coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अधुरै रह्यो डिनाको सपना

काठमाडौं- कला इतिहासविद् डा. डिना वाङदेलको निधनले नेपाली कला क्षेत्र शोकमग्न बनेको छ। कलाकार लैनसिंह वाङदेलकी एक्ली छोरी डिनाले बाबुकै बाटो पछ्याउदै कलाकारितामा अघि बढेकी थिइन्।

डिनाको ५४ वर्षको उमेरमा मंगलबार बिहान साढे ११ बजे अमेरिकामा निधन भएको हो। लामो समयदेखि उनी नाकको समस्याले ग्रस्त थिइन्। अस्वस्थ भएकै बेला उनलाई मेनेन्जाइटिसले च्यापेको थियो। पछिल्लो समय उनमा नाकको क्यान्सर देखिएपछि उनी थलिएकी थिइन्।

भर्जिनिया कमनवेल्थ विश्वविद्यालयको कतारस्थित कला विभागकी प्रमुख रहेकी डिनाको पारानसल स्क्वमिओस साइनोसिस क्यान्सरबाट निधन भएको अमेरिकाबाट पत्रकार रमा सिंहले जनाएकी छिन्। रुघाखोकी बिग्रिएपछि त्यसको शल्यक्रियाका लागि बाङ्देल दुई साताअघि अस्पताल भर्ना हुँदा  शल्यक्रियापछिको संक्रमणले उनमा मेनेन्जाइटिस देखिएको थियो। ओहायो युनिभर्सिटी अमेरिकाबाट कला इतिहासमै विद्यावारिधी गरेकी बाङ्देलको पढाइ अमेरिकामै युनिभर्सिटीबाट सम्पन्न गरेकी थिइन्।

बुबा वाङदेलको स्मृतिमा नेपालमा कला संग्रहालय खोल्ने उनको सपना थियो । ‘नेपाल फर्केर कलाको सेवा गर्ने इच्छा धेरैपटक व्यक्त गरेकी थिइन्,' उनको निकटकी साथी संगीता थापाले भनिन्, ‘बुबाको नाममा संग्रहालय खोल्ने उनको सपना अधुरै रह्यो।' डीनाले अर्को वर्ष भियनामा लैनसिंहका कला प्रदर्शनी गर्ने तयारी गरिरहेको पनि थापाले बताइन्।

चारमहिना अघि बिरामी भएकी बेला पनि कलाकारिताको भव्य प्रदर्शनी टि्रएनालेमा सहभागी हुन डीना नेपाल आएकी थिइन्। ‘त्यतिखेर उनी यहाँ आउँदा उनको भर्खरै अपरेसन भएको थियो, थेरापी भइरहेको थियो,' संगीताले भनिन्, ‘यस्तोमा आउँदिनन् जस्तो लागेको थियो तर आइपुगिन्। उनको कलाप्रतिको प्रेमको यो एउटा दृष्टान्त थियो।'

उनले एकहप्ताअघि मात्रै क्यान्सर भएको सुनेकी थिइन्। ‘उमेर धेरै नभएकाले रोगसँग लडेर जित्छिन् भन्ने सोचेकी थिए,ँ' थापाले मलिन स्वरमा भनिन्, ‘तर मृत्युले जितेर हामी माझबाट लग्यो।' दक्षिण एसियाली कलाका विषयमा बृहत अध्ययन नै गरेको डीना यसक्षेत्रको कलासँग निकै निकट थिइन्।

नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय पनि डीनाकी मिल्ने साथी हुन्। 'वाङदेल दाइ हुँदा देखिकै चिनजानको हो मेरो,' उपाध्यायले भनिन्, 'उहाँको घरमा जाँदा डीनसँग बसेर घन्टौं गफिन्थे। अघिल्लो वर्ष उपाध्यायको छोरीको निधनपछि नेपाल कला परिषद्मा भेट हुँदा अँगालो मारेर रोएका थियौं।

‘डीनाको निधन भयो भन्दा मैले पत्याइन्। अकस्मात कोही बित्दाको मैंले पनि अनभूत गरेकी छु। त्यसैले पत्याउन करै लाग्यो,' उपाध्यायले सुनाइन्। उनको निधन नेपालका कला जगत्को निम्ति अपूरणनीय क्षति भएको उपाध्यायले बताइन्।

उपाध्यायका अनुसार अमेरिकामा परिवारसहित बसे पनि नेपाली कलाको उत्थानका लागि डिना हरदम लागिरहन्थिन्। विगत दुई तीन महिना अघिमात्र उनले जर्मनको कला अष्टेे्रलियामा प्रदर्शनी गरेकी थिइन्।

‘नेपालको कलालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याएर ख्याती कमाएकी डिनाले हिमालय र बौद्ध कलाका क्षेत्रमा काम गरेकी थिइन्। फ्रान्सको कला संग्रहालय 'म्यूजे गिमे' सँगको सहकार्यमा नेपाली कलालाई विश्वका विभिन्न सहरमा प्रदर्शन गर्ने उनको योजना थियो।

नेपाल कला परिषद्की बोर्ड अफ डाइरेक्टर, नेपालको ग्रामीण क्षेत्रको शिक्षामा काम गरिरहेको संस्था रिड ग्लोबलकी ट्रष्टिका रूपमा समेत डिनाले काम गरिरहेकी थिइन्।

नेपाली कलाको विकासमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण रहेको थाहा पाएकी डीनाले नयाँ पुस्ताका कलाकारलाई अघि बढाउन सधैं प्रोत्साहन दिने गरेको कलाकारहरू सुनाउँछन्। ‘कलाको कसरी विकास गर्ने भनेर हामीसँग सधैं सल्लाह र छलफल गर्नुहुन्थ्यो,' प्रज्वल शाक्यले भने, ‘नेपाली कला विश्वमै सुन्दर रहेकाले यसलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउनुपर्छ भनेर हौस्याउनुहुन्थ्यो।' पारिवारिक रूपमा पनि शाक्यसँग निकट डिना उनकी आमा अन्जना शाक्यकी मिल्ने साथी थिइन्।

'प्रदर्शनी गर्नुपर्दा म क्युरेट गरिदिन्छु भनेर अघिसर्ने हुँदा पनि नयाँ पुस्तामाझ लोकप्रिय हुनुहुन्थ्यो। उहाँको निधन भयो भन्दा विश्वास नै लागेन,' शाक्यले भने, 'दुई महिनाअघि उहाँको श्रीमानेसँग दोहामा भेट हुँदा पनि उपचारपछि आराम गरिरहेकाले राम्रै छ भन्ने थाहा पाएको थिएँ।'

डिनाले एन्टिक आर्टका विषयमा अध्ययन गरेर 'सर्कल अफ ब्लेस' तथा 'ज्वेल अफ नेवा आर्ट' शीर्षकका दुई पुस्तक निकालेकी छिन्।  विभाकर शाक्यसँग विवाह गरेकी डिनाका दुई छोरा छन्।

नेपाली कलामा अतुलनीय योगदान दिनेमध्ये डिना एक अमूल्य रत्न रहेको कलाकार तथा काठमाडौं विश्वविद्यालय सेन्टर फर आर्ट एण्ड डिजाइनका प्रोग्राम कोअर्डिनेटर सुजन चित्रकारले बताए। चित्रकारले आफ्नो फेसबुकमा लेखेका छन् 'उहाँको रिक्तता भर्न नेपाली कलाले अब अर्को युग कुर्नुपर्नेछ। नेपाली कलालाई ठूलो क्षति भएको छ।'

प्रकाशित: १२ श्रावण २०७४ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App