देश बिग्रेको बाह्य हस्तक्षेपले होइन

बिहिबार, १२ साउन २०७४, ०८ : ४७ डा. रामचन्द्र लामिछाने

लोकतान्त्रिक व्यवस्थामा मावअधिकार, कानुनी शासन, पारदर्शिता, दण्डहीनता, सामाजिक न्याय, विकास अधिकार आदि लोकतन्त्रका आधारभूत तत्व हुन्। लोकतन्त्र शब्द र कानुन मात्र होइन यो आचरण, व्यवहार र संस्कार हो। लोकतान्त्रिक व्यवहार, आचरण र संस्कारले मात्रै लोकतन्त्र दिगो र दरिलो हुन्छ। नयाँ लोकतान्त्रिक देशहरूमा लोकतान्त्रिक मूल्य–मान्यताहरूको विकास गर्न, लोकतान्त्रिक आचरण, व्यवहार र संस्कृति निर्माण गर्न तथा कानुन र पद्धतिहरूलाई व्यवहारमा लागु गर्न नेतृत्वको भूमिका अहं हुन्छ वा भनौँ नेतृत्वको आचरण र व्यवहारले नैै देशको समग्र लोकतान्त्रिक पद्धतिलाई प्रभाव पार्छ।

हामीले बुझ्नुपर्ने कुरा के हो भने आजको युगमा कसैले हाच्छियुँ गर्दैमा देश तथा व्यवस्था संकटमा पर्दैन।

संसारभरि नै लोकतन्त्रको प्रवर्धन र विकासको गति दुइटा प्रक्रियाले निर्धारण गर्छ। पहिलो, उच्च नेतृत्वको निगारानीमा नियम कानुन, पद्धति एवम प्रक्रियाहरूको कार्यान्वयनका कारण आमजनतालाई प्रशिक्षित गर्ने र सोही मुताबिकका आचरण, व्यवहार र संस्कृतिलाई राजनीतिक संस्कृतिमा रुपान्तरण गरेर सामाजिक संस्कृतिको निर्माण गरी जीवन पद्धति निर्माण गर्ने। अमेरिका, क्यानडा, बेलायत, पश्चिम युरोपियन देशहरू, जापान, अस्टे्रलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया आदि देशहरूमा यस प्रकारका लोकतान्त्रिक पद्धतिहरूलेे सिंगो समाजको जीवन पद्धतिलाई निर्धारण गरेको छ र उच्च पदस्थ र आम सर्वसाधरण जनताको बुझाइमा लोकतन्त्रको अर्थ र प्रतिफल समान रुपमा वितरण हुन्छ। यहाँ अत्यधिक जवाफदेही र जिम्मेवारी हर निकायमा प्रतिविम्बित हुन्छ। व्यक्तिको आकर्षण पदभन्दा पनि जिम्मेवारीप्रति बढी हुन्छ।

दोश्रो प्रकारको परिवर्तन आमजनताको चाहना मुताबिक हुन्छ। यस प्रकारको परिवर्तन प्रक्रियामा नेतृत्वको चेतनाको स्तरभन्दा जनताको चेतनाको स्तर बढी हुन्छ तर चतुर नेतृत्वले आफ्नो फाइदा र बेफाइदाका आधारमा परिवर्तनलाई स्वीकारेको स्वांग गर्दछ र नेतृत्व हत्याउँछ। नेतृत्वमा आइसकेपछि उसको आचरण, व्यवहार र चरित्र पुरानै अपरिवर्तित अवस्थाको हुन्छ। सिंगो समाज र देशलाई यथास्थितिमा नै राख्न चाहन्छ। नेतृत्वको व्यक्तिगत लाभ र हानिका आधारमा लोकतन्त्रलाई परिभाषित गरिन्छ र लोकतन्त्रका स्थापित मान्यता र मूल्यहरूलाई आफुखुसी व्याख्या गरिन्छ। जनताले नेतृत्वको आचरण र व्यवहारमा आलोचना गरेमा लोकतन्त्रमाथि आक्रमण भयो, लोकतन्त्र खतरामा छ जस्ता अफवाह फैलाउँछ।

