७ वैशाख २०८१ शुक्रबार
समाज

सधैं बाहिर किन्नुपर्दा मर्कामा बिरामी

जिल्ला जनस्वास्थ्य कार्यालय, झापाको स्टोर कक्ष । तस्बिर : राजु अधिकारी

झापा –कनकाई नगरपालिकाको सुरुंगास्थित प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा तीन दिनदेखि  ‘एमोक्सिसिलिन’ नामक एन्टिबायोटिक औषधि सकिएको छ । सरकारले निःशुल्क वितरण गर्ने सूचीको अत्यधिक चल्ने यो औषधि बुधबारदेखि स्वास्थ्य केन्द्रमा छैन । 

बिहीबार केन्द्रमा उपचारका लागि आएका अधिकांश बिरामीको ‘प्रेसक्रिप्सन’ मा यो औषधि लेखिएको थियो । तर, निःशुल्क पाइने औषधि सर्वसाधारणले भने बाहिर किन्नुपर्‍यो । केन्द्रका स्वास्थ्यकर्मीका अनुसार ‘स्टक सकिएका कारण’ सर्वसाधारणलाई औषधि दिन सकिएको छैन । ‘डाक्टरले भित्रै पाइने भनेको दबाई बाहिर किन्नुप¥यो’, स्थानीय जसोधा राजवंशीले भनिन्, ‘यहाँ सधैं यस्तै हुन्छ ।’ केही दिनअघि छोरी बिरामी भएर आउँदा पनि स्वास्थ्य केन्द्रभित्रै पाइने औषधि पनि किन्नुपरेको उनले बताइन् । स्टोरको समेत जिम्मेवारी लिएका स्वास्थ्य सहायक राजु बिष्टका अनुसार ‘माग फारम भरेर जिल्ला पठाएपछि औषधि आउने’ प्रावधान छ । उनले भनेकै प्रक्रियाअनुसार हुने हो भने सुरुंगा स्वास्थ्य केन्द्रमा उपचारका लागि जाने बिरामीले यो औषधि अब कम्तीमा १५ दिन पाउने छैनन् । उनले भने, ‘हामी तत्कालै माग फारम भरेर पठाउँछौं, त्यसपछि जनस्वास्थ्यले पठाउँछ ।’ उनका अनुसार जिल्ला जनस्वास्थ्यमा माग फारम पेस गरेको कम्तीमा १५ दिनमा औषधि आइपुग्छ । 

‘सरकारले निःशुल्क दिने भनेको औषधि देखाउने दाँत मात्रै हो । बिरामीलाई औषधि लेखिदियो, सधैं नपाएको गुनासो गर्छन् । कर्मचारी कहिले स्टक सकिएको, कहिले आइनपुगेको त कहिले टेन्डर प्रक्रियामा रहेको बताउँछन् ।’

स्वास्थ्यकर्मीका अनुसार गर्मी र बर्खाको बेलामा अधिकांशलाई भाइरल संक्रमणले सताउँछ । त्यसबेला अन्य संक्रमणको पनि उच्च जोखिम हुन्छ । बिरामीलाई संक्रमणबाट जोगाउन एमोक्सिसिलिन एन्टिबायोटिक दिइन्छ । उपस्वास्थ्य चौकीदेखि हरेक सरकारी स्वास्थ्य संस्थामा यो औषधि निःशुल्क पाइने व्यवस्था सरकारले गरेको छ । तर, बिरामीलाई चाहिएका बेला भने कहिले ‘स्टक सकिन्छ, कहिले टेन्डर प्रक्रिया जारी’ हुन्छ । यसले हरेक बिरामीलाई निःशुल्क पाइने औषधि पनि किनेरै प्रयोग गर्न बाध्य पार्छ । 

झापामा रहेका ६ वटा प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा दिनहुँ बढीमा सय जनासम्म बिरामी आउँछन् । तीमध्ये अधिकांशले निःशुल्क पाइने औषधि किनेरै खानुपर्ने बाध्यता छ । ‘सरकारले निःशुल्क दिने भनेको औषधि देखाउने दाँत मात्रै हो’, एक सरकारी चिकित्सक भन्छन्, ‘बिरामीलाई औषधि लेखिदियो, सधैं नपाएको मात्रै गुनासो गर्छन् । कर्मचारी कहिले स्टक सकिएको, कहिले आइनपुगेको अनि कहिले टेन्डर प्रक्रियामा रहेको बताउँछन् । यसले बिरामीलाई दिक्क बनाउँछ ।’ 

बिहीबार बिहान ११ बजे काँकडभिट्टामा रहेको स्वास्थ्य केन्द्रमा पेट दुखेर जँचाउन पुगेका हेमन्त शर्मालाई केन्द्रका स्वास्थ्यकर्मीले ‘एन्टासिड’ नामक औषधि लेखिदिए र भने, ‘यो औषधि यहीं पाइन्छ, किन्नु पर्दैन ।’ स्वास्थ्यकर्मीले लेखिदिएको औषधिको सूचीसहितको कागज बोकेर वितरण हुने ठाउँमा पुगेका उनले जबाफ पाए, ‘यो दबाई अहिले सकिएको छ । पछि आउनु ।’ पेटमा ग्यास जमेर उकुसमुकुस भएका बेला तत्कालै राहतको आसमा सरकारी स्वास्थ्य केन्द्र गएका उनले त्यो औषधि बाहिरै किन्नुप¥यो । 

