८ वैशाख २०८१ शनिबार
विचार

माओवादीमा नीति–नेतृत्व संकट

निर्वाचनमा पार्टीको समग्र पक्षले प्रभाव पारेको हुन्छ। पार्टीले अंगिकार गरेको कार्यनीति, कार्यदिशा, नेतृत्व, कार्यकर्ता र उनीहरूको कार्यशैली चुनावी विजय/पराजयमा कारक हुन्छन्। निर्वाचन घोषणापत्र, नारा, उम्मेदवार, वर्तमान शक्ति सन्तुलनमा अन्तर्विरोधको समुचित विश्लेषण अनि त्यसको सदुपयोग, समाजवादी क्रान्तिका लागि भरपर्दो सहयोगीको पहिचान र सहकार्य वा चुनावी तालमेल पार्टीगत राजनीतिमा महत्वपूर्ण हुन्छ। विषयहरूमा वैज्ञानिक प्रस्टता र दृढ अडान, आमजनताको ध्यान खिच्ने खालको प्रचार अभियान एवं आवश्यक व्यवस्थापन समेतको समष्टिगत मूल्यांकन अनि सफलतामा प्रशंसा र प्रोत्साहन चाहिन्छ। असफलतामा नैतिक जिम्मेवारी बोध गर्ने परम्पराले मात्र आगामी दिनमा शिक्षा लिने गरी अघि बढ्न सकिन्छ। उपर्युक्त विषयमा समीक्षा गर्न तयार नभई सतही पक्षमा मात्र चर्चा गर्नु भनेको घाउ खटिराको अपरेसन होइन टालटुल मात्र गरेसरह हो।

पार्टीको नीति, नेतृत्व, नाराप्रति जनताको असहमतिका रूपमा निर्वाचन परिणामलाई लिनुपर्छ र माओवादी केन्द्रले निर्मम आत्मसमीक्षा गरेर नैतिक जिम्मेवारी लिने बेला आएको छ।

नेकपा माओवादी केन्द्र अहिले पनि विभाजनले क्षतिग्रस्त भएको छ। भद्दा संगठन र गलत कार्यशैलीका कारण एकताको सकारात्मक सन्देश नभएको अवस्था रह्यो। यसमा न त माओकालका नीति सिद्धान्त, कार्यदिशा, कार्य नीति, कार्य पद्धति र वर्ग पक्षधरता छ न त नेपाली समाजले खोजेको वा वर्तमान विश्व परिस्थिति र राष्ट्रिय परिस्थितिअनुसार प्रतिस्पर्धामा होमिने खालको। संगठन भद्दा मात्र होइन नोकरशाही पाराको अनि स्थानीय तहमा संगठन व्यवस्थित नभएको अवस्था छ। भाषण र लेखाइमा क्रान्तिकारी देखिन खोज्ने तर व्यवहारमा यत्रतत्र सर्वत्र विचलन देखिन्छ।

वर्तमान सत्ता समीकरण र सरकारले गरेका कार्यलाई पनि सापेक्षित गर्नुपर्ने हुन्छ। सरकारले चामत्कारिक रूपमा लोडसेडिङ हटाउने, राष्ट्रिय गौरवका आयोजनाहरूलाई तदारुकतासाथ अघि बढाउने सरकारी कार्य प्रणाली चुस्त बनाउने प्रयास, फास्ट ट्रयाक नेपाली सेनालाई दिने, एक बेल्ट एक रोडको चिनियाँ सम्झौतामा हस्ताक्षर गर्ने लगायतका सकारात्मक कार्यहरूको प्रभाव जनतामा राम्रो परेको छ। तर एमालेसँगको समीकरणलाई भारतको योजनाअनुसार तोडेर नेपाली कांग्रेससँग सहकार्य गरेको, भारतको प्रत्यक्ष सहयोगमा सञ्चालित मधेसकेन्द्रित दलहरूलाई तुष्टीकरण मात्र होइन, संविधान संशोधन गरेर साख बचाउन खोजेको, विगतदेखि भारतकेन्द्रित देशको स्थितिलाई विविधीकरण गरी आधुनिक र सन्तुलित बनाउन ओली सरकारका पालाका प्रयासलाई महत्व नदिई सन्तुलनका नाममा पुनः भारतमुखी बनाउन खोजिएकोजस्ता गतिविधिले राष्ट्रियताप्रतिको पार्टीको दृढ अडानमा प्रश्नचिन्ह खडा भयो। अर्कोतिर प्रतिस्पर्धीहरूले यिनै विषयलाई बढी उछाल्ने मौका पाए। समग्रतामा जनताको ठूलो हिस्सामा माओवादी केन्द्रप्रतिको विश्वास र भरोसामा आघात पुग्यो।

