coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

कथा : डम्फु र चौधरी

मधुर झरीको आवाज बलेनी हुँदै मेरो कानसम्म ठोक्किइरहेको थियो। उज्यालोको संकेत म सुतेको कोठाको ढोका र झ्यालका छिद्रबाट छिरेको थियो। म भने घरको पूर्वउत्तरी कोठाको झ्यालछेउ खाटमा लम्पसार भएर दिउँसोको सारा योजना चौपट भएकामा दुःखी भइरहेकी थिएँ। सातादिन देखिको योजना थियो, यो शनिबार मदन गौचनको बगैँचामा आँप टिप्ने। त्यसपछि तलको कर्रा खोलामा पौडी खेल्न जाने। मौका मिले माछा मार्ने, नमिले स्कुलको छानोमा चढेर डेन सरको झ्याल चियाउने। डेन सरले भर्खरै कुनै केटी भगाएर ल्याएको हल्ला जो थियो। तर सबेरैदेखि परेको पानीले सबै योजना खत्तम पारेकामा त्यो शनिबारलाई मनमनै सराप्दै म ओछ्यानमै पल्टिरहेँ निकै अबेरसम्म।

'ओई आझै उठेन यो काली ध्वाँसी?' के साह्रो अल्छी भाको हो? ओ कालीको आपा, हेर हेर तिम्रो छोरी किन उठेना होई?'

आमाको तिख्खर आवाज तल भान्साघरबाट भर्‍याङ, चोटा, कोठा हुँदै म भएसम्म आइपुग्यो। मेरो गहुँगोरो रङमाथिको प्रेम थियो वा व्यंग्य थियो, आमाको त्यो काली ध्वाँसी शब्द? म झन् दिक्क भएँ। त्यसपछि मैले पातलो दोलाई सरक्क छातीदेखि तानेर टाउको सम्मै छोपेँ। एकछिनमा आपाको हात मेरो कोठाको ढोकामै बजि्रयो। आपाको त पदचाप सुनेरै म डराउँथेँ। खै कस्तो डर थियो, आपा बोल्नु हुँदा हल्लिरहने उहाँको मसिनो जुँग्ाा देखेरै पनि म भित्रभित्रै हल्लिन्थेँ। मेरो आपा पेङदोर्जे डम्फु बजाउँदाबाहेक अरु अवस्थामा किन कठोर देखिएको?

'ओ काली क्याना नाउठेको?'

दोलाई फालेर म जुरुक्क उठेँ। हत्तपत्त ढोका उघारेँ अनि आपा र ढोकाको चेपबाट फुत्त निस्किएर बेपत्ता भर्‍याङ ओर्लिएँ। दुई खुड्किला बाँकी थियो, भुइँतला छुन। कसो–कसो खुट्टा बटारियो। खुट्टाको तालमेल नमिल्दा टाउको गएर सीधै मूल ढोकामा बजि्रयो। एकछिन् त सन्न भएँ। आँखा चिम्लिएर मैले टाउको छामेँ। टाउको चिसो थियो। त्यति नै खेर मैले अनुभव गरेँ, एक जोर हातको स्पर्श, त्यो तातो थियो।

'अरे भाभी, सबिना लडगयल।'

तातो हातवाला चिच्यायो, मैले आँखा उघारेँ। त्यसरी अत्तालिएर चिच्याउने गंगाराम चौधरी थियो। भर्खर दाह्री जुँगा खौरिएर चिल्याइएको अनुहार देखेर मलाई बेपत्ता हाँसो उठ्नुपर्ने थियो। कस्तो उरन्ठेउलो देखिएको थियो ऊ। तर टाउको ठोक्किएको झोँकमा परिगयो गंगाराम, 'छोड मधिसे' भनिदिएँ। यसोभन्दा गंगारामको अनुहारको रङ कस्तो देखियो, त्यो मैले याद गरिनँ।