शरीर चिलाउने समस्या लिएर काँकडभिट्टाकै स्वास्थ्य केन्द्रमा गएका डम्बर बरालले पनि त्यस्तै समस्या भोगे । उनको प्रेसक्रिप्सनमा लेखिएको ‘डामाबेन्जिन’ निःशुल्क पाइने सूचीकै औषधि थियो । तर, स्टोरबाट उनले पनि उस्तै जबाफ पाए, ‘छैन, सकिएको छ ।’ ‘यहाँ अधिकांश किसान, चिया मजदुर जँचाउन आउँछन्’, केन्द्रका एक स्वास्थ्यकर्मीले भने, ‘यो सिजनमा उनीहरू धेरैलाई चिलाउने समस्याले सताउँछ । यस्तोमा डामाबेन्जिन अधिक चल्छ । तर, चाहिएको औषधि सधैं अभाव नै हुन्छ ।’ 

जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका अनुसार जिल्ला अस्पतालमा ७० प्रकारका, प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा ५६, स्वास्थ्य केन्द्रमा ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्ने व्यवस्था छ । तर, झापाका अधिकांश स्वास्थ्य संस्थाको स्टोर हेर्ने हो भने कुनैमा पनि तीमध्ये ५० प्रतिशत पनि औषधि पाइन्न । ‘५० प्रतिशत औषधि हुनु भनेको त धेरै भइगयो नि’, सुरुंगाकै स्वास्थ्यकर्मी इन्द्रहरि भट्टराईले भने, ‘औषधिको उपलब्धता अवस्था दयनीय छ । बिरामीलाई अधिकांश समय ढाँटेजस्तो हुन्छ ।’ त्यसो त उपलब्ध औषधि पनि पर्याप्त नहुने उनको भनाइ छ । 

स्वास्थ्यकर्मीका अनुसार पारासिटामोल ट्याब्लेट सबैभन्दा धेरै वितरण हुने र आवश्यक पर्ने औषधि हो । तर, यसको पनि आपूर्ति आधाभन्दा धेरै कम्ती छ । ‘हामीले एकपटकमा माग फारम पठाउँदा ५ हजार थान माग गरेका हुन्छौं’, कनकाईका स्वास्थ्यकर्मी राजु बिष्टले भने, ‘तर, जनस्वास्थ्यले बढीमा एक हजार मात्रै पठाइदिन्छ । त्यसैले सधैं टुमटुम हुन्छ ।’ 

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाका अनुसार झापामा जम्मा ५० वटा स्वास्थ्य संस्स्था छन्, जहाँबाट निःशुल्क औषधि वितरण हुन्छ । ती सबैमा औषधि आपूर्ति तीन तहबाट हुँदै आएको छ । ‘जिल्ला, क्षेत्र र केन्द्रबाट ती स्वास्थ्य संस्थामा औषधि पठाउने  गरिएको हुन्छ’, उनले भने, ‘त्यसैले कुनैकुनै बेला तालमेल नमिलेर कुनै औषधि सकिएको हुनसक्छ ।’ उनले ‘कुनैकुनै बेला कुनै औषधि’ भने पनि सरकारी स्वास्थ्य केन्द्रमा भने वर्षभरिजसो धैरै औषधि पाइँदैन । बिरामीले बाहिरै किन्नुपर्ने हुन्छ । 

यो समस्या यसपटकको मात्रै होइन । गत वर्ष पनि ६ महिनासम्म  झापाका सरकारी अस्पतालमा निःशुल्क दिने भनिएका धेरै औषधि थिएनन् ।  झापामा ६ वटा प्राथमिक स्वास्थ्य सेवा केन्द्र, ४३ वटा स्वास्थ्य केन्द्र, एउटा अञ्चल अस्पताल, ५ वटा सामुदायिक स्वास्थ्य एकाइ र १५ वटा सहरी स्वास्थ्य केन्द्रसहित ७० वटा स्वास्थ्य केन्द्र छन् । अञ्चल अस्पताल र अन्य केही अस्पताल आफ्नो मातहत नहुने भएकाले तीबारे थाहा नहुने जनस्वास्थ्य कार्यालयको भनाइ छ । 

सरकारले जेन्टामाइसिन, अक्सिटोसिन, डेक्सामेथासोन, एट्रोपिनलगायत इन्जेक्सन, एन्टिबायोटिकमा सिप्रोफोक्सासिन मलम, ड्रप, ट्याब्लेट, एमोक्सिसिलिन क्याप्सुल, ट्याब्लेट, भिटामिन बी कम्प्लेक्स ट्याब्लेट,  पारासिटामोल झोल र  ट्याब्लेट, इन्जेक्सन, जुकाका लागि चाहिने अलबेन्डाजोल ट्याब्लेट, झाडापखालाका लागि चाहिने मेन्ट्रोनिडाजोल ट्याब्लेट, जीवनजललगायत औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरेको छ । यसबाहेक कुष्ठरोग, क्षयरोग, औलोजस्ता रोगको औषधि पनि निःशुल्क छ । कुष्ठरोग, क्षयरोग, औलोका औषधि पर्याप्त रहे पनि दैनिक अधिक खपत हुने खालका औषधिको स्टक भने सधैंजसो सकिएकै हुन्छ । त्यसैले स्वास्थ्यकर्मी नै भन्छन्, ‘निःशुल्क औषधि देखाउने दाँत मात्रै भयो।’ 

 

प्रकाशित: १५ श्रावण २०७४ ०२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App