८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बदलामा किशोरी बलात्कार गर्न आदेश दिने पक्राउ

इस्लामाबाद- दाईले एक बालिका बलात्कार गरेको अभियोगमा बदला स्वरुप बहिनीलाई बलात्कार गर्न आदेश दिने २० जनालाई पाकिस्तानको मुल्तानबाट पक्राउ गरिएको छ।

एक किशोरीको दाइले एउटी बालिकामाथि बलात्कार गरेको अभियोग लगाउँदै पञ्चायतले बदलास्वरुप आरोपित दाजुको बहिनीलाई बलात्कार गर्न आदेश दिएको थियो। दुबै परिवार आफन्त भएको र उनीहरुकै संयुक्त मिलेमतोमा यो निर्णय दिइएको बताइएको छ।

'जर्गा (गाउँ पञ्चायत)ले सजायस्वरुप १६ वर्षकी किशोरीलाई बलात्कार गर्ने आदेश दियो किनकी उनको दाइले १२ वर्षकी बालिकाको बलात्कार गरेको थियो,' प्रहरी अधिकृत अल्लाह बख्सले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ। आफ्नो १२ वर्षे बहिनीलाई आफ्नै काकाको छोराले बलात्कार गरेको भन्दै यस महिनाको सुरुतिर एक मानिसले गाउँ पञ्चायतमा उजुरी गरेको उनले बताए। त्यसपछि बसेको गाउँ पञ्चायतले उजुरी गरेको मानिसलाई बदलास्वरुप आरोपितको बहिनीलाई बलात्कार गर्न आदेश दिएको र पञ्चायतको आदेशसँगै उसले ती किशोरीलाई बलात्कार गरेको पाकिस्तानी प्रहरीले जनाएको छ। 

पाकिस्तानी 'डन'पत्रिकाका अनुसार ती किशोरीलाई जबर्जस्ती मानिसहरुको अगाडि उपस्थित हुन लगाएर उनको आमाबुबा र सबै मानिसहरुकै बीचमा बलात्कार गरियो। पीडित दुबै केटीका आमाले यसको विषयमा स्थानीय प्रहरी चौकीमा उजुरी दर्ता गराए। उजुरीपछि गरिएको मेडिकल परीक्षणबाट दुबै घटनामा बलात्कार भएको पुष्टि भएको थियो। बलात्कारको पहिलो घटनाकी पीडित बालिका केबल १२ देखि १४ वर्षकी रहेको र बदलास्वरुप बलात्कारको शिकार भएकी किशोरीको उमेर भने १६ देखि १७ वर्षको रहेको प्रहरी अधिकारी असन योउनासले बिबिसीलाई बताए। उनले प्रहरीले उक्त घटनामा दोषी देखिएका २५ जनाविरुद्ध उजुरी दर्ता गरेको बताउँदै १२ वर्षे बालिका बलात्कारको घटनामा त्यो संख्या बढ्नसक्ने बताए। उनले १२ वर्षे बालिका बलात्कार गर्ने युवक भने फरार रहेको पनि बताए।

विभिन्न समाचारमा आएअनुसार बदलास्वरुप बलात्कारको आदेश जिर्गा (गाउँ पञ्चायत)ले दिएको बताइएपनि बिबिसीको स्रोतका अनुसार त्यो घटना दुई परिवारको संलग्नतामा भएको बुझिएको छ।

पाकिस्तानको विकट गाउँमा हुने विभिन्न खालका समस्यालाई अहिलेपनि गाउँका वयोवृद्ध मानिसद्वारा बनाइने गाउँ पञ्चायतले समाधान गर्ने गर्दछन्। पाकिस्तानमा त्यस्ता गाउँ पञ्चायत गैर कानुनी मानिन्छन्। त्यस्ता गाउँ पञ्चायतले विभिन्न खालका विवादास्पद निर्णय गर्ने गरेका छन्। यस अघि पनि गाउँ पञ्चायतले तथाकथित सम्मानित मृत्युदण्ड र बदला बलात्कारका विभिन्न निर्णय गरिसकेका छन्। 

प्रकाशित: १३ श्रावण २०७४ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App