१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सडकले फेरिँदो जुम्ला

तिला गाउँपालिका– ७ का हरिकृष्ण बुढा गाउँनजिकै दिनहुँ दर्जनभन्दा बढी सवारीसाधन गुडिरहेको देख्दा दंग छन्। भौगोलिक विकटता, कडा चट्टान भएको भूमि देख्दा उनलाई वर्षौं यातायात सेवा पाइँदैनजस्तो लाग्थ्यो। नेपाली सेनाको अथक मेहनतले नसोचेको समयमै यातायात सुविधा पाएपछि भने उनीलगायत कर्णालीवासी खुसी छन्।

सडक सञ्जालले हिमाल, पहाड र तराईको सम्बन्धलाई प्रगाढ बनाएको कर्णालीवासी बताउँछन्। अहिले चामल, दाल लगायत उपभोग्य वस्तु लिएर आउने मालवाहक सवारी स्याउ, सिमी, आलु लिएर फर्कन्छन्। जसले उत्पादनको आदान–प्रदान सहजै हुने गरेको छ।

अहिले यहाँ प्रत्येक बस्तीसम्म ग्रामीण सडक जोडिन थालेका छन्। नियमित रूपमा कर्णाली राजमार्ग सञ्चालन भइरहँदा स्थानीयले धेरै सुविधा पाएका छन्। सडक सञ्जाल जोडिएसँगै शिक्षक, डाक्टर खोज्न जानुपर्दैन। गाडी चढेरै सेवा गर्न आउने भएका छन्।

सोही गाउँका कृष्ण बुढा हप्ता दिन लगाएर दैलेखको चुप्रादेखि चामल, नुन ओसारेको बिर्सन थालेका छन्। पिठ्युँमा ५० केजीको भारीसहित दैलेख कालिकोटको सिमानामा रहेको महाबुलेक पार गर्दाको पीडा हराउँदै जान थालेको उनी बताउँछन्। उनले भने, 'हामी त के छोरानातिको पालामा समेत गाडी गुड्दैन भन्ने सोचेका थियौँ, तर हामै्र पालामा जुम्ला कायापलट बन्यो। जुम्लाको सिमी चुप्रा पुर्‍याउने र चुप्राको चामल जुम्ला ल्याएर परिवार पाल्ने पहिले उनको दैनिकी थियो। उनले उत्पादन गरेका सामग्री लिन अहिले गाउँमै व्यापारी पुग्ने गर्छन्।

सोही गाउँका पूर्णबहादुर बुढा डिल्लीकोट हुँदै खच्चर चलाउँथे। अहिले उनले रारालिहीमा चारकोठे घर बनाएर व्यापार गर्दै छन्। उनी भन्छन्, 'यहाँ सडक आएर म व्यापारी बन्छु भन्ने कल्पनासम्म गरेको थिएन।'

सडक नहुँदा जुम्ला आउने प्रायः कर्मचारी आफूलाई कारबाही गरेर विकट जुम्ला पठाइएको सम्झन्थे। नेपाली सेनाले ०६३ चैत २९ गते ट्र्याक खोलेर जुम्ला सदरमुकाममा जिप पुर्‍याएदेखि यहाँको मुहारै बदलियो।

योजना आयोगका तत्कालीन उपाध्यक्ष जगदीशचन्द्र पोख्रेलले कर्णाली राजमार्गको ट्र्याक उद्घाटन गरेका थिए। यातायातका साधन नदेखेका जुम्लावासी पहिलोपटक देख्दा दंग परे। अब केही सुविधा हुने भयो भन्दै खुसियाली मनाए। घोडेमहादेवका कृष्ण भन्छन्, 'अहिले हामीले यहाँको जडीबुटी, तरकारी र फलफूल तराईका सहरमा पुर्‍याउन सकेका छौँ। तरकारी र फलफूल बेमौसममा कर्णालीमा ल्याउँछौँ।'

सडक सञ्जालले हिमाल, पहाड र तराईको सम्बन्धलाई प्रगाढ बनाएको कर्णालीवासी बताउँछन्। अहिले चामल, दाल लगायत उपभोग्य वस्तु लिएर आउने मालवाहक सवारी स्याउ, सिमी, आलु लिएर फर्कन्छन्। जसले उत्पादनको आदान–प्रदान सहजै हुने गरेको छ।

कर्णाली सडक आसपासका बस्ती अहिले स्थानीय बजारमा परिणत भएका छन्। दुई दिन पैदल हिँडेर नुन, तेल, चामल किन्न सदरमुकाम आउने बाध्यता हटेको छ। जिल्लाका सबैतिर एक वा आधा घन्टा हिँडेरै दैनिक उपभोग्य सामान किन्न सकिने अवस्था छ।

सडकले विमानस्थलमा लाग्ने घुइँचो कम भएको छ। बसपार्कमा सहजै टिकट पाउने भएपछि स्थानीयले सडक यातायातलाई निकै सुरक्षित र सहज मान्छन्। यातायात सञ्चालन भएको केही वर्ष यो मार्ग दुर्घटनाका दृष्टिले जोखिमपूर्ण मानिन्थ्यो। अहिले राजमार्ग स्तरोन्नतिले बिस्तारै पूर्णता पाउँदै छ।