यस्ता मुलुकहरूका राजनीति अस्थिरता, भ्रष्टचार, कुशासन चरम रुपमा मौलाएर जान्छ। नेपाललगायतका अति कम विकसित र अल्पविकसित देशहरूमा यस प्रकारका लोकतन्त्रको नमुना देख्न पाइन्छ। लोकतन्त्रलाई संवर्धन गर्ने प्रमुख संस्थाहरूले नै लोकतन्त्रको खिल्ली उडाएका हुन्छन्। शक्ति सन्तुलन र नियन्त्रणको नाममा नै लोकतन्त्रलाई अस्थिर र कमजोर बनाइन्छ। गाउँदेखि केन्द्रसम्म राजनीतिक पार्टीहरू, तिनका भ्रातृ संगठन प्रमुखहरू र कर्मचारीहरूले नै राज्यसत्ताको दुरुपयोग गर्ने प्रयास गर्छन्। आन्तरिक लोकतन्त्रको अभावमा मनपरितन्त्र फस्टाउँछ र आम सर्वसाधरणमा नैराश्य र आक्रोश बढेर जान्छ। फलस्वरुप, देशको शासन सत्ता सञ्चालन गर्ने सम्पूर्ण निकायप्रतिकोे विश्वास टुटेर जान्छ। यो नै लोकतन्त्रको सबैभन्दा ठूलो चीरहरण हो। यस्तो अवस्थामा चेतनशील जनताहरू संगठित भएर अक्षम र अदूरदर्शी नेतृत्वलाई विस्थापित गर्नु लोकतन्त्र सुदृढीकरणको एक मात्र विकल्प हो।

नेपाल जस्ता अति कम विकसित देशहरूमा बारम्बार लोकतन्त्रको खिल्ली उडाउने नेतृत्व नै बारम्बार नेतृत्वमा नै रहिरहन्छ। राजनीतिक पार्टीहरूमा सीमित वर्गका व्यक्तिहरूको पहुँच र नियन्त्रणमा रहने सांगठनिक खालको संयन्त्रले नेतृत्व निर्विकल्प रुपमा स्थापित हुन्छ र सबै लोकतान्त्रिक प्रक्रिया नेतृत्वकै वरिपरि घुमिरहन्छ जसले गर्दा सिंगो लोकतन्त्र नै नेतृत्व्ाको फाइदा र बेफाइदासँग सम्बन्धित रहन जान्छ। राजनीतिक कार्यकर्ताहरूको न्यून राजनीतिक चेतना, अत्यन्त अवसरवादी सोच, राजनीतिक भविष्यप्रतिको असुरक्षा र सीमित राजनीतिक लाभका खातिर नेताहरू जति नै अक्षम भए पनि त्यही नेतृत्वलाई स्थापित गराउने कार्यकर्ताहरूमा रहेको दास मनस्थितिको होडकाजीका कारण पनि लोकतन्त्र फस्टाउन नसकेको हो।

लोकतन्त्र एक वैज्ञानिक दृष्टिकोण हो भने उच्च प्रकारको राजनीतिक चरित्र, संस्कार र व्यवहार हो। लोकतन्त्रभित्रको अन्तर्निहित मर्म बुझ्न नसक्ने नेतृत्वले लोकतन्त्र सुदृढ गर्ने प्रक्रियाको नेतृत्व गर्न सक्दैन। भूमण्डलीकरण र सूचना तथा सञ्चारको तीव्र विकास तथा लोकतान्त्रिक देशहरूको शासन व्यवस्थाले ल्याएको तीव्र विकास, शान्ति, समृद्धि र सामाजिक न्यायको सिकाइबाट प्रभावित भएर आम नेपाली जनताको लोकतन्त्रप्रतिको चाहना फस्टाएर गएपछि बाध्य भएर यहाँको नेतृत्व पनि लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्न तयार भयो तर जब लोकतन्त्रलाई संस्थागत गरेर नयाँ राजनीतिक आचरण, व्यवहार र संस्कृति प्रदर्शन गर्नुपर्ने थियो, यसबेला नेतृत्व असफल सिद्ध भयो। नेपालमा लोकतन्त्र असफल भएको हो, यसको नेतृत्व मात्र असफल भएको हो।

