७ वैशाख २०८१ शुक्रबार
अन्य

साहित्य र राजनीति

डा. मधुसूदन गिरी

समाजको भौतिकवादी व्याख्या गर्नेहरू समाजको संरचनालाई पदार्थको अन्तर्संरचना सापेक्ष व्याख्या गर्छन्। इलेक्ट्रोन, प्रोट्रोन र न्युट्रोन तŒव मिलेर बनेको अणुको उक्त संरचनामध्ये इलेक्ट्रोन र प्रोट्रोनले क्रिया र प्रतिक्रिया गर्छन्, जसबाट ऊर्जा प्राप्त हुन्छ, बल प्राप्त हुन्छ र त्यसले गति प्रदान गर्छ। गतिले परिवर्तन ल्याउँछ। समाजको संरचनामा पनि त्यस्तै क्रिया र प्रतिक्रिया गर्ने दुइटा वर्ग हुन्छन्, जसको क्रिया र प्रतिक्रियाबाट ऊर्जा प्राप्त हुन्छ। त्यसबाट बल प्राप्त हुन्छ र बलले गति एवं गतिले परिवर्तन ल्याउँछ। भनिन्छ, तेस्रो तत्व न्युट्रोनले पदार्थ हुन आवश्यक पर्ने तौल प्रदान गर्छ। त्यस्तै समाजमा पनि एउटा त्यस्तो समूह हुन्छ, जो क्रिया र प्रतिक्रियामा सहभागी नहुनाले परिवर्तनमा उसको भूमिका रहँदैन, तर त्यो तŒव कुनै दार्शनिक, वैज्ञानिक, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल आदि कुनै भएर समाजको तौल बढाउने काम गरिरहेको हुन्छ। त्यसैले समाजको पूर्ण अस्तित्वका निमित्त तिनै तŒव अपरिहार्य हुन्छन्।

यसरी हेर्दा कला, साहित्य राजनीति निरपेक्ष हुनुपर्छ भन्ने चिन्तन मूलतः त्यही तेस्रो न्युट्रोन तŒव अर्थात् कला कलाका लागि भन्ने कलावादी चिन्तन देखिन्छ, जब यो समाज निरपेक्ष न्युट्रोन तŒवका अतिरिक्त क्रिया र प्रतिक्रियामध्ये आस्थाबद्ध कुनै धारले राजनीति निरपेक्षताको कुरा गर्छ, त्यसमा झन् ठूलो यथास्थितिवादी, एकांगी चिन्तन लुकेको देखिन्छ।

यद्यपि आज समाजको त्यो व्याख्याकालीन संरचना परिवर्तित भइसक्यो भन्नेजस्ता अनेक नयाँनयाँ व्याख्या, विमर्श र संशोधनका मत अघि आएका छन्। आजको त्यो न्युट्रोन तŒवलाई न्युट्रोन होइन, मध्यम वर्ग आएको त होइन? जहाँ गएर वर्ग संघर्षरूपी रथको पाङ्ग्रो अड्केको छ। त्यसै वर्गलाई आधारभूमि बनाएर अगाडि बढ्नेहरूकै वर्चस्व हामीकहाँ पनि उत्तरोत्तर अस्तित्ववान् भएको अनुभव हुँदै गएको छ।