०००

गंगाराम चौधरी, वर्ष २१ को लक्का जवान। औद्योगिक क्षेत्रभित्रको साबुन फ्याक्ट्रीमा काम गर्थ्यो। हाम्रो घरको भुइँतलामा डेरा लिएको जम्माजम्मी सात महिना भएको थियो। एक्लै बस्थ्यो। स्टोभमा खाना बनाउँथ्यो। त्यसैले उसले एउटा मात्र कोठा लिएको थियो। उसको शरीरको रङ मेरोभन्दा गाढा थियो, निख्खर कालो। एकाघरमै भएकाले उसको र मेरो जम्काभेट भइरहन्थ्यो। तर मलाई उसको रङसँग समस्या थियो वा ऊ देहातको भएर हो मित्रता गर्न मन पटक्कै भएन। मलाई चौधरी नेपाली नै होइन, इन्डियन हो भन्ने लाग्थ्यो। उसको झ्याप्प परेको दाह्रीजुँगा देख्दै झ्याउ लाग्थ्यो। ऊ ओठमा गुलाब फुलाउँथ्यो, म नीलकमल फुलाउँथेँ। ऊ मलाई 'काली' भन्थ्यो, म उसलाई 'मधिसे धोती, भैँसी चढ्नेको जात' भनेर उल्लीबिल्ली लाउँथेँ। ऊसँग एउटा बूढो साइकल थियो। त्यसैमा चढेर ऊ ड्युटी जान्थ्यो र राति अबेर मात्र डेरामा फर्किन्थ्यो। सायद ओभरटाइम पनि गर्थ्यो।

गंगाराम चौधरीको आवाज सुनेर आमा दौड्दै आइपुग्नुभो। रहरलाग्दो गरी टाउको छाम्नुभो। धन्न टुटुल्का मात्र उठेछ। चौधरीकै आड लिएर म उठेँ, तुरुन्तै उसको हात झट्कालेर इनारतिर हान्निएँ।

तीखो घाम टाँगिएको थियो आकाशमा। हेटौँडामा गर्मीले आलसतालस भएकाहरू स–साना छहारीतिर कोही पल्टिरहेका, कोही तासका पत्ती पल्टाइरहेका, कोही गफिरहेका थिए। गर्मीको लामो बिदा थियो, त्यसैले स्कुलको टन्टा साफ थियो। कक्षा आठको जिल्ला स्तरीय परीक्षाको बेवास्ता गर्दै म, दीपेन्द्र, सन्तोष र रुकु साइकल डोर्‍याएर औद्योगिक क्षेत्रभित्र छिर्‍यौँ। हामीलाई साइकल चलाउन सिक्नु थियो। साइकल थियो, गंगाराम चौधरीको। चौधरी केही काम परेर कामबाट छुट्टी लिएर सप्तरी घर गएको थियो। यही मौका पारेर मैले सुटुक्क मटानबाट त्यो साइकल झिकेकी थिएँ। आपाले थाहा पाए छाला काढ्ने डर यथावत नै थियो। त्यसमाथि दीपेन्द्रलाई बाहेक हामी कसैलाई साइकल चलाउन आउँदैनथ्यो। दीपेन्द्रले नै साइकल चलाउन सिकाइदिने भनेपछि हामी तारबार नाघेर सुटुक्क त्यो उद्यानभित्र छिरेका थियौँ, जहाँ धुपी, सल्ला र अरु–अरु जातका अग्ला–अग्ला रूखहरूले प्रशस्त मात्रामा शीतल छरेको थियो। त्यही शीतल छहारीमा दुई–चारवटा रूखहरू फन्को लाउँदै साइकल सिकिमाग्ने लोभ मनमा गाडिएको धेरै दिन भइसकेको थियो।

