coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सिँचाइका ८६ कर्मचारी विदेश सयरमा

काठमाडौं- सिँचाइ मन्त्रालय र मातहतका कार्यालयका ८६ जना कर्मचारी विदेश भ्रमणमा रहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन बेवास्ता गर्दै मन्त्रालय र मातहत कार्यालयमा कार्यरत कुल कर्मचारीमध्ये करिब ४ प्रतिशत कर्मचारी एकसाथ विदेश भ्रमणमा निस्केका हुन्। प्रधानमन्त्रीले असार २८ गते मुख्यसचिवलाई द्विपक्षीय सम्बन्धबाहेकका भ्रमण रोक्न निर्देशन दिएका थिए।

सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित मन्त्रालयअन्तर्गतका विभाग, निर्देशनालय, डिभिजन तथा आयोजनाका अधिकांश प्रमुख विदेश भ्रमणमा छन्। ती कर्मचारीहरू इटाली, भारत, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स र मलेसिया भ्रमणमा गएका हुन्।

सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित मन्त्रालयअन्तर्गतका विभाग, निर्देशनालय, डिभिजन तथा आयोजनाका अधिकांश प्रमुख विदेश भ्रमणमा छन्। ती कर्मचारीहरू इटाली, भारत, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स र मलेसिया भ्रमणमा गएका हुन्। तालिम तथा अवलोकनका नाममा सिँचाइका कर्मचारी विदेश भ्रमणमा निस्केका हुन्। सरकार, विश्वबैंक तथा एसियाली विकास बैंक (एडिबी) ले सिँचाइका विभिन्न आयोजनालाई उपलब्ध गराएको अनुदान रकममा उनीहरू विदेश भ्रमणमा निस्केका हुन्। ८६ कर्मचारीले ६ मुलुकको भ्रमणका लागि २ करोड २५ लाख रुपैयाँभन्दा बढी छुट्याइएको छ।

'मन्त्रालयका ८६ जना कर्मचारी विदेश भ्रमणमा हुनुहुन्छ। उहाँहरू तालिम तथा अवलोकन भ्रमणका लागि इटाली, भारत, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स र मलेसिया जानुभएको हो,' सिँचाइ मन्त्रालयका प्रवक्ता सागरकुमार राईले नागरिकसँग भने, 'उहाँहरू सरकारद्वारा स्वीकृत कार्यक्रममा सहभागी हुन जानुभएको हो।'

सिँचाइका ३७ जना इटाली, ३० जना भारत, १७ जना थाइल्यान्ड तथा इन्डोनेसिया, फिलिपिन्स र मलेसियामा एक/एक जना कर्मचारी गएका छन्।

इटाली पुगेका ३७ जना कर्मचारीका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। उनीहरूको खाने, बस्ने र हवाई टिकटमा लाग्ने सबै खर्च यसैमा पर्छ। इटाली जाने कर्मचारीको १४ दिने तालिम तथा अवलोकन कार्यक्रम छ। इटालीको टुसिया विश्वविद्यालयले आयोजना गरेको 'सस्टेनेबल इरिगेसन विथ इम्फासिस् अन माउन्टेन इरिगेसन सिस्टम' विषयक कार्यक्रममा सहभागी हुन उनीहरू त्यहाँ पुगेका हुन्। इटाली पुगेका कर्मचारीको खर्च विश्वबैंक र एडिबीले सिँचाइका विभिन्न आयोजनालाई उपलब्ध गराउने अनुदान रकमबाट व्यहोरिने प्रवक्ता राईले बताए। एडिबीले जलसाधन योजना तयारी सुविधा आयोजना (डब्लुआरपिपिएफ) लाई उपलब्ध गराएको अनुदान सहयोग र विश्वबैंकले सिँचाइ तथा जलस्रोत व्यवस्थापन परियोजनाअन्तर्गत रानीजमरा सिँचाइ आयोजनालाई उपलब्ध गराएको अनुदान सहयोगबाट इटाली पुगेका कर्मचारीको खर्च व्यहोरिनेछ।

एक साता लामो भारत भ्रमणमा रहेका ३० जनालाई इसिमोड नामक संस्थाले लगेको हो। नयाँ प्रविधिमा आधारित सिँचाइबारे जानकारी गराउन इसिमोडले ३० जना सिँचाइका कर्मचारीलाई भारत लगेको प्रवक्ता राईले बताए। भारत जाने कर्मचारीको आतेजाते हवाईखर्च नेपाल सरकारले व्यहोर्ने र भारतमा रहँदा खानेबस्ने व्यवस्था इसिमोडले गरेको हो। भारत गएका कर्मचारीलाई सरकारले हवाई टिकट खर्चका लागि १५ लाख रुपैयाँ प्रदान गरेको छ।

थाइल्यान्ड र इन्डोनेसिया जाने १७ कर्मचारीका लागि खर्च ६० लाख रुपैयाँ छुट्याइएको छ। यो खर्च विश्व बैंकले रानीजमरा सिँचाइ आयोजनालाई उपलब्ध गरेको अनुदान सहयोगबाट कटौती गरिनेछ। 'यो वर्ष पूरा हुने आयोजनालाई आएको अनुदान रकमबाट कार्यक्रम बनाइएको हो। यो रकम खर्च नगरे फिर्ता हुन्थ्यो, त्यसैले सदुपयोग होस् भनेर तालिम तथा अवलोकन कार्यक्रममा लगाइएको हो,' प्रवक्ता राईले भने।

भारतमा नयाँ प्रविधिमा आधारित सिँचाइ व्यवस्था हेर्न, थाइल्यान्ड तथा इन्डोनेसियामा धानखेती हेर्न र इटालीमा भिरालो भूभागमा हुने विभिन्न प्रकारका खेतीको अवलोकन गर्न कर्मचारी ती देश पुगेका हुन्। 

प्रकाशित: १३ श्रावण २०७४ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App