लोकतन्त्रसँगसँगै सबै संघ–संस्थाहरू र निकायमा लोकतान्त्रिक  आचरणको विकास पनि अपेक्षित नै थियो। तर खालि शासन सत्ताको अगाडिको नाम लोकतन्त्र राख्ने तर आम राजनीतिक संस्कारको पुरानै सामन्तवादीकालीन सोच र शैलीले नेपालमा लोकतन्त्र सधैँ अलोकप्रिय र आलोचित रहिरह्या। खराब राजनीतिक आचरण र संस्कारले गर्दा नेपाली लोकतन्त्र निरन्तर रुपमा अस्थिर भयो र आक्रमणको सिकार भइरहेको छ। आफ्ना कमीकमजोरीहरू छोप्न र जनताको ध्यान अन्यत्र मोड्न नेताहरू बारम्बार लोकतन्त्रमा खतरा भएको बताउँछन् तर २०४७ सालदेखिकै लोकतन्त्रको इतिहासलाई विश्लेषण गर्ने हो भने नेपालको लोकतन्त्र सिर्फ यहाँका लोकतान्त्रिक नेता भनाउँदाहरूकै कारण अस्थिर भइरहेको छ।

२०४८ सालमा अत्यधिक बहुमत प्राप्त नेपाली कांग्रेसको सरकार अन्य कसैका कारण संकटमा परेको होइन। लाखौँ जनताको इच्छा र चाहना विपरीत सयाँै सहिदको बलिदानलाई आफ्नो सत्तास्वार्थको हितमा प्रयोग गर्न खोज्ने लोकतान्त्रिक नेताहरूकै कारण बहुमत प्राप्त सरकार असफल भएको थियो। त्यसपछि बनेको अल्पमतको सरकार जनताको बीचमा लोकप्रिय हुँदाहँुदै पनि लोकतान्त्रिक नेताहरूकै कारण अपदस्थमा पर्‍यो भने प्रधानमन्त्रीको संवैधानिक अधिकार पनि संकटमा पर्‍यो। त्यसपछि अपवित्र गठबन्धनको सुरुआत भयो,  मध्यरातमा लोकतन्त्रलाई दरबारमा बुझाउनेदेखि प्रतिगमन आधा सच्चिँदै गणतान्त्रिक समयमा प्रधानमन्त्रीको विशेषाधिकार कटौती, सरकारको कर्मचारी नियुक्ति गर्ने अधिकारमा प्रश्नचिन्हदेखि महाभियोग काण्डसम्म आइपुग्दा नेपालको लोकतन्त्रमा भएका शंृखलाबद्ध आक्रमणमा न त कुनै विदेशी शक्तिको हात थिया, न त कुनै अदृश्य शक्तिको। यो त विशेष रुपमा लोकतान्त्रिक मूल्य र मान्यतालाई नबुझेका र बुुझेर पनि आत्मसात् नगरेका नेताहरूकै कारण भएको हो।

अन्य कुनै चमत्कार भएन भने आगामी संसदीय निर्वाचन र प्रान्तीय निर्वाचनमा पनि लोकतन्त्रको मूल्य र मान्यता नबुझेका वा आत्मसात् गर्न नसकेका वा गर्न नचाहने जमातको नै नेतृत्वको वर्चस्व हुने सम्भावना देखिन्छ। हाल भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको आचरण र व्यवहारले स्थानीय जनताहरूमा लोकतान्त्रिक मूल्य, मान्यता र आचरण सिकाउन सक्यो भने आगामी स्थानीय निर्वाचन तथा तत्पश्चात् हुने संसदीय निर्वाचनमा लोकतान्त्रिक चेतना, संस्कार र ज्ञान भएका व्यक्तिहरू नेतृत्वमा आउन सक्ने सम्भावना देखिन्छ। नेपालको संविधानले अंगिकार गरेको तीन तहमध्ये दुई तहको निर्वाचन नै यहाँको लोकतन्त्रको मुख्य आधार हो, तर सत्ता स्वार्थले लिप्त नेपाली राजनेताहरू लोकतन्त्रको यही मुख्य कामबाहेकका अन्य कुरातिर तदारुकता देखाउँछन्। 

