७ वैशाख २०८१ शुक्रबार
खेल

प्रकाशको राष्ट्रिय कीर्तिमान

काठमाडौं- नेपाली खेलाडी प्रकाश केसीले एसियन युथ तथा जुनियर च्याम्पियनसिप भारोत्तोलन प्रतियोगिता राष्ट्रिय कीर्तिमान बनाएका छन्। लगनखेलस्थित आर्मीको कभर्डहलमा प्रकाशले जुनियर ६९ केजीमा कीर्तिमान बनाए। 

१८ वर्षे भारोत्तोलक प्रकाशले स्न्याचमा १०० केजी, क्लिन एन्ड जर्कमा १ सय ३२ केजी उठाउँदै कीर्तिमान बनाएका हुन्। यसअघि प्रकाश वैश्यको नाममा स्न्याचतर्फ ८२ केजी, क्लिन एन्ड जर्कमा ९७ केजीको राष्ट्रिय कीर्तिमान थियो।

यसै गरी ६९ केजी तौलसमूहमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेका सुरज वैद्यले स्न्याचमा ७५ केजी, क्लिन एन्ज जर्कमा ९५ केजी उठाए। सुरजले बुधबार आफ्नो व्यक्तिगत रेकर्डमा सुधार गर्न सफल भए। यसअघि उनले सातौं राष्ट्रिय खेलकुदको दौरान स्न्याचमा ६५ केजी, क्लिन एन्ड जर्कमा ८५ केजी उठाउने गरेका थिए।

कीर्तिमानले खेल करियरमा हौसला थप्ने प्रकाशले बताए। 'व्यक्तिगत स्तर सुधार गर्नु मेरा लागि सकारात्मक कुरा हो। यसले मेरो खेल करियरलाई सहयोग पुग्छ। भविष्यमा मलाई थप राम्रो गर्न हौसला थप्छ,' प्रकाशले भने, 'प्रतियोगितामा मैले राम्रो गर्ने प्रयास गरेको थिएँ। योजनाअनुसार प्रदर्शन राम्रो भयो।' प्रकाश सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता खेलाडी हुन्। उनले स्वर्ण जित्ने क्रममा स्न्याचमा ९५ केजी, क्लिन एन्ड जर्कमा १ सय २५ केजी उठाएका थिए। प्रकाशले थपे, 'पदक जित्न कडा परिश्रम गर्नुपर्छ। दक्षिण एसियाली खेलकुदमा मेरो पदक जित्ने लक्ष्य छ। त्यसका लागि मैले नियमित प्रशिक्षण गरिरहेको छु। कडा मिहिनेत गरिरहेको छु।'

यसै गरी नेपालमा भैरहेको एसियन स्तरको प्रतियोगितामा सुरजले पनि व्यक्तिगत प्रदर्शनमा सुधार गरेका छन्। १७ वर्षे सुरज १० कक्षामा अध्ययन गरिरहेका छन्। नेपालगन्जका सुरजले प्रतियोगितामा आफूले सोचेको भन्दा राम्रो प्रदर्शन गरेको बताए।  उनले भने, 'आफ्नो रेकर्डमा सुधार गर्दा खुसी छु। मेरा लागि यो प्रतियोगिता विशेष छ। मैले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलें। पहिलो पटक आफ्नो रेकर्डमा सुधार गर्छु भन्ने लागेको थिएन।'

सुरजले १४ महिनाअघि मात्र भारोत्तोलन खेलको प्रशिक्षण सुरु गरेको बताए। नेपाली टोलीका प्रशिक्षक जगदीश प्रधानले खेलाडीको समग्र प्रदर्शनबाट खुसी भएको बताए। प्रधानले भने, 'हाम्रो लक्ष्य खेलाडीको व्यक्तिगत रेकर्ड सुधार गर्नु थियो। त्यो खेलाडीले पूरा गरेका छन्। प्रतियोगितामा हामीले प्राप्त गरेको उपलब्धिबाट सन्तुष्ट छु।'

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा खेलाडीको मनोबल बढ्ने प्रधानले बताए। प्रधानले थपे, 'घरेलु समर्थकको अगाडि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा बेग्लै अनुभूति हुन्छ। खेलाडीको आत्मविश्वास बढ्छ। प्रतियोगितामा विश्वको उत्कृष्ट खेलाडीको खेल हेर्न पाउने भएकाले खेलाडीलाई फाइदा हुन्छ।'

जारी जुनियर एसियन प्रतियोगितामा नेपालको १३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। त्यसमा ११ खेलाडीको पहिलो अन्तराष्ट्रिय सहभागिता हो।

यसै गरी प्रतियोगितामा मंगलबार नेपालकी सन्जु चौधरी र कमला श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाएका थिए। पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी सन्जुले ग्रुप बीको ५३ केजी तौलमा स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ८० केजी गरी कुल १४० केजी भार वहन गर्दै राष्ट्रिय कीर्तिमानमा आफ्नो नाम लेखाउन सफल भएकी थिइन्।

उनले देवी चौधरीले सातांै राष्ट्रिय खेलकुदमा राखेको कीर्तिमानलाई भंग गर्दै राष्ट्रिय कीर्तिमानमा आफ्नो नाम लेखाएकी हुन्। चौधरीले कीर्तिमान कायम गर्न सकेकोमा खुसी व्यक्त गरेकी छिन्।

कमलाले दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ५८ केजी तौल समूहको जुनियर विधामा स्न्याचमा ६७ केजी, क्लिन एन्ड जर्कमा ८५ केजी गरी कुलमा १५२ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन्। उनले सातांै राष्ट्रिय खेलकुदमा स्न्याचमा ६६ केजी र क्लिनमा ७९ केजी गरी कुलमा १४५ केजी भार वहन गर्दै राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन्।

प्रकाशित: १२ श्रावण २०७४ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App