बहुदल आएपछि निजीकरणका नाममा राष्ट्रिय सम्पत्ति बेचेर देशलाई खोक्रो बनाएको, राष्ट्रिय हितमा भरोसायोग्य नीति नभएको, वर्गीय हिसाबले दलाल नोकरशाही पुँजीपति वर्ग र सीमान्तीकृत सामन्तवादको प्रतिनिधि पार्टी, राष्ट्रिय हितमा भन्दा निजी र दलगत स्वार्थमा लाग्ने नेपालको इतिहासमा सबैभन्दा बढी विकृति र विसंगतिको वाहक भद्रगोल पार्टी कांग्रेससँग गरेको सत्ता समीकरण पनि वर्गीय दृष्टिकोण र समाजवादी क्रान्तिको कार्यदिशाको हिसाबले आधारभूत रूपमा गल्ती थियो।

वर्गीयभन्दा जातीय र क्षेत्रीय मुद्दालाई महत्व दिएको पनि जनतालाई मन परेन। देशमा सामान्तवाद हाबी भएको स्थितिमा वर्गीय, जातीय, क्षेत्रीय, लंैगिक विभेदको खाडल गहिरो थियो। परिवर्तित सामाजिक अवस्थामा जातीय सद्भाव निकै उँचो बन्दै छ। अनि हाम्रो जस्तो एक जाति विशेषको बाहुल्य नभएको मुलुकमा भावनात्मक विषय उछालेर अनावश्यक अन्तर्विरोधहरू उब्जने, द्वन्द्व फैलिने र अन्ततः अशान्तिको चपेटामा मुलुक होमिने आभास जनताले गरे। समग्रतामा माओवादी केन्द्रले उठाएका विषय तात्कालिक सुधारमा सहयोगी भए पनि दीर्घकालीन रूपमा क्षमता अभिवृद्धि, प्रतिस्पर्धा र योग्यतमको छनोटमा प्रतिकूल प्रभाव पार्ने भएकाले पनि व्यापक जनसमर्थन प्राप्त हुन सकेन। बरू योग्यतम व्यक्तित्वहरू ज्ाातकै कारण अवसरबाट वञ्चित हुनुपरेकाले विदेश पलायन हुने खतरा बढ्दो छ। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक पार्टीले उटाएका मुद्दा भए पनि सहमतिमा कार्यान्वयनमा आएकाले जस माओवादी केन्द्रलाई मात्र प्राप्त भएन। जनताले पार्टीका प्रस्तावित नीतिमा विश्वास र भरोसा गरेन।

 नेपाली जनता अक्षमलाई सक्षम बनाउने, पिछडिएकालाई अगाडि बढाउने साधनस्रोतविहीनलाई सम्पन्न बनाउने क्रान्तिकारी कार्यक्रमको वास्तविक कार्यान्वयन चाहन्छन्, न कि अमूर्त भावनात्मक कुरा। व्यवहारमा जसका लागि विषय उठाइएको छ, त्यही समुदायलाई पनि पाच्य भएन, समर्थन गरेन। त्यसैले माओवादी केन्द्रले यी पक्षमा पनि आफूलाई पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ। जनताले नबुझेको, बुझाउन नसकिएको जस्ता कुरा उठाउनुभन्दा त्यस्ता असजिला विषय उठाउनु नै गलत भएको स्वीकार गर्दा राम्रो हुन्छ। राजनीति जनता र राष्ट्रका लागि हो। जनता र राष्ट्रले भोगेका समस्या, परिवर्तन चाहेका र त्यसका लागि स्वयं अग्रसर हुने राजनीतिका सरल विषय छनौट गर्नु नेतृत्वको खुबी हो, जसले सफलता पनि प्राप्त गर्छ।

