जनैपूर्णिमा र नागपञ्चमी किन एकै दिन?

शुक्रबार, १३ साउन २०७४, ०९ : ३६ प्रा. श्रीकृष्ण अधिकारी

प्रत्येक वेदपाठी र अन्य साधक वा याज्ञिकमा वर्ष दिनभरि रहेको दुष्कर्म, दुराचार, दुर्व्यवहार र दुष्परिणामको निराकरणका साथै वेदमन्त्रको पुनःताजगीकरण, प्रभावकारिता, शक्तिसम्पन्नता र सामर्थ्यशीलताका लागि गरिने गणस्नान, ऋषिपूजन, ऋषितर्पणी, उत्सर्जन, उपाकर्म, नवीन यज्ञोपवीताभिमन्त्रण, धारण र रक्षाबन्धन गर्ने कृत्यलाई जनैपूर्णिमाको कर्तव्य कर्म मानिन्छ। वेदमन्त्रको शुद्धीकरण र प्रभावशालितामा मन्त्रद्रष्टा ऋषिहरूको नै प्रमुख भूमिका रहने विषय निर्विवाद हो। वेदमन्त्रमा जसरी शक्तिसम्पन्नता र प्रभावकारिताको सिर्जना गरिन्छ। त्यस्तै यज्ञयागादिमा प्रमुख रूपमा प्रयोग गरिने यज्ञोपवीत (जनै) मा पनि पवित्रता, प्रभावकारिता र शक्तिसम्पन्नता ल्याउन जनैको अभिमन्त्रण गर्ने शास्त्रीय परम्परा छ। कमलगट्टा, सुन, चाँदी, कपासमध्ये कुनै एकको रेसाबाट धागो निकाली जनै बनाइन्छ। धागोलाई तेब्राउने, त्यसपछि फेरि तेब्राउने, टुप्पाटुप्पीमा पवित्राकारको गाँठो बनाउने अनि यसलाई नियमानुसार शिखा पार्दा अर्थात् पवित्राकार ग्रन्थि बनाउँदा एक्ले जनै बन्छ। यस्ता २ एक्ले जनैलाई १ जनै मानी धारण गरिन्छ। उत्तरीयको सट्टा यसमा १ एक्ले समेत थपी ३ एक्ले जनै लगाउने चलन पनि छ। जनैका ९ तन्तुमा ॐकार, अग्नि, नाग, सोम, पितृगण, प्रजापति, मारुत, सूर्य र सर्वदेवता बसेका हुन्छन्। नियमानुसार जनै लगाउनाले अभीष्ट फल प्राप्ति हुन्छ। बजारमा राखिएको जनैले भने यसको स्थान कदापि लिन सक्दैन।

गणस्नान :  मध्याह्नसम्मको नित्यकर्म समाप्त गरी परस्परमा भएको पाप र दुष्कर्मलाई सबैले सुन्ने गरी उच्चारण गरी अबदेखि यस्तो पाप गर्नेछैन, गरेको पापलाई परब्रह्म परमात्माले दयाका साथ नष्ट गरिदिनुहोस् भनी कायिक, वाचिक र मानसिक रूपमा प्रायश्चित्त गर्नु नै गणस्नान हो। यसैलाई श्रावणी स्नान पनि भनिन्छ।

ऋषिपूजन र तर्पण :  सम्पूर्ण वेदमन्त्रका द्रष्टा कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ यी सप्तर्षि हुन्। यी सबै ऋषिहरूलाई मन्त्र साक्षात्कार गर्न गराउन साध्वी पवित्रता अरुन्धतीको पनि ठूलो सहयोग र सहभागिता रहेको छ। यसैले अरुन्धतीसहित कश्यपादि सप्तर्षिको पूजन, तर्पण, स्मरणले पापको प्रायश्चित्त र वेदमन्त्रमा अझ बढी प्रभावकारिता र सबलीकरणमा टेवा पुग्दछ।

