coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'खानेपानीका पाइपले खाल्डा पुर्न बाधा'

काठमाडौं- उपत्यकाका सडकका खाल्डा पुर्ने कार्यमा खानेपानीका पाइप अवरोध बनेका छन्। सडकमा खानेपानीका पाइप फुटेका कारण काममा बाधा परेको खाल्डा पुर्ने जिम्मा पाएका उच्च सरकारी अधिकारी बताउँछन्।

'खानेपानी पाइप नभएका स्थानका खाल्डा लगभग पुरिएका छन्,' प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भने, 'कतिपय मुख्य सडकखण्डका पाइप फुुटेकै कारण काम गर्न कठिन भएको अनुगमनबाट थाहा पायौं।' उनले शुक्रबार पनि मुख्य सडकखण्डमा पुगेर खाल्डा अनुगमन गरेको बताए।

'कतिपय ठाउँमा खानेपानी पाइप फुटेको र कतिपय ठाउँमा माटो प्रयोग भएकै कारण ठूलो समस्या आएको छ, अर्को कुरा जिम्मा पाएका निकायबीच समन्वय पनि भएन।'

अनुगमन टोलीले बानेश्वर–पुरानोबानेश्वर, गौशाला–चाबहिल, चुच्चेपाटी–बौद्ध, जोरपाटी–नारायण गोपालचोक, गोल्फुटार–सामाखुसी–बसपार्क, बालाजु–नारायण गोपालचोक, लाजिम्पाट–लैनचौर, सुन्धारा–त्रिपुरेश्वर–टेकुलगायत क्षेत्रका खाल्डा निरीक्षण गरेको उनले बताए। स्थानीय विकास मन्त्रालयका सचिव, खानेपानी तथा सरसफाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि अनुगमन टोलीमा थिए।

'खानेपानीका पाइप फुटेकै कारण मुख्य सडकखण्ड सुधि्रन समय लाग्छ,' सचिव घिमिरेले भने, 'लाजिम्पाट, पानीपोखरी, चुच्चेपाटीलगायत ठाउँमा पानी रसाएर सडक मर्मतमा अवरोध पुगेको छ।' उनले पाइप फुटेर अवरोध पुगेका ठाउँमा तुरुन्तै पाइप बनाउन आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) लाई निर्देशन दिएको जानकारी पनि दिए।

पिआइडीका आयोजना निर्देशक तिरेश खत्रीले फुटेका खानेपानीका पाइप मर्मत गर्न समय लाग्ने बताए। 'सकेसम्म मुख्य सडकमा फुटेका खानेपानीका पाइप बनाउँदै आएका छौं,' उनले भने, 'लैनचौर र पानीपोखरी क्षेत्रमा फुटेका खानेपानी पाइप तत्काल बनाउन कठिन छ।'

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाले पाइप फुटेका कारण मुख्य सडकखण्डमा काम गर्न नपाएको बताए। 'खानेपानीका पाइप बनाउने हाम्रो काम होइन, यो त पिआइडीको हो,' उनले भने, 'पाइप फुटेको समस्या त छँदैछ, राम्रो गिटीबालुवा पनि पाइएको छैन।' उनले लाजिम्पाट–लैनचौर क्षेत्रमा पाइप फुटेर काम गर्न एकदमै मुस्किल भएको बताए। उनका अनुसार २२ स्थानमा खानेपानी पाइप फुटेको छ।

प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीले जिम्मेवार निकाय काममा खटिए पनि खानेपानीका पाइप फुटेका र ढुंगागिटीजस्ता निर्माण पाउन मुस्किल भएकाले काममा बाधा परेको बताए। उनले भने, 'कतिपय ठाउँमा खानेपानी पाइप फुटेको र कतिपय ठाउँमा माटो प्रयोग भएकै कारण ठूलो समस्या आएको छ, अर्को कुरा जिम्मा पाएका निकायबीच समन्वय पनि भएन।'

जिम्मा पाएका निकायले शुक्रबारसम्म गौशाला–मित्रपार्क, महाराजगन्ज–कलंकी, गौशाला–चाबहिल, लैनचौर–लाजिम्पाट, महारागन्ज–बाँसबारी, चाबहिल–धोबीखोला, कालिकास्थान–अनामनगर, त्रिपुरेश्वर–थापाथली—माइतीघर, थापाथली–मैतीदेवी, बालाजुलगायत ठाउँका खाल्डा पुरेको दाबी गरे पनि खाल्डा जस्ताको तस्तै छन्।

जिम्मा पाएको १३ औं दिन बितेको छ। केशरमहल–लाजिम्पाट, चाबहिल–बौद्ध, महाराजगन्ज–बूढानीलकण्ठ, तीनकुने–बानेश्वर, रातोपुल–गौशाला, गौरीघाट–गौशाला, चाबहिल–चुच्चेपाटी, चाबहिल–गोपीकृष्ण, तिनकुने–कोटेश्वर, रत्नपार्क–सिनामंगल, हात्तीसार–गौशाला, रातोपुल–गौशाला, जयबागेश्वरी–कालोपुल, त्रिपुरेश्वर–कलंकी, लैनचौर–सोह्रखुट्टेलगातय ठाउँका खाल्डा पुर्ने काम सुरु भएको छैन।

साउन १ गते प्रधानमन्त्री शेरबहादुर देउवाको १५ दिनभित्र सडकका खाल्डा पुर्न निर्देशन दिएका थिए। सुन्धारा–रत्नपार्क, भोटाहिटी–जमल, लैनचौर–नारायण गोपालचोक, थापाथली–माइतीघर, बाँसबारी–नारायणचोक, पुतलीसडक–हात्तीसार, हात्तीसार–बालुवाटार, अनामनगर–कालिकास्थान, चारखाल–ज्ञानेश्वर, नक्साल-भगवतीबहाल, गौशाला–जयबागेश्वरी, चाबहिल–गोपीकृष्ण, तिनकुने–कोटेश्वर, रत्नपार्क–सिनामंगल, हात्तीसार–गौशाला, जयबागेश्वरी–कालोपुल, त्रिपुरेश्वर–कलंकी, लैनचौर–सोह्रखुट्टेलगायत २१ स्थानका खाल्डा पुर्न निर्देशन भएको थियो।

प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाको नेतृत्वमा काम  भइरहे पनि त्यसले गति लिन सकेको छैन।

प्रकाशित: १४ श्रावण २०७४ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App