काठमाडौं- काठमाडौं उपत्यकास्थित सडकका खाल्डा माटोले मात्र पुरेर झारा टार्ने काम भएको छ। प्रधानमन्त्री कार्यालयले बिहीबार गरेको अनुगमनमा अधिकांश ठाउँका खाल्डा पुर्न माटोमात्रै प्रयोग गरेको भेटिएको हो। सडकका खाल्डा पुर्न झारा टार्ने काममात्रै गरेको पाइएको प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए। माटोले मात्र खाल्डा पुरेर झारा टारेको भन्दै प्रधानमन्त्री कार्यालयले ती खाल्डा गिटी हालेर पुर्न निर्देशन दिएको छ।
'केही सुधार त देखिएको छ तर खाल्डा पुर्न अधिकांश ठाउँमा माटो प्रयोग भएको पायौं, माटोले मात्रै पुरेका स्थानमा फेरि पुर्न निर्देशन दिएका छौं।'
प्रधानमन्त्री कार्यालयका सचिवसहितको टोली बिहीबार अनुगमनका लागि खाल्डा पुर्न तोकिएको २१ स्थानमा पुगेको थियो। खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च सरकारी अधिकारीले ६० प्रतिशत काम सकिएको प्रतिवेदन बुझाएपछि त्यसमा शंका लागेर प्रधानमन्त्री कार्यालयले अनुगमन गरेको हो। अनुगमन टोलीले नयाँ बानेश्वर–पुरानो बानेश्वर, गौशाला–चाबहिल, चुच्चेपाटी–बौद्ध, बालाजु–नारायणगोपालचोक, लाजिम्पाट–लैनचौर, सुन्धारा–त्रिपुरेश्वर–टेकु, माइतीघर–बबरमहललगायत क्षेत्रका खाल्डा अवलोेकन गरेको थियो। अनुगमन टोलीमा स्थानीय विकास मन्त्रालयका सचिव, खानेपानी तथा सरसफाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि सामेल थिए।
'हामीले गत शुक्रबार गरेको अनुगमनभन्दा केही सुधार त देखिएको छ तर खाल्डा पुर्न अधिकांश ठाउँमा माटो प्रयोग भएको पायौं,' सहसचिव रेग्मीले भने, 'माटोले मात्रै पुरेका स्थानमा फेरि पुर्न निर्देशन दिएका छौं।' उनले आउँदो आइतबार फेरि अनुगमन गर्ने बताए। 'माटो प्रयोग भएकै कारण चुच्चेपाटी–बौद्धमा ठूलो समस्या आएको छ,' सहसचिव रेग्मीले भने, 'ती ठाउँमा हामीले लो डस्ट मोडालिटीबाट खाल्डा पुर्न निर्देशन दिएका छौं।'
यसअघि सचिवहरूले ६० प्रतिशत सडकका खाल्डा पुरेर सकियो भन्ने रिपोर्ट पठाए पनि स्थलमा पुग्दा खासै काम नभएको प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले जानकारी दिए। उनले माटोको प्रयोग गरेको ठाउँमा गिटी प्रयोग गर्न निर्देशन दिएको बताए। 'काम नभएको होइन धेरै ठाउँमा काम भएको छ,' उनले भने, 'तर काम कच्चा किसिमबाट भएकोले धेरैजसो ठाउँमा दोर्याएर खाल्डा पुर्न निर्देशन दिएका छौं।' उनले वर्षात्को समयमा स्थायी पिच गर्न नसक्ने भए पनि कोल्ड मिक्सचर तरिकाबाट खाल्डा पुर्न निर्देशन दिएको बताए।
जिम्मेवारी पाएका सचिवहरुले निरन्तर काममा नखटिँदा बितेका ११ दिनमा खासै काम देखिएको छैन। बिहीबारसम्म कालिकास्थान–अनामनगर, त्रिपुरेश्वर–थापाथली—माइतीघर, गौशाला–मित्रपार्क, महाराजगन्ज–कलंकी, गौशाला–चाबहिल, लैनचौर–लाजिम्पाट, महारागन्ज–बाँसबारी, चाबहिल–धोबीखोला, थापाथली–मैतीदेवी, महाराजगन्ज–बसुन्धारा, जमलचोक–रत्नपार्क, बालाजुलगायत ठाउँका खाल्डा पुरेको बताए पनि यी ठाउँमा खाल्डा उप्किएर उस्तै भएका छन्।
जिम्मा पाएको १२ औं दिनसम्म केशरमहल–लाजिम्पाट, चाबहिल–बौद्ध, महाराजगन्ज–बूढालिकण्ठ, तीनकुने–बानेश्वर, रातोपुल–गौशाला, गौरीघाट–गौशाला, चाबहिल–चुच्चेपाटी, तीनकुने–कोटेश्वर, रत्नपार्क–सिनामंगल, हात्तीसार–गौशाला, रातोपुल–गौशाला, जयबागेश्वरी–कालोपुल, त्रिपुरेश्वर–कलंकी, लैनचौर–सोह्रखुट्टेलगातय सडकका खाल्डा पर्न बाँकी छन्।
स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले अबको तीन दिनभित्र मुख्य सडकका खाल्डा पुरेर सकिने दाबी गरे। 'काम गर्नुपर्ने ठाउँ धेरै छन्,' उनले भने, 'तर समय थोरै भएकाले पनि समयसीमाभित्रै काम सक्न जुटेका छौं।' प्रधानमन्त्री कार्यालयका सहसचिव रेग्मीले १५ दिनभित्र उपत्यकाका मुख्य सडक खण्डमा पर्ने २१ स्थानका सडकका खाल्डा पुर्नुपर्ने भए तापनि काम गराई शैली राम्रो नभएको बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १ गते राजधानीस्थित सडकका खाल्डा १५ दिनभित्र पुर्न निर्देशन दिएका थिए।
प्रधानमन्त्री देउवाको निर्देशनपछि खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाको नेतृत्वमा काम सुरु भएको थियो।
प्रकाशित: १३ श्रावण २०७४ ०२:१२ शुक्रबार