उत्सर्जन :  उत्सर्जनको अर्थ त्याग गर्नु वा छोड्नु हो। नित्य वैदिक मन्त्रको उच्चारण वेदपाठका अतिरिक्त स्वाध्यायको दृष्टिले वेदको मनन, चिन्तन, सस्वर पाठ आदि गर्दागर्दा शिष्य र गुरु दुवै थाक्नु स्वाभाविकै हो। त्यसैले ज्ञान विज्ञानको अनन्त भण्डार, अपौरुषेय, परम पवित्र वेदमन्त्रहरूलाई शस्त्रअस्त्र अनुरूपको समेत स्मरण र आदरका साथ नमन गरी यी मन्त्रहरूलाई परिष्कार र परिमार्जन गर्ने क्रममा तीन चार दिनसम्म यसको परिचालनबाट अलग्गिनु वा विश्राम लिनु नै उत्सर्जन हो।

उपाकर्म :  वेदाध्ययनका लागि एकत्र भएका शिष्यको संख्यालाई आधार मानी नियमानुसार वेदाध्ययन गराउने यज्ञविशेषको नाम उपाकर्म हो।

जनै मन्त्रने र लगाउने :  जसरी ऋषिपूजन, तर्पण, उत्सर्जन तथा उपाकर्मद्वारा वेदको मान्त्रिक शक्तिमा पवित्रता, प्रभावकारिता र शक्तिसम्पन्नतामा वृद्धि हुन्छ। त्यस्तै गरी नयाँ जनैलाई गङ्गाजल, कुशोदक, पञ्चामृत, श्रीखण्ड र अन्य सुगन्धित पदार्थले पवित्र गराई वैदिकमन्त्रद्वारा अभिषेक र अभिमन्त्रित गरी यसमा विभिन्न देवताहरूको आवाहन, पूजन गरी यसमा शक्तिसम्पन्नता, प्रभावकारिता र सामर्थ्यसम्पन्नताको सञ्चार गरी मन्त्रशक्तिसम्पन्न गराउने कार्यलाई जनै मन्त्रने भनिन्छ। अभिमन्त्रित जनै लगाउने अर्थात् धारण गर्ने व्यक्तिमा ब्रह्मचर्य, सदाचार सत् सामर्थ्य र तेजस्विता स्वयं प्राप्त हुन्छ।

जनैपूर्णिमा र नागपञ्चमी एकै दिन हुनुको कारण :  वि.सं.२०७४ सालको जनैपूर्णिमाको सम्पूर्ण धार्मिक कृत्य नागपञ्चमीको दिन मनाइने शास्त्रीय निर्णय भएको छ। नेपाल र भारतबाट प्रकाशित भएका पञ्चाङ्ग अर्थात् पात्रोमा यही विषयको उल्लेख छ। यसका केही कारण छन्– १. सर्वशाखिनां गृह्योक्तमुख्यकालत्वेन निर्णीते दिने ग्रहणसंक्रान्तेर्वा सत्त्वे संक्रान्तिरहिता पञ्चम्यादयो ग्राह्याः (धर्मसिन्धु २ परिच्छेद) २. संक्रान्तिर्ग्रहणंं वापि यदि पर्वणि जायते।  तन्मासे हस्तयुक्तानां पञ्चम्यां वा तदिष्यते।। (स्मृतिमहार्णव) ३. अर्धरात्रादधस्ताच्चेत् संक्रान्तिर्ग्रहणं तदा। उपाकर्म न कुर्वीत परतश्चेन्न दोषकृत्।। (वृद्धमनु र कात्यायन) ४. यद्यर्धरात्रादर्वाक् तु ग्रहः संक्रम एव वा। नोपाकर्म तदा कुर्याच्छ्रावणं श्रवणे˜पि वा।। (गार्ग्य) ५. गुरुभार्गवयोर्माैढ्ये बाल्ये वा वार्धके˜पि वा।  अथाधिमासे संक्रान्तौ मलमासादिषु द्विज। प्रथमोपाकृतिर्न स्यात् कृतं कर्म विनाशकृत्।। (कश्यप) ६. यदि स्याच्छ्रावणं पर्व ग्रहसंक्रान्तिदूषकम्।  स्यादुपाकरणं शुक्लपञ्चम्यां श्रावणस्य तु।। (मदनरत्न) ७. उपाकर्म न कुर्वन्ति क्रमात् सामर्ग्यजुर्विदः।  ग्रहसंक्रान्तियुक्तेषु हस्तश्रवणपर्वसु।। (हेमाद्रिः) ८. संक्रान्तिर्ग्रहणं वापि पौर्णमास्यां यदा भवेत्।  उपाकृतिस्तु पञ्चम्यां कार्या वाजसनेयिभिः।। (स्मृति महार्णव) ९. ग्रहयोगो गुरुं हन्ति संक्रान्तिः शिष्यघातिनी। तयोर्हन्त्युत्तराषाढा उपाकर्मणि वैष्णवे।। (हेमाद्रौ निगमः)