भौतिकवादी सिद्धान्तकै कुरा गर्दा क्रिया र प्रतिक्रियाका प्रस्तुत दुई धु्रवले आफ्नो प्रस्तुत क्रिया संगठित रूपमा गर्छन् (आज तेस्रो लिंगी वर्गले समेत)। ती वर्ग र समूहका त्यस्ता संगठन हिजो बेग्लै प्रकृतिका थिए, आज राजनीतिक दलका रूपमा समूहबद्ध छन्, जसले आ–आफ्नो लक्षित वर्गको हितको पक्षधरताको वकालत गर्छन्। ती दल नै पक्ष र प्रतिपक्ष भएर क्रिया र प्रतिक्रिया गर्छन्। यस क्रममा कुनै पनि राज्यको शासन सत्तामा पुगेको कुनै पनि दलले आफ्ना आस्था र विचारबमोजिम सामाजिक, सांस्कृतिक नीति, सिद्धान्त र कार्यक्रम बनाउँछ, बनाएको हुन्छ। तिनै नीति, सिद्धान्त र कार्यक्रमलाई पूरै राज्यमा र अझ आजको विश्वमा कैयौँ शक्तिशाली, साम्राज्यवादी शक्तिराष्ट्र र त्यसका त्यस्ता सरकार वा संगठनले त विश्वभर नै प्रचार–प्रसार गरी लागू गर्ने प्रयत्न गर्छन्।

यसकारण यस्ता संगठन, दल र सरकारलाई बन्दुक बोक्ने सशस्त्र सामरिक सेना भएर मात्र पुग्दैन, यसको सैद्धान्तिक आस्थाको धारलाई उधाएर विचारको बाली लगाउन सामाजिक–सांस्कृतिक नीति–सिद्धान्त र आस्थाले अभिषिक्त कलमवीर सांस्कृतिक सेना पनि आवश्यक पर्छ। अर्को शब्दमा संस्कृति र साहित्यद्वारा मानवीय भावना र संवेदनामा हलचल पैदा गरेर संस्कार नै निर्माण गर्दा उक्त कर्म विशेष संवेदनात्मक एवं प्रभावोत्पादक र दीर्घजीवी हुने हुँदा यसको आवश्यकता पर्छ। कुनै अर्को विपरीत धु्रव विचारयुक्त दलको त्यस्तो सेनाले त्यस दलका सामाजिक, सांस्कृतिक नीति–सिद्धान्त र कार्यक्रमलाई अगाडि बढाइदिँदैन। यसै कारण त्यस्ता निकायमा आस्थाभिषिक्त सांस्कृतिक सेनाको आवश्यकता पर्ने हो।

यसरी हेर्दा कला, साहित्य राजनीति निरपेक्ष हुनुपर्छ भन्ने चिन्तन मूलतः त्यही तेस्रो न्युट्रोन तŒव अर्थात् कला कलाका लागि भन्ने कलावादी चिन्तन देखिन्छ, जब यो समाज निरपेक्ष न्युट्रोन तŒवका अतिरिक्त क्रिया र प्रतिक्रियामध्ये आस्थाबद्ध कुनै धारले राजनीति निरपेक्षताको कुरा गर्छ, त्यसमा झन् ठूलो यथास्थितिवादी वा पुरातनवादी एकांगी, एकतन्त्री चिन्तन लुकेको देखिन्छ। अर्को शब्दमा कला, साहित्यमा राजनीति आउनुहुन्न भन्नु नै अर्को प्रकारको राजनीति हो। आफ्नो आस्थाबमोजिम चलिरहेका कला, साहित्यको परम्परालाई यथावत राख्न र नयाँ अर्थात् भिन्न चिन्तनयुक्त कला, साहित्यलाई आउन नदिनु हो। सनातनमा चलिरहेको उच्चकुलीन, क्षेत्रीय राजा वा राजकुमार अर्थात् धीरोदात्त नायक चयन गरेर उसैलाई आस्था बनाउनुपर्ने चिन्तन हो, अथवा अरूका विचार वा पक्षहरूलाई राजनीति गर्नुहुन्न भनेर आफ्नो पक्षले सदियौँदेखि गर्दै आएको पक्ष वा वर्गका पक्षको राजनीतिलाई अक्षुण्ण राख्नु हो। सर्वसाधारण गरिब, निमुखा, निर्धन जनतालाई नायक बनाएर तिनका दुःख, पीडा, व्यथा र समस्या तथा कल्याणलाई विषय बनाउनलाई कला, साहित्यको चीरहरणको उपमा दिएर पूर्वीय सामन्ती मायावाद र अवतारवादी तथा पाश्चात्य साम्राज्यवादी सांस्कृतिक तर्कका रूपमा लोकप्रिय उत्तरआधुनिकताको लीलावादी रूपको अर्थविहीन, केन्द्रविहीन, सत्यविहीन अराजक बित्थामा बित्था लेखन के राजनीति होइन? यसबाट सिद्ध हुन्छ कि राजनीति गर्नु हुँदैन भन्नु स्वयं एउटा ठूलो राजनीति हो।