पहिले स्थानीय हवाई जहाजबाट आएको दैनिक उपभोग्य सामान खरिद गर्न डेढ दिन हिँडेर सदरमुकाम पुग्थे। नुनको डिपो र खाध्य संस्थानमा लाइनमा बस्दा पनि चामल, नुन पाउने आशा हुँदैनथ्यो। खाद्यको चामल, नुन स्थानीय दलको नेता र प्रशासकको कुपनमा चल्थ्यो। तर, सडकले छोएसँगै सबै उपभोग्य सामान सुपथ मूल्यमै गाउँमा पाइन थालेको छ।

'जुम्लीका दुःख गर्ने दिन गए,' स्थानीय कविराज कार्कीले भने, 'यहाँको स्याउ र सिमीखेतीले मात्रै पनि जिल्लावासीलाई पाल्न सक्ने सामर्थ्य राख्छ।'

सुर्खेतदेखि जुम्लासम्मको कर्णाली राजमार्ग ९९ प्रतिशत पक्की भइसकेको छ। झन्डै एक वर्ष अघिदेखि जुम्ला–काठमाडौं सीधै बससेवा सुरु भएको छ। नेपालगन्ज सुर्खेतसम्म एकै दिनमा पुग्न सकिन्छ। 'पहिले जुम्लादेखि सुर्खेत पुग्न बसमै तीन दिन लाग्थ्यो, पैदल त महिनौँ लाग्थ्यो।

अहिले ३६ घन्टामा काठमाडौं पुग्न सकिन्छ। सुर्खेत–जुम्ला दुई सय ३६ किलोमिटर सडकलाई दुई खण्ड गरी कालोपत्रे भएको हो। पहिलो चरणमा विश्व बैंकको अनुदानमा सुर्खेतदेखि खिडकिज्युलासम्म कालोपत्रेको काम सकिएको थियो। विश्व बैंककै ऋण अनुदानमा खिडकिज्युलादेखि जुम्ला–खलंगासम्म कालोपत्रे गरिएको छ। कर्णाली राजमार्गमा ४.५ मिटर चौडाइ कालोपत्रे गरिएको हो। ०४१ र ४२ सालमा यो राजमार्गको सर्वेक्षण भएको थियो। ०४८ मा सरकारले दुई करोड रुपैयाँ विनियोजन गरेर कर्णाली राजमार्गको निर्माण थालेको संसद् विकास समितिको अनुगमन समिति सदस्य एवं पूर्वसभासद् देवीलाल थापा बताउँछन्। उनका अनुसार ०५६ सालमा विश्व बैंकले जिम्मा लिएपछि कर्णालीको सडक छिटो बनेको हो। केही वर्षसम्म ट्र्याक्टर र ट्रक मात्रै चल्ने सडकमा अहिले साना ठूला सबैखाले सवारी चल्छन्।

यहाँका व्यापारीले मालवाहक गाडीबाटै सामान ढुवानी गर्न थालेका छन्। हवाई जहाजको महँगो ढुवानी भाडा तिर्नुपरेको छैन। सामान मोटरबाटोबाट आउन थालेपछि सुपथ मूल्यमै दैनिक उपभोग्य सामग्री खरिदबिक्री भइरहेको छ।  हवाईजहाजमा प्रतिकेजी ७० देखि ८० रुपैयाँसम्म ढुवानी खर्च लाग्थ्यो भने गाडीमा न्यूनतम पाँच रुपैयाँदेखि अधिकतम दश रुपैयाँ लाग्छ।

०६३ चैतबाट चल्न थालेको कर्णाली राजमार्ग वर्षात्मा भने बेलाबेला पहिरोले दुःख दिने गर्छ।  राजमार्ग पक्की भएपछि जुम्लाको स्याउले मूल्य पाउन थालेको छ। अहिले खाद्यान्न अभाव भएको सुन्ननपरेको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी बालकराम देवकोटा बताउँछन्। 'राजमार्गले यहाँको र तराईको कृषिजन्य उत्पादनको सहज आदान–प्रदान मात्रै भएको छैन,' उनले भने, 'राजधानी र नेपालका सहरबीचको दूरी घटाएको पनि छ।'

जुम्ला अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्ने गरेको पर्यटन व्यवसायी बताउँछन्। संसारको सबैभन्दा अग्लो स्थानमा धान फल्ने छुमचौर र राराताल हेर्र्न आउनेको संख्यामा वृद्धि भएको छ। कर्णाली राजमार्गसँगै नाग्म गमगडी सडक निर्माण भएपछि रारातालसम्म पुग्न सहज भएको छ। राराताल हेर्न मोटरसाइकलमै आन्तरिक तथा बाह्य पर्यटक आउजाउ गर्छन्।

सडकले छोएपछि निर्वाहमुखी खेती प्रणालीबाट किसानमाथि उठेका छन्। व्यावसायिक तरकारीखेतीमा आकर्षण बढेको छ। स्याउ, सिमी, आलु, प्याज, काउली, बन्दालगायत जुम्लाका उत्पादन सुर्खेत नेपालगन्जका बजारसम्म पुग्ने गरेका छन्।

सडक सञ्जालले छोएसँगै यहाँका भौतिक संरचनामा समेत परिवर्तन देखिएको छ। सिमेन्ट, इँटाको प्रयोग बढेको छ। खाली जग्गामा आधुनिक घर बन्न थालेका छन्। गाउँसम्म सिमेन्ट र जस्तापाताको प्रयोग बढ्न थालेको छ।

प्रकाशित: १४ श्रावण २०७४ ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App