coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

गर्भवती आमाको उत्सव

शिक्षा शान्ति वाइबा र उनका श्रीमान् चन्द्रमान तामाङ  जापानको टोकियो सहरमा व्यवसाय गर्छन्। चार वर्षअघि मात्र विवाह गरेका उनीहरूको पहिलो सन्तान जन्मिन अब केही दिन मात्र बाँकी छन्। शिक्षाका लागि पहिलोपल्ट आमा बन्न पाउनु निकै उत्साहको विषय हो। त्यसैले उनी हरेक दिन त्यो दिनको कल्पनामा रोमाञ्चित हुने गरेकी छन्, जुन दिन उनको पहिलो सन्तान उनको कोखबाट बास सरेर उनको काखमा आउनेछ।

बेबी सावर गर्भवती आमालाई साथीभाइ र आफन्तले दिने पार्टी हो। यो एक प्रकारको उत्सव हो, जुन दिन गर्भवती आमाले आफन्तको सहयोग अनुभूति गर्छिन्।

यो उनको अद्भूत खुसीमा अहिलेसम्म उनको सबैभन्दा नजिक रहेका छन्, उनका श्रीमान्। शिक्षाले मेसेन्जरमा कुरा गर्दै भनिन्,  'साथीभाइको साथ अझ विशेष हुँदोरहेछ।' उनको गर्भावस्थाको यो लामो समयमा उनलाई खुसी राख्न साथीहरूले पनि भएभरको प्रयास गरेका छन्।

घरदेशभन्दा टाढा रहँदा पनि साथीहरूको मायाले सबैभन्दा धेरै पुलकित भएको दिन बन्यो, गएको ११ जुलाई।

उत्साहित हुँदै उनले भनिन्, 'साथीहरूले बेबी सावर पार्टीको आयोजना गरेर मेरो गर्भावस्थालाई विशेष बनाइदिए। त्यो दिन निकै खुसी भएँ।'

टोकियोमै रहेका नेपाली साथीले उनका लागि पार्टीको आयोजना गरे। पार्टीका लागि नीलो रङको थिम निर्धारित थियो। नीलो गाउनमा उनले गर्वका साथ आफ्नो गर्भ सम्हालिरहेकी थिइन्। मिस तामाङ प्रतियोगिताको उपविजेता समेत भइसकेकी शिक्षा सुन्दर त यसै पनि छन्। त्यस दिन साथीहरूले उनलाई थप सुन्दर बनाइदिए। पार्टीमा सहभागी सबैले नीलो पहिरन लगाए। उनको जन्मिनेवाला बच्चाका लागि विभिन्न खालका खेलौना उपहार पाइन्। डाइपरहरू सजाएर केक बनाइयो। यी सबै उपहार, सामग्री अनि सजावट पनि नीलो रङमा गरिएको थियो।

नीलो रङको अर्थ खुलाउँदै शिक्षाले भनिन्, 'नीलो थिमको अर्थ गर्भमा छोरा छ भन्ने हो। छोरा भए हरियो र नीलो अनि छोरी भए रातो या गुलाबी रङको प्रयोग गरिँदो रहेछ।'

नेपालमा गर्भमै लिंग पहिचान गर्ने प्रचलन छैन। अझ गर्भपतन गर्ने आसयले त भ्रूणको लिंग पहिचान गर्नु नेपालको कानुनले अपराध मानेको छ। तर जापानमा लिंग पहिचान प्रचलनमा रहेको र सजिलै पहिचान गर्ने व्यवस्था पनि भएको उनले सुनाइन्। त्यसैले उनले पनि आफ्नो गर्भको भ्रूणको रूपमा छोरा हुर्किरहेको थाहा पाएकी थिइन्। त्यसैका आधारमा उनको बेबी सावर पार्टीमा नीलो थिम प्रयोग गरिएको थियो।

बेबी सावर गर्भवती आमालाई साथीभाइ र आफन्तले दिने पार्टी हो। यो एक प्रकारको उत्सव हो, जुन दिन गर्भवती आमाले आफन्तको सहयोग अनुभूति गर्छिन्।

