेतिर उनलाई दृढ बनायो । जनतालाई सबै किसिमको आधारभूत आवश्यकताको परिपूर्ति गराएपछि उनीहरू विद्रोहका लागि समय खर्चंदैनन् भन्ने उनको मान्यता थियो । त्यसैले विकास र समृद्धिको योजनालाई सफल बनाउँदै जनताको मन जित्ने प्रक्रियामा उनी तल्लीन रहे । सुरुआतकै बेलादेखि राज्य आफँैले बनाइदिएको घर जनतालाई सस्तोमा किन्ने अवसर प्रदान गर्ने उनको नीति सफलीभूत हुँदै अहिले ९५ प्रतिशतभन्दा बढी सिंगापुरे जनता आफ्नै घरका मालिक छन् । उनले विद्यालय तहदेखि नै शिक्षाको स्तरलाई निकै नै गुणस्तरीय बनाए । अनि अब्बल छानिएका विद्यार्थीहरूलाई सरकारी सेवामा प्रोत्साहित गर्ने योजना बनाए । अन्तर्राष्ट्रिय क्षेत्रसँग प्रतिस्पर्धा गर्ने शिक्षाका साथै सभ्य, शिष्ट र सदाचारजस्ता गुण सिकाउने धार्मिक तथा नैतिक शिक्षालाई पनि अनिवार्य बनाए । यसरी बाल्यकालदेखि नै सामाजिक मूल्य र मान्यतासहितको नैतिक शिक्षाका कारण सिंगापुरे समाज सभ्य र अनुशासनमा पनि उत्तिकै प्रतिबद्ध बन्यो । स्वास्थ्यका क्षेत्रमा पनि जनताले विश्वास गर्ने परिवर्तन थोरै समयको अन्तरालमा सम्भव गराउन उनी सफल भए ।

उच्चकोटिका दक्ष र शिक्षित व्यक्तिहरूलाई सरकारी सेवामा विशेष ग्राह्यता दिएर सरकारी कामकाजलाई प्रभावकारी बनाउने उनको नीतिले पनि निक्कै सफलता पायो । भ्रष्टाचारलाई निर्मुल गर्न सरकारी सेवा सुविधालाई निकै आकर्षक बनाए अनि भ्रष्टाचार गर्नेलाई कडा दण्डको विधिसमेत बसाले । जसका कारण सरकारी काम कारबाही चुस्तदुरुस्त र जनउत्तरदायी सेवाका लागि यति अग्रसर भयो कि सरकारी निकायप्रति जनताको श्रद्धा र विश्वास कहिल्यै गिर्न पाएन । सिंगापुरमा एउटै जाति र सम्प्रदायको बाहुल्य थिएन । त्यसैले जातीय विविधतालाई मनन गरेर अल्पमतमा रहेका जाति र भाषाभाषीलाई बहुमतमा रहेअनुसारकै अवसर प्रत्याभूत गर्न उनी पछि परेनन् । जातीय रूपबाट अल्पसंख्यकमा रहेकाहरूले पनि राज्यको व्यवहारबाट सधँै सम्मानित भएको अनुभूति गर्न पाए र विद्रोहको स्वर उठाउनुपर्ने आवश्यकता नै परेन । लिको शासनकलाका कारण सिंगापुर, जातीय विविधताबीच एकताको भावना बोकेर सधैँ अगाडि बढिरह्यो । आर्थिक रूपबाट देशलाई सबल बनाउन राज्य नियन्त्रित उदार पुँजीवादको नीतिलाई अपनाए । उद्योगधन्दामा विदेशी लगानी र बहुराष्ट्रिय कम्पनी भित्र्याउने उनको कदमले सिंगापुरलाई अन्तराष्ट्रिय व्यापारको उत्कृष्ट गन्तव्य साबित गरायो । विकास र समृद्धिको हिसाबले सिंगापुर जति अगाडि छ, त्यहाँभित्रको सरसफाइ, सभ्यता, व्यवस्थित समाजका लािग पनि उत्तिकै उदाहरणीय मुलुकका रूपमा दरिएको छ ।  

यी सबै राम्रा काम सँगसँगै राज्यका नियम कडाइसाथ पालना गर्ने नाममा उनले धेरै अप्रिय कदम पनि चालेका थिए । आफ्नो शासनसत्तामाथि कतैबाट विद्रोह नहोस् भन्दै उनले विद्रोहीहरूलाई गैरन्यायिक हिरासतमा राखेका थिए । अदालती प्रक्रियामा नगई जबर्जस्ती थुन्ने प्रचलनले हजारौँ निर्दोषहरूसमेत राज्यबाट पीडित बने । लि मुख्यतः कम्युनिस्ट विरोधी थिए, त्यसैले कम्युनिस्टहरूबाट आफ्नो शासन व्यवस्थामा अवरोध हुने भयले कम्युनिस्टलाई तह लगाउन गैरकानुनी रूपमा थुन्ने, भौतिक कारबाही गर्ने लगायतका अधिनायकवादी छविमा पनि प्रस्तुत भए । स्वतन्त्र प्रेसमाथि अंकुस लगाउने अनि धार्मिक समूहलाई कट्टर गतिविधि प्रदर्शन गर्न प्रतिबन्ध लगाउने काम पनि उनले गरेका थिए । खुल्लारूपमा आयोजना हुने सभा, जुलुस, धर्नालगायतका विरोध प्रदर्शन आज पनि वर्जित जस्तै छ । सीमित मानिसहरू मात्र उभिन पुग्ने सरकारले तोकिदिएको ठाउँमा प्रदर्शन गर्नसमेत अनुमति लिनुपर्ने नियम अझै छ । कडाइसाथ अनुशासन कायम गरिएन भने विकास सम्भव छैन भन्ने मान्यताले उनलाई यी सबै आलोच्य कदमसमेत अगाडि बढाउन अग्रसर बनाएको विश्लेषकहरूको टिप्पणी छ ।   

आफ्नो व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय हितलाई सर्वोपरि ठानेर अघि बढेकै कारण उनको अधिनायकवादी कदमले समेत नरम व्याख्या पाउन सकेको हो । यदि देशको उन्नतिका लागि लिले कडा कदम नचालेको भए सिंगापुर आजको अवस्थामा आउने नै थिएन । लगभग सिंगापुरकै जस्तो सामाजिक तथा सांस्कृतिक विविधता अँगालेको नेपाल आन्तरिक उल्झनमै अड्किएर गतिहीन भएको धेरै समय भइसक्यो । यही गतिहीन राजनीतिक अवस्थाका कारण देशको विकास र प्रगति सन्तोषजनक हुन सकेको छैन । नेपालमा लिजस्तै दह्रो आत्मबल भएको नेताको जति खाँचो छ, त्यति नै सिंगापुरे जनताले देशप्रति निर्वाह गरेको सभ्य र सुसंस्कृत योगदान पनि भुल्न हुँदैन । 

प्रकाशित: १५ श्रावण २०७४ ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App