काठमाडौं- स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न तत्काल प्रयास थालिने बताएका छन्। वीर अस्पतालको वार्षिकोत्सवमा बोल्दै मन्त्री पोखरेलले आजै प्रधानमन्त्री, उपप्रधानमन्त्री र शिक्षामन्त्रीसँग सहकार्य गरेर निष्कर्ष निकाल्ने बताए।
यसअघि सोही कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले अनशन बसेको दस पन्ध्र दिनपछि मात्र छलफल सुरु गर्नेगरेको स्मरण गराउँदै यसपटक तत्काल वार्ता समिति बनाएर समस्या समाधान गर्न आग्रह गरे। थापाको आग्रहपछि नवनियुक्त मन्त्री पोखरेलले यो समस्या छिट्टै समाधान गर्ने आश्वासन दिएका हुन्।
पूर्वमन्त्री थापाले यसपटक केसीले उठाएका प्रमुख मागमध्ये चिकित्सा शिक्षा विधेयक वर्तमान शिक्षामन्त्री पोखरेल रहँदा नै तयार गरिएको भन्दै अतिरिक्त पहल गर्नुपर्ने बताए। उनले चिकित्सा शिक्षा ऐन पास गरेर सधैंका लागि अनसन बस्नैनपर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे।
संसदीय समितिको सभापति र प्रधानमन्त्रीलाई समेत भेटेर आफूले सो आग्रह गरेको थापाले जानकारी दिए। वीर अस्वपताल १२७ वर्ष पूरा गरेर १२८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित भएका थिए। उनी सुरुमै बोलेर फर्किएका थिए।
प्रकाशित: १२ श्रावण २०७४ ०८:१५ बिहीबार