८ वैशाख २०८१ शनिबार
समाज

रंगेली–उर्लावारी राजमार्ग बगायो, सयौं परिवार बिस्थापित

रंगेली–उर्लावारी सडक खण्डको डाइनियास्थित भत्केको सडक। तस्बिरः चुमन बस्नेत

अजित तिवारी/चुमन बस्नेत
विराटनगर–बक्राहा खोलाको बाढीले रंगेली–उर्लावारी राजमार्गको १० मिटर कालोपत्रे सडक बगाएको छ। पूर्वी क्षेत्रको यात्राका लागि बैकल्पिक राजमार्गको रुपमा प्रयोग भइरहेको उक्त सडक खण्डको डाइनिया–७ भेडुवा थान नजिकको १० मिटर सडक बाढीले कटान गरेको छ।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार बाढीले सडक नै बगाएपछि आइतवार विहानैदेखि रंगेलीबाट उर्लावारीसम्मको सडक खण्ड अवरुद्ध भएको छ। स्थानीयहरुको सहयोगमा बाँसको भाटाको सानो पुल बनाएर पैदल यात्री, साइकलसम्मको आवागमन भने सुचारु छ।  

लगातारको बर्षाले बक्राहा खोलमा पानीको स्तह अत्याधिक बढेको छ। ‘कटान गरिएको सडक खण्डबाट पानी तीव्र गतिमा बगिरहेको छ,’ इलाका प्रहरी कार्यालय रंगेलीको कन्ट्रोलले भने, ‘पानीको वहाव कम नभएसम्म त्यहाँ बैकल्पिक व्यवस्था गर्न समस्या छ।’

पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका अनुसार लगातारको वर्षाले मोरङको विभिन्न खोलामा आएको बाढीमा सयौं घर डुबानमा परेको छ।

मोरङको मधुमल्लास्थित बक्राहा खोलाको बाढीले मधुमल्ला–५ बेतेनी गाउँस्थित बालुवाको अस्थायी बाँध भत्किदा दुई दर्जन घर डुबानमा परेको छ। डुवानमा परेका घरका मानिसहरुलाई अत्यावश्यक सामानसहित छिमेकी तथा आफन्तको घरमा सारिएको छ। बक्राहा खोलाको बाँध फुट्दा हसन्दह गाविस–३ र ५ मा अधिकांश घर डुबानमा परेको प्रहरीले जनाएको छ। हसन्दह–३ को ३० घर नै बाढीले बिस्थापित भएको छ। विराटनगर–१६ बखरीको सिमराही टोलको पनि २५ घर पनि डुवानले बिस्थापित भएको प्रहरीले जनाएको छ।

यस्तै, मोरङको गोविन्दपुर–८ खिरकीडाँगीको पनि ५० घर डुवानमा परेको छ। डाइनिया–७ का ३ घर डुवानमा पर्दा त्यहाँ बसोवास गर्ने १५ जना सडकमा त्रिपाल टाँगेर बसेका छन्।

डुवानमा परेका घरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्वसधारणलाई सुरक्षित स्थानमा सारेको छ। मोरङकै चिसाङ खोलामा आएको बाढीले केरुन–९ बस्ने दयाराम उरावको टाटीबेराले बनेको फुसको घर, गोठ तथा चार कठ्ठा खेत कटान गरेको छ । उरावको घर बाढीले बगाउँदा उनका ६ जना विस्थापित भएका छन्।

प्रकाशित: ९ श्रावण २०७३ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App