त्यसो त कतिपय व्यक्तिद्वारा कला, साहित्यको राजनीति निरपेक्षताको चिन्तन प्रस्तुत गर्नुका पछाडि राजनीतिका नाममा हुने अनेक प्रकारका विकृति विसंगतिप्रतिको असन्तुष्टि पनि कारक हुन सक्छ। त्यस्ता विकृति विसंगतिमध्ये एउटा प्रमुख कारण हो, हुक्के सुब्बा प्रवृत्तिप्रतिको वितृष्णा।

हुक्के सुब्बा हास्यव्यंग्यकार भैरव अर्यालद्वारा लिखित महापुरुषको संगत नामक व्यंग्य निबन्धको एउटा पात्र हो। उमेरले साठीको डाँडो काटेपछि बाबुको अर्ति पालना गर्दै संगतका निमित्त महापुरुष खोज्दै जाने क्रममा फेला परेका अन्तिम महापुरुष हुन्, हुक्के सुब्बा। सिंहदरबारको कुनै अड्डामा उनी म पात्रलाई फेला पर्दछन्। उनी अर्थात् हुक्के सुब्बा, भुपिको घुम्ने कुर्सीको अन्धो मान्छेकै अर्को रूप हुन्। उनी 'मन्त्री हुने मान्छे जागिर परिरहेछ चानचुन, काम गर्ने जाँगरै लाग्दैन' भन्छन् र टेबुलमा खुट्टा राखेर कुर्सीमा निदाउँछन्। कुनै सेवाग्राहीले आफ्नो कामको सिलसिलामा गाउँबाट काउली ल्याइदियो भने 'काउली–साउली भए दुई मुठी जाउली जान्छ नत्र...' पनि भन्दछन्। उनले त्यो सुब्बाङ्गी उहिले कुनै चाहिँ राणाजीको हुक्का मलेबापत बक्सिस पाएका हुन्छन्।

उहिले जहाँनियाँ राणा थिए, आज पनि थुप्रै गणतान्त्रिक राणा छन्। आज पनि थुप्रै विचार र विचारयुक्त दलका महापुरुष ती राणाजीका हुक्का मल्न लागिपरेका देखिन्छन्। साधारण खालका संघ–संस्थामा मात्र होइन, जबजब कुनै उच्च शैक्षिक, बौद्धिक वा प्राज्ञिक संस्थामा कार्यरत पुराना हुक्के सुब्बाको पदावधि सकिन थाल्छ, अनि त्यस स्थानको सुब्बाङ्गी बक्सिस पाउन हुक्का मल्नेको ताँती लाग्छ, उहिलेका श्री ३ राणाजीहरूका खोपीमा चाकरीमा लाइन लागेजस्तो (अहिलेका यी श्रीविहीन गणतान्त्रिक राणाजीहरूका खोपीमा)।

त्यसो त आज पनि कतिपय नजन्मदैका जर्नेल राणाजीहरूका आफ्नै भाइभतिजा र सालासालीहरू पनि हुन्छन्, लाइनमै लाग्नुनपर्ने। कतिपयलाई राणाजीहरूकोमा हुक्का मल्न जाने योग्यता र सूत्र चाहिन्छ। त्यसका लागि महापुरूषहरूलाई राणाजीहरूका दलका सम्बन्धित भ्रातृ संगठनमा आँखाका दुईतिर पट्टीले बाँाधिएका टाँगन घोडा भएर वर्षौं लाइन लाग्नुपर्छ, टाँगा तान्नुपर्छ। यसैमा पनि छिट्की हालेर अगाडिकालाई लडाएरै भए पनि लिगलिगे दौड जित्न सक्नुपर्छ। आफूले छिट्की हाल्न सके अगाडि बढ्यो नत्र अर्कैले लडाइदिन्छ। त्यसरी छिट्की हालेर आफ्नै पक्षको नीति, सिद्धान्त र कार्यक्रमको 'क' पनि नबुझेको त्यस्तो राणाजी अर्थात् जंगबहादुर अथवा दृष्टिविहीन धृतराष्ट्र नेताको स्वेच्छाचारी निर्णयले कुनै हुक्के सुब्बाको पाँडेपँजनी हुन्छ, अनि त्यस्तो प्रवृत्तिप्रति असहमति जनाउँदै राजनीति निरपेक्षताकै वकालत गर्दछन्। कति त उपयुक्त इलेक्ट्रोन र प्रोट्रोनले एकअर्कालाई गरेजस्तै तर्कहीन, दृष्टिहीन निकृृष्ट स्तरमा झरेर गालीगलौजमा उत्रन्छन्, मानव सभ्यता र प्रकृतिको नियमै नबुझेका दृष्टिविहीन धृतराष्ट्र बनेर।

कला, साहित्य र संस्कृतिको राजनीति त अझ बढी प्रभावोत्पादक र दीर्घजीवी हुन्छ। त्यो हड्डी भित्रभित्र मासीसम्म र रगतका कोसकोसमा गढेको हुन्छ। त्यो स्थानीय, राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय पनि हुन्छ। त्यो सामाजिक मात्र होइन, सार्वकालिक, सार्वजनीन र सार्वभौम पनि हुन्छ। त्यसैले त आज हाम्रा बालबच्चाको मनोरञ्जनका नाममा प्रसारित हुने मोमेन, टोमेन्जरी, डोरेमन आदि टेलिशृंखलाबाट तिनको समय र कलिलो दिमाग चाटेर अन्य चेतनामूलक त टाढा दैनन्दिनका पठनपाठनबाट समेत विमुख तुल्याई हाम्रो भावी पिँढीलाई बोधो बनाउने रणनीति जारी छ।

त्यसो त त्यति मात्र होइन, आजको यो उपभोक्तावादी बजारले कला, साहित्य, संस्कृति आदि कुरालाई पनि धन कमाउने वस्तुमै परिणत गरिदिएको छ। त्यसैले यस बजारले आफ्नो वस्तुलाई लेखन, सम्पादन र प्रकाशनदेखि विज्ञापनसम्मका सस्ता क्रिम, पाउडर र लिपिस्टिक लगाएर कोठीमा सजाइदिएको हुन्छ। त्यसो त त्यो कोठी बजारले मात्र होइन, आजको राजनीतिक बजारका अनेक दलबलले पनि आ–आफ्ना दल र विचारका अलग–अलग पसलजस्तै खोलेर आ–आफ्नै वस्तुलाई विज्ञापन र पदका त्यस्तै सस्ता क्रिम, पाउडर र लिपिस्टिक लगाएर धमाधम बिक्री गरिरहेका देखिन्छन्। यसबाट उपयुक्तानुसारको क्रिया प्रतिक्रियाका पक्षधरीय अभीष्ट साध्यबाट हुने विचलनको खतरा देखिन्छ। यसरी विचारहीन, आस्थाहीन धारबाहेक आस्थाभिषिक्त आस्थाको कुनै धारबाट कला, साहित्यको राजनीति निरपेक्षताको फलाको हाल्नु आस्था वा विचारको सनातन परम्परालाई अक्षुण्ण राख्नु र सोहीअनुसारका वस्तुको एकलौटी एकाधिकार बजार विस्तार गरेर व्यापार गर्नु मात्र न हो?

प्रकाशित: १४ श्रावण २०७४ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App