सबै नेपाली जनताले बुझ्नुपर्ने कुरा के हो भने आजको युगमा कसैले हाच्छियुँ गर्दैमा देश तथा व्यवस्था संकटमा पर्दैन। देश र राजनीतिक व्यवस्थामा कोही पनि निर्विकल्प हुँदैन। नेपालजस्तो राजनीतिक पार्टीहरू संस्थागत रुपमा नै स्थापित भएको देशमा राजनीति तथा कर्मचारीतन्त्रमा भएका केही दालालहरूले जनताको बलिदानको बदलामा हक अधिकार र समानताको नाममा श्रीमती, साली र केही सीमित धुपौरेहरूलाई अवसर उपलब्ध गराउने कुपात्रहरू नेतृत्वका कलंक हुन् र त्यस्ता कुपात्रहरूलाई राजनीतिलगायतका सबै प्रकारका जिम्मेवारीबाट बिदाइ गर्नुपर्छ। त्यसकारण हाम्रो लोकतन्त्रलाई अन्य कुनै क्षेत्रबाट खतरा छैन। खतरा छ त केवल हाम्रो लोकतन्त्रको मर्म र अर्थ नबुझेका राजनीतिक नेताहरू तथा अलोकतान्त्रिक कर्मचारीहरूबाट नै। लोकतन्त्र नेताहरू र कर्मचारीहरूका लागि मात्रै हैन, यो हामी सबै जनताका लागि हो। त्यसकारण सम्भावित चुनौती र खतराको सामना गर्नु पनि सबै जनताको दायित्व र कर्तव्य हो। बहुदलीय व्यवस्थामा व्यक्तिको दलमा आबद्धता अनिवार्यता हुन्छ र हुनु पनि पर्छ। सबै जना एउटै पार्टीमा आबद्ध हुन सम्भव नै हुँदैन। त्यसकारण बहुदल, बहुविचार अनिवार्य सर्त हुन् तर जबसम्म सबै पार्टीहरूमा एक से एक सक्षम लोकतान्त्रिक आचरण, संस्कार र ज्ञान भएका नेताहरू निर्वाचित हँुदैनन्, तबसम्म लोकतन्त्र फस्टाउन सक्दैन।

सामान्य जनता, शिक्षित युवा समुदाय र पार्टीका कार्यकर्ताहरू सबैले आफू कसैको भरिया बन्नुभन्दा पनि सक्षम, योग्य र विद्वान् नेतृत्व छनौट गर्ने साहस र हिम्मत गर्न सक्नुपर्छ। जब एक भोट हाल्ने अवसर प्राप्त हुन्छ, तब भोट हाल्नुभन्दा पहिला कस्तो उम्मेदवारलाई भोट हाल्ने ध्यानपूर्वक निर्णय गर्नुपर्छ। जब पार्टीहरूको महाधिवेशन आउँछ, कस्तो नेतालाई जिताउने भन्ने उचित निर्णय गर्न सक्नुपर्छ। स्वार्थ र लोभ वा नातागोता र जातीय आधारमा भोट हाल्ने अनि नेपालमा लोकतन्त्र फाप्दैन भन्नु पागलपन हो। यदि देश युवाले बनाउँछन् भन्ने हो भने पार्टीको महाधिवेशन होस् वा संसदीय निर्वाचन, एक भोट शिक्षित र सक्षम युवा नेतालाई हाल्ने हिम्मत गर्नुपर्छ। हामी सर्वसाधारणबाट लोकतन्त्र संवर्धन गर्ने एक मात्र योगदान त्यही हो।

कार्यकारी निर्देशक, एकोराव नेपाल








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad