६ वैशाख २०८१ बिहीबार
समाज

पत्नी फिर्ता माग्दै पाँच दिनदेखि ससुरालीमा अनशन

कोहलपुर- अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिँसा र सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएर पत्निलाई छुटाएको भन्दै एक युवा ससुरालीमा अनशन बसेका छन्। बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनसनमा बसेका हुन्। पाँच दिनदेखि पानीमात्र पिएर ससुरालीको घरछेउको खेतमा अनशनमा बसेका उनको शारिरीक अवस्था समेत नाजुक बन्दै गएको छ। सासुससुराले पत्नि रन्ता दर्लामीलाई लुकाएको र आफूविरुद्ध मुद्दा दर्ता गराएर फसाएको उनको आरोप छ।

दैलेख नारायण नगरपालिका ६ घर भएका उनले २०७३ असोजमा अन्तरजातीय विवाह गरेका थिए।उनले आफूमाथि अन्याय भएको भन्दै ससुरालीमा साउन ८ गतेदेखि अनसन बसेका हुन्। पत्निलाई भड्काएर आफूबाट टाढा बनाएको र आफूलाई झुटो मुद्दा लगाएर फसाउन खोजेको उनले बताए। ‘हामी दुई एकअर्कोमा छुट्न चाहँदैनौ,’ उनले भने, ‘सासुसुराले माईतीघरबाट संगै दैलेख पठाउने बहानामा बीच बाटोबाट भगाए।’ सार्कीको ससुराली बैजनाथ ३ नौवस्ता मसुरीखेत बाँकेमा रहेको छ। पत्नि रत्नाको लागि आफू भोकभोकै मर्न तयार रहेको उनले बताए। सासुसुराले पत्नि रत्नालाई आफूसामू नल्याउँदासम्म अनसन जारी रहने र मर्न परेपनि ससुराली घरमै मर्ने उनी बताउँछन् । ससुराली नजिक रहेको खेतको डिलमा उनी पाँच दिनदेखि भोकभोकै रातदिन कटाई रहेका छन् । पानीको सहारामा उनी बाचिरहेका छन्। पत्निलाई उक्साए र दवाव दिएर अन्तै भगाएको र आफूविरुद्ध उल्टो मुद्धा चलाउन लगाएको उनको आरोप छ । उनले ससुरालीमा पत्नि रत्नालाई जसरी पनि आफू  अगाडी ल्याउनुपर्ने अडानमा छन् ।

रत्नाका बुवा ससीराम दर्लामीले छोरीलाई देलेखबाट नौवस्तामा ल्याउन आफन्त पठाएको र दुई दिमा आउने बताए। आफू केटाकेटीको घरबार विगार्ने पक्षमा नरहेको बताउँदै छोरीलाई ल्याएर केटाको अगाडी छलफल गर्ने भने। ‘छोरी आएपछि केटासंग बस्ने नबस्ने उसको हातको कुरा हो,’ उनले भने, ‘केटीले चाहे भनि हामी पनि राजी छौ ।’ ससीरामले आफूले छोरी नउक्साएको तर केटाको बानी व्यहारले मुद्दा दर्ताको अवस्था आएको दावी गरे।

आफू दलित भएकै कारण घरेलु हिँसा र सम्बन्ध विच्छेद मुद्दा हालेर अलग बनाउन चाहेको उनको आरोप छ। स्थानीय र आफन्त पीडित सार्कीलाई अनशन तोड्न आग्रह गरेपनि उनले पत्नि आफू सामु नआउँदासम्म र मुद्दा छिनोफानो नहुँदासम्म अनशन जारी राख्ने पक्षमा छन्।

 

प्रकाशित: १४ श्रावण २०७४ १४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App