सबैभन्दा पहिले दीपेन्द्रले साइकल चढेर एक फन्को मार्‍यो। त्यसपछि रुकु चढी। ऊ अग्ली थिई, त्यसैले त्यो बूढो साइकलको सिटबाटै पाइडल भेटी। पछाडि क्यारेजमा दीपेन्द्र र मेरो हात जोडले अँठिए। रुकुले साइकल बिस्तारै–बिस्तारै कुदाई। केहीबेरमा हामीले बिस्तारै साइकल छोडिदियौँ। तर अलिकति पनि नकुदाउँदै रुकुले थाम्न सकिनँ, साइकल पर्लक्कै पल्टियो। घुँडा धसारिएछ, पिरिक्क रोई। सन्तोष डरायो। उसले साइकल नसिक्ने भयो। त्यसपछि मेरो पालो, म त साइकलको धनी थिएँ त्यतिखेरलाई। अलिकति अहं पनि बढ्यो। रुकुले भन्दा बढ्ता गजबले म हाँक्न सक्छु साइकल भन्ने लाग्यो। तर म त होँची थिएँ। त्यो बूढो साइकलको सिटबाट पाइडल भेटिनँ, म खिसि्रक्क परेँ।

'ह्याँ डल्ली भोटिनी, त्याँबाट काँ भेटिन्छ त पाइडल? ओर्ली, यी यो कैँचीबाट (पाइडल माथिबाट खुट्टा छिराउन मिल्ने ठाउँ) खुट्टो घुसार्, अनि चला।'

'के रे? भोटिनी रे! तेरो टाउको, बाहुन।'

दीपेन्द्रसँग बाँझुजस्तो भयो।

'सिक्ने भए खुरुक्क मैले भनेजस्तो गर है डल्ली। नत्र घर फर्कन्छु,' टाउकोमा प्याट्ट हान्यो दीपेन्द्रले।

दीपेन्द्रको घुर्की नमानी भएन मैले। मैले पहिले दाहिने खुट्टो कैँचीबाट घुसारेर पाइडलमा राखेँ। अनि दुई–तीन राउन्ड साइकलको चक्का गुडेपछि देब्रे खुट्टा राख्न भन्यो दीपेन्द्रले, मैले त्यसै गरेँ। पछाडिबाट उसले साइकल समाउँदासम्म म सन्तुलनमै थिएँ। औद्योगिक क्षेत्रको त्यो बगैँचा एक फन्को मारेपछि भने कतिखेर उसले समाउन छाडेछ पत्तै पाइनँ।

'मैले त छोडिदिएँ है,' दीपेन्द्र चिच्याएको मात्र सुनेँ।

बाटो ओरालो थियो। असन्तुलित मन थियो कि साइकल? म फिलिली भएँ। साइकल सडकको कुनाकुना हुँदै गएर कपडा फ्याक्ट्रीबाट निस्कने फोहोर पानीको ढलमा पुगेर गर्ल्याम्म भयो। म उछिट्टिएर ढलछेउको घाँसे मैदानमा पछारिएँ। तिरिमिरीझ्याइँ देखियो। रुकु र दीपेन्द्र दौडिएर आइपुगे, बिस्तारै मलाई उठाए। मेरो देब्रे घुँडा ठोक्किए छ, दाहिने हातको कुहिना धसारिएछ। यस्तोमा पनि मलाई आफ्नोभन्दा त्यो साइकलको चिन्ता थियो, त्यसैले म रोइनँ।

खुट्टा खोच्याउँदै ढलमा ठोक्किएको साइकल उठाउन गएँ। रुकु र दीपेन्द्र पनि मेरो पछिपछि आए। अब भने मलाई रुन मन भयो। साइकलको ह्यान्डिल बांगिएको र अगाडिको पाङ्ग्रा पसाङ्गिएको थियो।

दुई हप्तापछिको एक साँझ गंगाराम चौधरीको कोठाको ताल्चा उघि्रयो। चौधरीको कोठाको ढोका खुलेको आवाजले मेरो मुटु जोडजोडले हल्लियो। अहिलेसम्म त आपा आमालाई केही थाहा थिएन। अब चौधरी रिसाउनेछ। सम्भवतः साइकलको क्षतिपूर्तिका लागि आपासँग बाझ्नेछ। तिम्रो छोरीको गल्ती हो यो सब, फटाही छे त्यो काली भन्नेछ। त्यसपछि आपाको दह्रो झापड मेरो गालामा पर्नेछ। उफ्! चौधरीलाई डेराबाटै निकाल्न पाए सब समस्या समाधान हुने थियो। तर कुन बहानामा? तुरुन्तै सैतानी विचार बोकेर एउटा चिठी तयार पारेँ। जसमा चौधरीले मलाई प्रेमको प्रस्ताव राखेको झुट बयान थियो। आपाको हातमा त्यो चिठी पार्न पाए तुरुन्तै त्यसको सामान सडकमा हुर्‍याइदिनुहुनेछ। अनि म जोगिन्थेँ। म मनमनै दंग परेँ, आफ्नो  शैतान दिमाग सम्झेर। तर साँझको समय भएर होला चौधरीले साइकल हेरेन। भोलिपल्टदेखि ऊ ड्युटीमा जानेवाला थियो। मलाई भने भोलि कहिल्यै नभइदिए हुन्थ्यो जस्तो लाग्यो।

भोलिपल्ट बिहान मटानमा कुनै आवाज आएन। त्यस बिहान चौधरी ७ बजे नै ड्युटीमा गयो सायद। ऊ गएपछि मात्रै म ओर्लिएँ, मटानमा हेरेँ। साइकल उस्तै अवस्थामा थियो, जस्तो अवस्थामा दीपेन्द्र र मैले राखेका थियौँ। के त्यसो भए चौधरीले साइकल हेरेन? के ऊ आज हिँडेरै गयो? वा, प्रहरीचौकी गयो?

त्रासदि झनै बढेर गयो। यस्तै त्रासदिमै आपाको सिरानीमुनि चिठी घुसारेर म स्कुल गएँ।  साँझ फर्किएँ तर चौधरी फर्किएन। रातिसम्म पनि फर्किएन। आपा पनि आइपुग्नुभएन। मटानमा पुगेँ। त्यहाँ साइकल थिएन। फसाद्! सीधै भान्सामा गएँ। माछा र सर्स्युङको झोल अनि भात पस्किएको रहेछ।

'मेरो फेबरेट माछा कताबाट आयो?'

'चौधरीले ल्याएको उसको गाउँबाट।' आमाको उत्तरलगत्तै 'अनि आपा खै त?' सोध्न मन थियो तर सोधिनँ। फेरि आफ्नो भेद खुल्ला भन्ने डर लाग्यो। अब मलाई खाना रुचेन।

आधा खान खाएर ओछ्यानमा पल्टिएँ। कोठाको भित्तामा आपाले पहाडबाट हेटौँडा झर्दा ल्याउनुभएको डम्फु झुन्ड्याइएको थियो। २० वाटको बत्तीको उज्यालोमा पनि त्यो डम्फुको शिरमा भएको डाँफे अहिल्यै नाच्लाजस्तै देखियो।

०००

आकाशमा नरम कपासका टुक्रा यत्रतत्र छरिएका थिए। सप्तकोसीको किनार हुँदै आएको श्वेत घोडाबाट आपा ओर्लनुभयो। चौधरी सप्तकोसीमा जाल हान्दै रहेछ। आपाले चौधरीको डेलीबाट केही माछाहरू लिनुभयो, कुलपूजाको लागि भनेर। अनि चौधरीसँगै भित्री मधेसको घना जंगल छिर्नुभयो। त्यहाँ पुगेर चौधरीले कोइरालाको रूख ढाल्यो। आपाले ढाकरबाट सैलुङबाट सिकार गरेर ल्याइएको घोरलको आवरण झिक्नुभयो। चौधरीको काष्ठकला बेजोडको रहेछ। उसले दिनभरजसो लाएर कोइरालाको काठलाई सिनित्त पारेर बाटुलो आकार दियो। दुवैजना मिलेर घोरलको छाला कोइरालाको काठमा मोडेर बत्तीसवटा बाँसका किला ठोके। दुवै छिनछिनमा हाँस्थे। एक–अर्कालाई धाप मार्थे। डम्फु तयार भएपछि भने आपाको आँखाको चमक बढेर गयो। चौधरीलाई अँगालो मारे। 'चौधरी, तिम्रो यो देहातमा मो नआको भए ता मेरो पुर्खौंदेखिको यो आदिम डम्फुले सग्लो रुप धारण नगर्ने रहेछ होई।'

आपाले डम्फुबाट 'ताकधुङ ताकधुङ'को लय मिहीन तवरबाट निकाल्नुभयो। त्यही धुनको शक्तिले हुनुपर्छ एउटा रंगीन चरा उड्दै आएर डम्फुमाथि टक्क अडियो र फुर्रफुर्र गरेर नाच्न थाल्यो। त्यो देखेर चौधरी नाच्न थाल्यो। जंगलका अरु चराचुरुंगी, जनावर नाचे। फूलहरू फक्रिए। रूखबिरुवा हल्लिन थाले, पातपतिंगर उड्न थाले। एकदमै मनोरम वातावरण सिर्जना भएपछि मैले आफूलाई थाम्नै सकिनँ। म पनि नाच्न थालेँ। नाच्दानाच्दै म महाभारत म्हाबरको थुम्कोमा ठोक्किएँ। झन्डै–झन्डै असन्तुलित भएर तल खस्न लागकी थिएँ, चौधरीले च्याप्प समायो।

०००

म बिउँझिएँ, भित्तामा हेरेँ। त्यहाँ आपाको डम्फु स्थिर थियो। अस्थिर त मेरो मन थियो। अस्थिर मन बोकेर भान्सामा पसेँ।

'हिजो राति चौधरी आएन र आमा?' सोधेँ

'राति अबेर मात्र आएको थियो। उसको माई बिमार थियो रे। मर्‍यो रे। काजकिरिया सकेर हिजो आको राईछ। आबो खेतीपाती हेर्ने मान्छे छैन, आफुई गार्ने भान्थ्यो। काम पनि छाड्यो रे। पोकापोकी लिएर बिहानै रिक्सामा गयो ता।'

मेरो हृदयको चाप एकैपटक ह्वात्त बढ्यो। साइकलको झन्झट साफ भयो। गंगाराम कहिले जाला भएको थियो, गयो। म खुसी भएँ। तत्काल दुःखी पनि भएँ। जहिल्यै 'तँ मधिसे' भनेर हेप्थेँ। कहिल्यै सम्मानित नजर पुगेन ऊमाथि, फेरि अघि रातिको सपनाको ह्याङ थियो।

चौधरीको कोठा खुलै थियो। खाटमा दुईवटा लामा उखुका लाक्रा राखिएका रहेछन्। म मटानमा पुगें। त्यहाँ साइकल थियो। त्यो त्यही साइकल थियो, जुन दुई हप्ताअघि मैले बिगारिदिएँकी थिएँ। मैले साइकल नियालेर हेरेँ। तर यसको ह्यान्डिल र पांग्रा सद्धे थियो। क्यारेजमा एउटा सानो चिट थियो।

चिटमा लेखिएको थियो–

काली!

साइकल बनाएर छोडिदिएको छु। तँलाई उपहार भो। अब नबिगार्नू। अलिक जान्नेसँग सिकाइमाग्नु। म मधेस पसेँ। उता गाढा प्रशस्त पाइन्छ। केही नपाए भैँसी थुप्रै हुन्छन्। त्यसैमा चढुँला।

उही तेरो मधिसे।

प्रकाशित: १४ श्रावण २०७४ ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App