१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आयोजनाको बजेटमा विदेश सयर

दिलबहादुर छत्याल/योगेश रावल

कैलाली- नयाँ आर्थिक वर्षको सुरुआतसँगै राष्ट्रिय गौरवको रानीजमरा सिँचाइ आयोजनाको बजेटबाट सिँचाइ मन्त्रालय, विभाग र आयोजनाका कर्मचारी विदेश भ्रमणमा गएका छन्। मन्त्रालयबाट एक, विभागबाट तीन र आयोजनाको कार्यालय टीकापुरबाट प्रमुख शुसिलचन्द आचार्यसहित सात गरेर ११ जना कर्मचारी इटालीभ्रमणमा गएका छन्।

दुई कर्मचारी र ६ जना उपभोक्ता गरी आठजनाको छुट्टै टोली पूर्वी एसियाको भ्रमणमा गएको छ। आयोजनाका निमित्त प्रमुख बाबुराम सुवेदीले विश्वबैंकको सहमतिमा बनेको कार्यक्रमअनुसार १२ दिने तालिमका लागि इटाली गएको बताएका छन्।'विश्वबैंकको नो अब्जेक्सन लेटर र अनुसार नै इटालीमा तालिमका लागि कर्मचारी गएका हुन्, घुम्न भने गएका होइनन्,'उनले भने। 

युनिभर्सिटी अफ टुस्कियामा तालिम लिन आयोजनाका ६ कर्मचारी गएको उनले बताए। मन्त्रालयका एक, विभागका तीन र आयोजनाका प्रमुख गरेर पाँचअन्य कर्मचारी उनीहरुसँगै अनुगमनका लागि गएको उनको भनाइ छ।

अन्य मन्त्रालय जस्तो बजेट सिध्याउन नभई कार्यक्रमअनुसार तालिममा गएकाले अहिले अन्य कार्यालयको मिडियामा आएको जस्तो नरहेको उनले प्रस्टीकरण दिए।'अन्य ठाउँमा भ्रमणमा गएका होलान्, सबैलाई एकै घानमा हालिदिनु भएन,'उनले भने,'तालिम आवश्यक छ, तालिमका लागि जानुपर्छ, त्यसैले गएका हुन्।' आयोजनाको कार्यक्रमअनुसार गत वर्ष नै पठाउनुपर्नेमा ढिलाइ भएर अहिले पठाइएको उनको भनाइ छ। तालिमका लागि विदेश नपठाउँदा विश्वबैंकले फैफियत लेख्ने गरेको उनले बताए। ६ जना कर्मचारीलाई तालिम दिँदा मन्त्रालय, विभागबाट कर्मचारी किन गए? उनको जवाफ छ,'मन्त्रालय, विभागका कर्मचारीपनि अनुगमन गर्न जानुपर्छ।' उनले कर्मचारी तालिमका लागि विदेश जान विनियोजन गरेको यकिन बजेट खुलाएनन्। 'यकिनअहिले याद भएन,करिब ८०–९० लाख रहेको हुनसक्छ,'उनले भने।

रानीजमरा सिँचाइ आयोजनाको बजेटबाट बर्सेनि विदेश भ्रमण जाने गरेका छन्। विदेशका आयोजना अनुगमन भनेर बर्सेनि उपभोक्तासहितको टोली जाने गरेको आयोजनाका पूर्व डिई रणबहादुर बमले बताए। 'तीनवर्षअघि म पनि १० जनाको टोलीमा थाइल्यान्ड गएको हुँ,'उनले भने,'अनुगमनका लागि बजेट छुट्ट्याएको हुन्छ।' विदेशका आयोजना हेर्न प्रत्येक वर्ष भ्रमणमा जाने गरेको उनको भनाइ छ।

आयोजनाको काम ६५ प्रतिशत

राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको पहिलो चरणको ६५ प्रतिशतमात्र काम पूरा भएको छ।आठवर्षमा सिध्याउने लक्ष्यसहित यो आयोजना ०६८/६९ मासञ्चालन भएको हो। 'बजेट खर्चको हिसाबले ६५ प्रतिशत काम पूरा भएको छ,'निमित्त प्रमुख सुवेदीले भने।बजेट खर्च ६५ प्रतिशत भएपनि काम ७० प्रतिशत भइसकेको उनको दाबी छ। इन्टेक निर्माण भइसकेको छ। मूलनहरको ६० प्रतिशत काम भइसकेको छ। फिडर नहर करिब ९० प्रतिशत काम भएको उनले बताए। यसैगरी। अन्य संरचनाको काम भइरहेको उनले बताए। कृषि सडक, हाइड्रोपावर लगायत अन्य संरचना पनि यो आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने छ।

पहिलो चरणको काम ०७६/७७मा सम्पन्न गरिसक्नुपर्ने लक्ष्य रहेको उनको भनाइ छ। पहिलो चरणको काम सम्पन्न भएपछि खेतमा पानी पुग्नेछ। बाहिर ढिलो काम भयो भन्ने गरिएपनि काम लक्ष्य बमोजिम भएको उनले बताए। द्वन्द्वताका साथै टिकापुरमा भएको आन्दोलन लगायत कारणले काममा अवरोध भएकाले केही ढिलाइ भएको उनको भनाइ छ। आयोजनाको काम सफल रुपमा अघि बढेको उनी बताउँछन्।'विश्व बैंकले पनि यसलाई सफल आयोजनाको रुपमा लिएको छ,'उनले भने। यो आयोजनामा बर्सेनि विनियोजन भएको बजेट पूरा नभएर फ्रिज जाने गरेको स्थानीय बताउँछन्।'लक्ष्य बमोजिम काम भएको भए बजेट फ्रिज जानु नपर्ने थियो,'स्थानीय प्रमोद पाठक बताउँछन्।

खेतमा पानी नपुगेकाले किसानलाई अहिलेसम्म यो आयोजनाले छोएको छैन।'बोरिङ गरेर धान रोपेका छौं,'टीकापुर नगरपालिका–२, राजीपुरका किसान सिद्ध ठकुल्लाले भने,'कहिले आयोजना बनेपछि पनि खेतमा पानी पुग्ने हो कि होइन पत्तो छैन।'

कैलालीको कर्णाली चिसापानीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको मुहान इन्टेक बनाइएको छ। यहाँबाट पाँच कटाक्षसम्म पाँच किलोमिटर मूल नहर बनाइने छ। अहिले सवा तीन किलोमिटर बनिसकेको सुवेदीको भनाइ छ।

यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो। पहिलो चरणको काम सम्पन्न भएपछि दोस्रो चरणको कामका लागि सम्झौता हुने सुवेदी बताउँछन्। 'पहिलो चरणको काम सम्पन्नपछि दोस्रो चरणको काम के के हुने भनेर निर्क्यौल गरिने छ,'उनले भने। कैलालीको पूर्वी क्षेत्रको ४० हजार हेक्टर भूभागमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले आयोजना निर्माण सुरु भएको हो। आयोजना सम्पन्न भएपछि कृषि उत्पादन वृद्धिमात्र हुने छैन, खाद्यान्नको भण्डार मानिने कैलालीको खाद्यान्न बाली उत्पादन उल्लेख्य रुपमा वृद्धि हुने छ।

नेपाल सरकार, विश्व बैंक र स्थानीयको लगानीमा आयोजना निर्माण भइरहेको छ। करिब १२ अर्ब रुपैयाँको आयोजनामा सात अर्ब नेपाल सरकार, पाँच अर्ब विश्व बैंक र १० करोड स्थानीयको लगानी रहेको निमित्त प्रमुख सुवेदीले बताए।

प्रकाशित: १२ श्रावण २०७४ ०५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App