८ वैशाख २०८१ शनिबार
खेल

क्षतिपूर्ति विवादले लम्बिँदै एन्फा बैठक

काठमाडौं- थ्री स्टार क्लबलाई एएफसी एसिया कपको दोस्रो चरण खेल्न नपाएबापत क्षतिपूर्ति दिने विषयमा कुरा नमिलेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।

एन्फाको गल्तीका कारण राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार छनोट प्रतियोगिता पार गरे पनि एसिया कपको दोस्रो चरण खेल्नबाट वञ्चित भएको थियो।

थ्री स्टारले उक्त प्रतियोगिता खेल्न नपाएपछि दोषीमाथि कारबाही तथा उचित क्षतिपूर्ति नदिएसम्म कुनै पनि फुटबल गतिविधिमा संलग्न नहुने निर्णय लिएको थियो। थ्री स्टारले सुरुमा ६ करोड रुपैयाँ क्षतिपूर्ति मागे पनि पछिल्लो समय एन्फा र क्लब पदाधिकारीबीच १ करोड ५० लाख तथा तीनवटा मैत्रपूर्ण खेलमा अनौपचारिक सहमति भएको थियो। त्यही अनौपचारिक सहमतिलाई कार्यसमितिबाट अनुमोदन गराउनेसहित तीन महिनापछि हुने निर्वाचन र लामो समयदेखि गर्न नसकेको लिग आयोजना, महिला प्रतियोगिता, फुटसल गर्ने, भौतिक पूर्वाधारको अभावलगायतका विषय एन्फा बैठकका एजेन्डा थिए।

सबै विषयमा सौहार्दपूर्ण छलफल भए पनि थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा भने बैठकमा चर्काचर्की भएको सहभागीहरूले नागरिकलाई जानकारी गराए। तर एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले बैठक सौहार्दपूर्ण रूपमा अघि बढेको बताउँदै बिहीबारसम्ममा सबै विषयको टुंगो लाग्ने बताए।

'सबै एजेन्डामा विषय प्रवेश भयो। तर निर्णयमा पुग्न समय कम भयो। भोलि पनि बैठक निरन्तर हुनेछ। भोलि सब विषयमा निर्णय आउनेछ,' तुलाधरले नागरिकसँग भने।

केन्द्रीय सदस्य एवं फुटसल समितिका प्रमुख रमेश रायामाझीले थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा कार्यसमितिका सबै सकारात्मक भए पनि दोषीलाई कारबाही गरेर अघि बढ्नुपर्छ भन्ने र क्षतिपूर्ति मात्र दिनेबीच बुधबार सहमति जुट्न नसकेको बताए। 'थ्री स्टारलाई क्षतिपूर्ति दिनेमा सबै सकारात्मक छन्। तर केही साथीहरूले पहिला दोषीलाई कारबाही गरेर क्षतिपूर्तिको विषयमा थ्री स्टारसँग छलफल अघि बढाउनुपर्छ भन्नेमा जोड दिनुभयो,' रायमाझीले भने, 'अरू महिलाको प्रतियोगिता, लिग र फुटसल गर्ने लगायतका विषयमा सहमति जुटेको छ।'

रायामाझीका अनुसार भदौ २५ मा विशेष साधारणसभा गर्ने र त्यसले आगामी निर्वाचनको मिति तोक्ने लगायतका महŒवपूर्ण निर्णय लिने पनि सहमति भएको छ। एन्फा कार्यसमितिको पदावधि आउँदो कात्तिकमा सकिने भए पनि मंसिरको अन्त्य वा पुसको सुरुमा नयाँ चार वर्षे कार्यकालका लागि चुनाव गर्ने एन्फाको योजना छ।

एन्फाका मानार्थ अध्यक्ष टासी घले, उपाध्यक्ष वीरबहादुर खड्का, केन्द्रीय सदस्यहरू पंकजविक्रम नेम्वाङ, वसन्त अर्याल र सहमहासचिव किरण राईलगायतले दोषीमाथि कारबाही गरेपछि मात्र क्षतिपूर्तिको विषयमा प्रवेश गर्न सकिने अडान राखेपछि बुधबार सहमति नजुटेको बताइएको छ। उनीहरूले थ्री स्टारले एसिया कप खेल्न नपाएपछि गठित छानबिन समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाउनुपर्ने आवाज उठाएका थिए।

वीरबहादुर खड्का संयोजक तथा रमेश रायमाझी र सह महासचिव सञ्जीव मिश्र सदस्य रहेको छानबिन समितिले कर्मचारी गोकुल थापालाई मुख्य दोषी करार दिँदै प्रतिवेदन बुझाएको थियो। 'मुख्य दोष कर्मचारीको देखियो। यसमा थापा सबभन्दा बढी जिम्मेवार देखिए। त्यसपछि इमेल चेक गर्ने अर्का कर्मचारी वसन्त रिजालको पनि दोष देखियो,' प्रतिवेदनको विषयमा बुधबार बैठकमा छलफल भएको बताउँदै एक सदस्यले भने, 'कार्यालय सञ्चालनको कमान्डर महासचिव हो। त्यसैले इमेल नहेर्ने भनेर महासचिव (धीरेन्द्र प्रधान) पनि जिम्मेवारीबाट उम्कन नमिल्ने प्रतिवेदनमा उल्लेख छ। यससँगै एन्फामा चेन अफ कमान्ड कायम गर्न नसकेकोमा प्रतिवेदनले अध्यक्ष नरेन्द्र श्रेष्ठलाई पनि सचेत गराउनुपर्छ भनेको छ।'

प्रकाशित: १२ श्रावण २०७४ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App