संविधान संशोधनका अस्थिर र विवादित विषय अनि असफल प्रयास, लोकमानको अविश्वास प्रतावमा देखाइएको दोहोरो भूमिका साथै प्रथम महिला प्रधानन्यायाधीशमाथि लगाइएको असफल महाभियोग एवं एनसेलजस्ता विषयमा नेतृत्व पंक्ति संलग्न हुन खोजेको जस्ता कुराले प्रतिकूलता बढायो। निर्वाचनकै सेरोफेरोमा अर्थ मन्त्रालयबाट घरबहाल कर उठाउने नयाँ प्रस्ताव वैज्ञानिक भएर पनि घरवालाहरूको तात्कालिक स्वार्थमा धक्का पुग्ने भएकाले सहरका घरवालाहरू विपक्षमा गए। समग्रतामा माओवादी केन्द्र पनि चरित्रमा अरूभन्दा फरक देखिएन। जनताले माओवादी केन्द्रलाई असल विकल्पका रूपमा विश्वास गरेनन्।

निर्वाचनमा पार्टीले अवलम्बन गरेको चुनावी नारा र आन्तरिक व्यवस्थापन पनि सफलताका निर्णायक कडी हुन्। यसबारे समीक्षा गर्दा माओवादी केन्द्रको चुनावी तयारी कालको नारा जनताको घर घर जाऊँ, माओवादी केन्द्रलाई विजयी गराउँ्क भन्ने थियो। के यो नाराले जनभावना र राष्ट्रको आवश्यकता प्रतिविम्बित गर्छ? घरघर जाँदैमा जितिन्छ? किन जिताउने भन्ने भाव नारामा पाइँदैन। जसले गर्दा नारा नीरस र निरर्थक देखियो। निर्वाचनको समयमा दिइएको नारा 'सिंहदरबारकेन्द्रित जनताको अधिकारलाई जनताको गाउँ/नगर पुर्‍याऊँ स्थानीय तहको चुनावमा माओवादीलाई जिताऊँ' थियो।  यस सम्बन्धमा  पनि २२ वटा अधिकार वर्तमान संविधानको अनुसूची ८ ले स्थानीय तहलाई दिएको छ। अबको आवश्यकता गाउँमा अधिकार लानेभन्दा पनि गाउँ, नगरमा आएको अधिकारलाई सही रूपमा जनहितमा प्रयोग गर्नु हो। माओवादी केन्द्रले नजितेर अधिकार गाउँ नगरमा नजाने अवस्था होइन। बरू माओवादीले जितेमा सही रूपमा जनताको हितमा कार्यान्यन हुन्छ र समाजवादी क्रान्तिको सुनिश्चितता हुने सन्देशमूलक नारा दिनुपर्थ्याे। घोषणापत्रको सामान्य स्वरूप दिएर स्थानीय तहको विशेषताअनुसार घोषणापत्र स्थानीय तहमा नै तयार गर्नुपर्थ्याे। अरूले भन्दा माओवादी केन्द्रले प्राप्त अधिकार (शिक्षा, स्वास्थ्य, सहकारी, पूर्वाधार विकास, भूमि व्यवस्थापन, उत्पादन वृद्धि, स्थानीय कर व्यवस्थापन, उद्योग व्यवसायको विकास र रोजगारी सिर्जना आदि) मा कसरी उच्च अभ्यास गर्छ, स्पष्ट दृष्टिकोण र ठोस कार्यक्रम एवं कार्ययोजना दिनुपर्थ्यो। नारा पनि प्राप्त अधिकारको सही कार्यान्वयन गरौँ, गाउँ नगरलाई समृद्ध र समतामूलक बनाउँदै समाजवादतिर उन्मुख गराउँ्क जस्ता आशा भरोसा र रणनैतिक लक्ष्य बोकेको हुनुपर्थ्याे। संसद्को निर्वाचनजस्तो केन्द्रबाट घोषणापत्र दिएर केन्द्रीकृत अभ्यास गरियो र निर्वाचनका नारा र कार्यक्रम व्यापक जनताका मन छुने खालका बनाउन नसक्नाले र त्यति वेला दिएका सुझावलाई बेवास्ता गर्नाले पराजय बेहोर्नुपर्‍यो।