 यी सबै धर्मशास्त्रीय वचनहरूद्वारा ग्रहण वा संक्रान्तिको योग परेमा उक्त दिन उपाकर्म अर्थात् जनैपूर्णिमाको दिन गरिने कर्महरू नगर्नू, गरेमा अनिष्ट फल मिल्दछ, दोष लाग्दछ, गुरु शिष्यको भलो हुँदैन, उपाकर्मको फल मिल्दैन, उल्टो दुःख, कष्ट र दुष्परिणाम प्राप्त हुन्छ भन्ने विषयमा सबै ऋषिको एक मत र एकै विचार देखिन्छ। यसैले गर्दा यो वर्ष २०७४ श्रावण शुक्ल पूर्णिमाको दिन (श्रावण २३ गते सोमवार) चन्द्रग्रहण परेकाले जनैपूर्णिमामा गरिने सबै कृत्यहरू नागपञ्चमीमा (श्रावण १३ गते शुक्राबार) सारिएको हो।

चन्द्रग्रहण राति छ, दिनमा उपाकर्म किन गर्नुहुन्न? भन्ने अर्को प्रश्न पनि छ। रातमा चन्द्रग्रहण हुँदा दिनमा जनैपूर्णिमासम्बन्धी कृत्यहरू किन गर्न नहुने? भन्ने शंका गर्नु स्वाभाविकै हो। यसको उत्तरमा के भन्न सकिन्छ भने शास्त्रीय नियमअनुसार जनैपूर्णिमासम्बन्धी सबै कृत्य अपराह्न कालमा हुने र चन्द्रग्रहण हुँदा ९ घण्टा अगाडिदेखि ग्रहण सूतक लाग्ने हुँदा अपराह्नकाल चन्द्रग्रहणले दूषित भएका कारण जनैपूर्णिमासम्बन्धी कृत्यमा चन्द्रग्रहणजन्य दुष्प्रभाव परेकोले ग्रहणयुक्त पूर्णिमामा उपाकर्मादि कृत्यहरू निषेध गरिएका हुन्। अर्काे कुरा ग्रहणयुक्त पूर्णिमा पूरै दूषित भएकोेले पनि यो दिन उपाकर्मादि समस्त कृत्य निषेध गरिएका हुन्।

वि.सं.१९६३, १९८२, २०२७, २०२८, २०४६ र २०४७ सालहरूमा पनि संक्रान्ति वा ग्रहण परेका कारण जनैपूर्णिमाका समस्त कृत्यहरूश्रावण शुक्लपञ्चमी अर्थात् नागपञ्चमीका दिन गरिएको शास्त्रीय अभिलेख ती ती सालका पञ्चाङ्गमा स्पष्ट उल्लेख गरिएको प्रत्यक्ष प्रमाण पनि पाइन्छ। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad