८ वैशाख २०८१ शनिबार
अर्थ

‘असारे विकास'ले बेहाल

इलाम-  सदरमुकामको मालापथबाट कुलधारास्थित मेची राजमार्ग जोड्ने कच्ची सडकमा ढुंगा बिछ्याएर हिँड्डुल गर्नै कष्टकर बनाइएको छ। छँदाखाँदाको सडक ‘सोलिङ'का नाममा अझ गुणस्तरहीन बनाइएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्।

 करिब एक किलोमिटरको यो सडकमा डिभिजन सडक कार्यालयले सोलिङ गराएपछि सवारी साधन गुड्नै छाडेका छन्। बुधबार बिहान भेला भएका कुलधारास्थित दुई टोल विकास संस्थाका प्रतिनिधि र स्थानीयले सोलिङका नाममा डिभिजन कार्यालयले ‘बजेट सक्ने काममात्रै गरेको' भन्दै विरोध जनाए। उनीहरूले केही हिलो नै भएपनि चारपांग्रे र दुईपांग्रे सवारी साधन चलिरहेको सडकमा सोलिङ गरिएपछि चाहिँ बालबालिका, अपांग र वृद्धवृद्धा पैदल हिँड्नसमेत नसकेको गुनासो गरे। सोलिङ गर्नुअघि यो सडक भएर गुड्ने सवारी साधन अहिले हिँड्न सकेका छैनन्। नजिकैका उपभोक्तासमेत आफ्नो सवारी साधनमा कतै जानुपर्दा वैकल्पिक र लामो बाटो प्रयोग गर्न बाध्य छन्। 

 ‘सडकमा ढुंगा त छापिएको छ तर यति उबडखाबड छ कि मान्छे पैदलै हिँड्नसमेत सक्दैन,' स्थानीय सुवास निरौलाले भने, ‘सडकमा सोलिङ गर्दैगर्दा चित्त नबुझेर हामी डिभिजन कार्यालयमा डेलिगेसनसमेत गयौं। तर, कार्यालय प्रमुखले हाम्रो आग्रह बेवास्ता गरिदिए। यहाँ आएर हेर्नसम्म त हेरे तर उनले हेरिकन पनि काममा कुनै गुणस्तर कायम भएन, बिग्रिएको बिग्रियै भयो।'

 सदरमुकाम मात्र नभई नजिकैको महभीर गाउँ, सोयाङ र नयाँबजारसम्मका दर्जनौ सवारी साधन तथा हजारौं पैदलयात्रीले प्रयोग गरिरहेको यो सडक गुणस्तरहीन भएकै कारण अहिले प्रयोगविहीनजस्तै छ। इलाम बजारको ट्राफिक व्यवस्थापनमा पनि वैकल्पिक मार्गका रूपमा रहेको यो सडकको काम ‘आँखामा छारो हाल्ने' हिसाबले मात्रै गरिएको भन्दै स्थानीयले विरोध जनाएका हुन्। स्कुल–कलेज जाने बालबालिका र विद्यार्थी निकै कष्ट झेलेर सडक पार गर्न बाध्य छन्।

 स्थानीय विद्यार्थी नेता प्रकाश निरौलाले असारमा सडकमा जमेको हिलो र भर्खर खनेको माटोमाथि ढुंगा राखेर सोलिङ गरेको भन्दै यो सडकमा बजेट पचाउने काममात्र गरिएको बताए। ‘यो सडकमा सोलिङ गरिरहेका बेला अनुगमनकारी निकाय कहाँ थिए? छँदाखाँदाको सडक बिगारेर सम्बन्धित पक्ष चुप लाग्न मिल्छ?' उनले अहिले गरिएको सोलिङ भत्केर जान थालेको भन्दै त्यसले अहिलेको वर्षासमेत नथाम्ने बताए। उनले सडकका लागि कति रकम आएको थियो र कसरी बिल–भरपाई पास गरियो भन्ने खोजीको विषय भएको बताए।

 गत असारमा हतार–हतारमा गरिएको सोलिङ निर्माण गरिनसक्दै भत्किन थालिसकेको छ। सडकभन्दा नालीको भाग अग्लो भएपछि वर्षामा बग्ने पानी सडकभित्रैबाट बग्ने गरेको छ भने मेची राजमार्गसँग जोडिएको भागमा सडककै भलले सोलिङ भत्किएर जान थालेको छ। अझ ‘लाजमर्दाे' पक्ष चाहिँ के छ भने सडकका लागि उठाइएको पर्खाल र ‘प्याराफिट' भन्दा करिब दुई मिटर परबाट मात्रै सडकको सोलिङ गरिएको छ। त्यो पनि खनेर पुरिएको कच्चा माटोमाथि।

 ‘यहाँ ठेकेदारले काम लगाएका कामदार पनि केटाकेटी मात्रै देखिन्थे,' स्थानीय सूर्याेदय टोल विकास संस्थाका अध्यक्षसमेत रहेका होम ढुंगानाले भने, ‘केटाकेटीले गरेको काम केटाकेटी खेलेजस्तै मात्र छ। विकासका नाममा चरम लापर्बाहीको नमुना हो यो।' उनले यो सडकको काम ज्यादै लाजमर्दाे रहेकाले तुरुन्त मर्मत नगरिए टोलबासी चुप लागेर नबस्ने चेतावनीसमेत दिए। यो सडक भएर बालबालिका स्कुल पठाउन ज्यादै समस्या भइरहेको स्थानीय अभिभावकले गुनासो गरे।

 स्थानीय अगुवा कोमल निरौलाले ज्यादै गुणस्तरहीन ढंगले सोलिङ गरिरहेका बेला स्थानीयको निगरानीमा सम्बन्धित पक्षले चासो नदिएको बताए। ‘केटाकेटी खेलेजस्तो गरी राखेका ढुंगा सबै भत्काइदिएर सम्बन्धित पक्षको ध्यानाकर्षण गराऔं कि भनेरसमेत सोच्न बाध्य भयौं हामी,' उनले भने, ‘तर, एउटा फटाइँमाथि अर्काे अमानवीय अभ्यास नगरौं भनेर चुप लागेका हौं।' उनले सडक मर्मत भइरहेका बेला कामदारलाई स्थानीयले दिएको सुझाव पनि उनीहरूले नमानेको गुनासो गरे।

 सूर्याेदय र बालागुरु टोल विकास संस्थाका पदाधिकारी तथा स्थानीय उपभोक्ताको भेलामा सहभागी सबैले सदरमुकामको महŒवपूर्ण मानिने मालापथ–कुलधारा सडकको यही अवस्था बारम्बार हेर्न नसकिने भन्दै पुनः डिभिजन कार्यालयमा डेलिगेसन जाने बताए। उनीहरूले विकासका नाममा ‘असारले विकास' गरेर बजेट दुरुपयोग गर्नु न्यायसंगत भएको जनाए। बालागुरु टोल विकास संस्था अध्यक्ष तिलचन नेपालले उपभोक्ताको अनुरोध बेवास्ता गर्दै सडकको सोलिङमा चरम लापरबाही गरिएको गुनासो गरे।

 स्थानीय अगुवा भक्त केसीले टोलबासीकै पहलमा सडकका लागि बजेट आएको तर कामको गुणस्तर चित्तबु‰दो नभएको बताए। ‘हामीले जस्तो सडक बन्ला भन्ने चाहेका थियौं, त्यस्तो भएन,' उनले भने, ‘पुनः यो सडकलाई गुणस्तरीय बनाउन डिभिजनलाई खबरदारी गर्नुपर्ने भएको छ।'

 सोलिङ ठेक्का लिएका नवीन तामाङले सडकको सोलिङ डिभिजनका इन्जिनियरले लगाएअनुसार काम गरेको दाबी गरे। ‘मेची राजमार्गसँग जोडिएको स्थानमा वाल र प्याराफिटभन्दा सोलिङ निकै उच्च हुनु हामी आफैंलाई पनि चित्त बुझेको छैन,' उनले भने, ‘तर, त्यो वाल अझ उच्च बनाउन प्राविधिक हिसाबले नमिल्ने भएकाले त्यही स्थानमा सोलिङ गर्नुपरेको हो।' उनले यो सडक चाँडै कालोपत्रे हुने भन्दै अहिलेको सोलिङ अस्थायी मात्र भएको दाबीसमेत गरे। उनले जेठ २० मा मात्रै यो कामको टेन्डर भएको र असारमै काम सक्नुपर्ने बाध्यता भएकाले काममा गुणस्तर कम भएको स्वीकार पनि गरे।

 डिभिजन सडक कार्यालयले यो सडकको सोलिङ र मेची राजमार्गसँग जोडिएको स्थानको पर्खालका लागि १४ लाख रुपैयाँ खर्च भएको जनाएको छ। यहाँको बिल–भर्पाईसमेत कार्यालयले पास गरिसकेको छ। ‘हाम्रो योजनामा त्यो सडकको वालमात्रै थियो, गतवर्षको सहरी सडकको केही रकम उब्रिएकाले त्यही सडक सोलिङ गरिदिउँ न त भनेर सोलिङको काम गरेका हौं,' डिभिजन प्रमुख शिवराज दाहालले भने, ‘तर, गरिएको सोलिङमा हिँड्न अप्ठ्यारो भएको भन्दै कार्यालयमा डेलिगेसनसमेत आएको थियो। ठेकेदारलाई अनुरोध गरेर त्यहाँ केही गाडी ग्राभेल हालिदिन भनेको छु।'

 उनले सडकको सोलिङ तोकिएभन्दा बाक्लोगरी बिछ्याइएको दाबी गरेपनि सडक भने उबडखाबड धेरै भएर हिँड्न निकै अप्ठ्यारो छ। ‘सडकका लागि लगाइएको वालको फाउन्डेसन कम भएकाले वाल बढाएर सडकको तहसम्म पुर्‍याउन नसकिएको हो,' प्रमुख दाहालले भने, ‘पछि त्यो सडकमा ढलान गर्दा वालको लेभलमा सडक नै होच्याउनु मात्रै त्यसको विकल्प हो, वाल बढाउन चाहिँ सकिँदैन।'

 डिभिजन कार्यालयका इन्जिनियरका अनुसार यहाँको पर्खालको फाउन्डेसन बढीमा १.९ मिटरको मात्रै छ। त्यो फाउन्डेसनमा चार मिटरको पर्खाल लगाउनु पनि सुरक्षित मानिँदैन। ‘अहिलेको पर्खाल नै ६ मिटरजतिको भइसकेकाले माटो कटिङ मात्रै अबको विकल्प हो,' प्रमुख दाहालले भने, ‘अस्थायी समाधानका लागि चाहिँ दसैंअघि नै काम सक्नेगरी केही गाडी ग्राभेल हालेर हिँड्न सहज बनाइदिने छौं।' उनले वर्षाका बेला ग्राभेल नपाइएकाले तत्काल मर्मत गर्न नसकेको दाबी गरे। तर, स्थानीय उपभोक्ता पोषक बानियाँले भने, ‘मैले सडकमा ग्राभेल हाल्न चाहिने बालुवा मसँग छ, लैजानू भन्दासमेत डिभिजनले वास्ता गरेको छैन।'

प्रकाशित: १२ श्रावण २०७४ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App