coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ढुंगानालाई अन्तर्राष्ट्रिय अनलाइन पुरस्कार प्रदान

फ्रेंकफर्ट (जर्मनी)—एक दशकदेखि डिजिटल पत्रकारितामा सक्रिय कृष्ण ढुंगानालाई वेलायतमा स्थापना गरिएको सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार—२०१७ प्रदान गरिएको छ। जर्मनीको दक्षिणी सहर फ्रेंकफर्टमा शुक्रबार अयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेले सो पुरस्कार ढुंगानालाई हस्तान्तरण गरेका छन्। पुरस्कारको राशि ५ सय डलर रहेको छ।

अनलाइन पत्रकारिताका आयामबारे विश्वव्यापी रुपमै बहस भइरहेको भन्दै प्रमुख अतिथि लामिछानेले नेपालमा पनि यसको सान्दर्भिकता रहेको उल्लेख गरे। कुनै बेला बिहान ७ र बेलुका ७ बजे रेडियो नेपालको समाचारमा निर्भर पुस्ता अहिले तत्क्षण सूचित हुने अवस्थामा आइपुग्नुमा अनलाइन पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले विश्वसनीय, आधिकारिक विषयमा अनलाइनहरु गम्भीर हुन आवश्यक रहेको अौंल्याए। ‘जथाभावी लेखेर व्यक्तिको चरित्र हत्या गर्ने कार्यमा अनलाइन सजिलो माध्यम बनेको छ। यो भिडमा विश्वसनीय अनलाइन पत्रकारिता गर्दै आएका व्यक्ति सम्मानित हुँदा त्यसले अरुलाई पनि प्रेरणा मिल्नेछ।'

कार्यक्रममा बोल्दै सीतादेवी ढकाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका संस्थापक सचिव चिरन्जिवी ढकालले अनलाइनमा काम गर्ने सञ्चारकर्मी साथीहरुलाई हौसला मिलोस भनेर पुरस्कार स्थापना गरेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार ढुंगानाले अनलाइन मिडिया कुनै बेला प्रवासका लागि मात्र ठानिने गरेकोमा अब समाचारलाई आमसमुदाय समक्ष पुर्याउन निर्विकल्प माध्यम बनेको उल्लेख गरे। नेपालका परम्परागत मिडियाको डिजिटलाइजेशन आवश्यक भइसकेको भन्दै अबको नेपाली पत्रकारिताको मूलधार अनलाइन भएको दाबी गरे। ‘पैसा आर्जनका दृष्टिले अनलाइन पत्रकारिता छापा वा इलेक्ट्रोनिक्स मिडिया जति सशक्त नहोला तर समाचार सामग्री ठूलो जमात्मा पुर्‍याउन अब यसको विकल्प छैन’, उनले भने।

बीबीसी नेपाली सेवाका पत्रकार भगिरथ योगी संयोजक रहेको टोलीले २०७३ चैतमा आवदेकहरुमध्येबाट ढुंगानालाई पुरस्कार दिने निर्णय गरेको थियो। युनिकोडबाट नेपाली भाषाको पहिलो व्यवसायीक अनलाइन परेवा डट कमका सहसंस्थापक मध्येका एक उनी हाल नागरिकन्युज डट कमका समाचार संयोजक छन्।

प्रकाशित: १४ श्रावण २०७४ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App