जनताहरू वाम एकता र उनीहरूको बहुमतको सरकार हेर्न चाहन्छन् तर वाम नेतृत्व तहको मनस्थिति र सोचाइ ०४६ सालबाट उठेको देखिएन। ईर्ष्या, निषेधकारी र आत्मकेन्द्रित महत्वाकांक्षी प्रवृत्ति वाम तालमेलको बाधक देखियो। तथापि एमालेसँग ३५/४० :  ६०/६५ प्रतिशतको तालमेल हुने सम्भावनाबाट पछि हट्नु र कांग्रेससँग तालमेल गर्नु पार्टीका लागि प्रतित्युपादक बन्यो।

निर्वाचन परिचालन पनि अपेक्षित रूपमा आक्रामक बन्न सकेन। राष्ट्रिय विषयमा हामी लम्पसारवादी होइनौँ, भारत परस्त होइनौँ, यो होइन, त्यो होइन भन्ने जस्ता प्रतिरक्षात्मक रूपमा र हीनताको मनोभावसाथ लाग्नुपर्ने, अरूले पनि विगतमा त्यस्तै गरेको भन्नुपर्ने स्थिति रह्यो। केही राम्रा कामलाई संकास्पद गतिविधि र असफल प्रयासहरूले खाइदिए। आमरूपमा आकर्षण पैदा हुन सकेन। जसले गर्दा मध्यवर्ती शक्तिलाई पक्षमा तान्न सकिएन। समग्रतामा पार्टीको नीति, नेतृत्व, नाराप्रति जनताको असहमतिका रूपमा निर्वाचन परिणामलाई लिनुपर्छ र माओवादी केन्द्रले निर्मम आत्मसमीक्षा गरेर नैतिक जिम्मेवारी लिने बेला आएको छ।

पार्टीले अंगिकार गरेका नीति र सिद्धान्तहरूको पुनरावलोकन गरी आजको अन्तर्राष्ट्रिय परिवेश, नेपाली समाजवादी क्रान्तिका लागि नेपाली समाजको यथार्थ विश्लेषण, मार्गदर्शक सिद्धान्त, वर्गसम्बन्धहरू, राजनैतिक शक्तिहरूको समसामयिक विश्लेषण, अन्तर्विरोधको अवस्था, आगामी कार्यदिशा, संगठनात्मक सिद्धान्त एवं नेतृत्व चयन, संगठन सुपरिचालन तथा विस्तार र कार्यकर्ता व्यवस्थापन, वर्गसंघर्षको स्वरूप, संयुक्त मोर्चा र सहकार्यका आधार, साधनस्रोतको परिचालन, सुविधाको हद र परिचालन, स्थानीय निकायको सही परिचालन र समग्रतामा समाजवादी क्रान्तिको कार्यक्रमबारे बृहत् बहस गरी पार्टीलाई महान् एकीकृत नयाँ समाजवादी केन्द्रका रूपमा विकसित गर्ने फराकिलो बाटोमा अघि बढाउनुपर्छ।

वर्तमान प्रधानमन्त्रीका गतिविधिबाट अप्रियताको पक्ष बढ्दै जाने स्थिति छ। जसले माओवादी केन्द्रको प्रभाव अझै गिराउनेछ। हालसम्मका निर्वाचनमा परिणाम कम भए पनि मतको अवस्था दयनीय छैन, यसको आधारमा आगामी निर्वाचनमा वामहरू जुधेर कांग्रेसलाई जिताउने भूमिकाबाट मुक्त भई वाम तालमेल वा एमालेसँगको सहकार्यलाई महत्व दिएर जाने र अनुचित अहंकार र निषेधकारी सोचबाट पार्टी मुक्त हुन आवश्यक छ। कसरी फरक देखिने भन्ने कसरततिर होइन कसरी मिल्न सकिन्छ भन्नेतिर मेहनत गर्नु आजको खाँचो हो। बहुसंख्यक जनताको अभिमतले यही भन्छ।

(लेखक माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन्।)

प्रकाशित: १२ श्रावण २०७४ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App