शिक्षा भन्छिन्, 'आमा बन्ने प्रक्रिया संसारको सबैभन्दा सुन्दर अनुभव भए पनि कति अवस्थामा एउटी महिलाका लागि निकै असहज समय पनि हुँदो रहेछ। यस्तो बेला सबैको ढाडसको अपेक्षा हुन्छ। यो प्रक्रियामा आमासँग सबै नजिकका मान्छे सहभागी हुनु एक प्रकारको साथ हो। बेबी सावर त्यसैको प्रतीक हो।

गत जुलाई १ मा दोस्रो सन्तानको रूपमा छोरो जन्माएकी सुस्मिता बानियाँको गर्भावस्थाको अन्तिम महिना पूरै बेबी सावर पार्टीमय भयो। टोकियोमै नयाँ साथी र पुराना साथीको समूहले छुट्टाछुट्टै पार्टी आयोजना गरेर उनलाई नयाँ जन्मिने बच्चाको उपहारले नुहाइदिए।

सुस्मिताले भनिन्, 'गर्भमा छोरो भएकाले एकपटक हरियो र अर्कोपटक नीलो थिममा पार्टी गरिएको थियो।'

जन्मिनै लागेको बच्चाको पृथ्वी अवतरणको क्षणको पर्खाइमा रहेकी आमालाई यस्तो अवसरले उत्साहित बनाएको उनको अनुभव छ।

उनको पहिलो सन्तानको छोरीको जन्म चार वर्षअघि नेपालमै भएकाले बेबी सावर पार्टी त भएन। यद्यपि बेबी सावरजस्तै 'दही चिउरा' खुवाउने कार्यक्रम भने भयो। छोरी गर्भमा रहेको समयमा उनले आफ्नो माइती र साथीहरूको तर्फबाट छुट्टाछुट्टै दही–चिउरा उत्सव मनाउन पाएकी थिइन्।

आमालाई दही–चिउरा खुवाए स्वस्थ बच्चा जन्मिन्छ भन्ने विश्वास नेपाली समाजमा छ। त्यसैले गर्भवती आमालाई दही–चिउरा खुवाउँछन्।

नेपालमा भएको दही–चिउरा उत्सव होस् या जापानमा भएको बेबी सावर पार्टी, दुवैले गर्भवती अवस्थामा आफ्नो मनोबल बढाएको सुस्मिताले सुनाइन्।

गर्भावस्थामा आमा र बच्चाको राम्रो स्वास्थ्यको कामना गर्ने नेपाली शैलीलाई दही–चिउरा सगुन भनिन्छ। गायिका इन्दिरा योञ्जनले गएको वैशाखमा आफ्नो पहिलो सन्तानलाई जन्म दिएकी छन्। गर्भावस्थाको अन्तिम महिनामा उनलाई दही चिउरा सगुन खुवाइयो। नेवारसँग अन्तर्जातीय विवाह गरेकी उनकी नन्दको परिवारले सगुनको आयोजना गरेको थियो। सगुन लिएर आएका आफन्तले दही–चिउरा खुवाई टीका लगाइदिएर स्वस्थ बच्चा र सजिलो प्रसूतिको कामना गरे।

आफ्नो समुदायमा गर्भवती आमालाई आहारा खुवाउने छुट्टै चलन नभए पनि नन्दको परिवारबाट पाएको सगुनले खुसी तुल्याएको उनले सुनाइन्। 'गर्भावस्थामा धेरै टाढाटाढा बाहिर निस्कन र आफन्त भेट्न जान सकिँदैन। त्यसैले आफन्त भेटघाट र रमाइलो गर्ने माहोल नै कम हुँदो रहेछ। कहिलेकाहीँ त एक्लो महसुस पनि हुन्छ,' उनले भनिन्, 'यस्तो बेला दही–चिउरा सगुन लिएर आफन्त आउँदा एकोहोरो खालको दिनचर्यामा रमाइलो थपिएको थियो।'

प्रकाशित: १४ श्रावण २०७४ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App