coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् विस्तारसँगै सिंहदरबारमा चहलपहल

नव नियुक्त उर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई मन्त्रालयमा स्वागत गर्दै विद्युत प्राधीकरणका सिइओ कुलमान घिसिङ । तस्बिर : रासस

काठमाडौँ – सर्लाहीबाट चारदिन अघि काठमाडौँ आएका सियाराम रायको अरु काम सक्किएपनि चाँडै मन्त्रिपरिषद् विस्तार हुने खबरले उनको बसाइँ लम्बियो । “आज बिहानदेखि फूल बोकेर हिँडेको थिएँ, साँझ काम लाग्यो”–रायले भने ।

आफूले चिनेका नेता वीरबहादुर बलायर मन्त्री बन्ने चर्चा केहीदिन अघिदेखि सुनेको तर मन्त्रालय भने आज शपथग्रहणपछि मात्र थाहा पाएपछि उनी अपराह्न ४ बजे सिंहदरबारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको परिसरमा फूल लिएर पुगे। कर्मचारी र शुभेच्छुकको लाममा बसेर रायले मन्त्री बलायरलाई बधाई दिएपछि उनी हँसिलो चेहरा लिएर नजिकै रहेको अन्य मन्त्रालयका मन्त्रीको बहाली हेर्न लागे । अन्य मन्त्रालयको तुलनामा भौतिक पूर्वाधार मन्त्रालयमा स्वागत गर्नेहरुको भीड बाक्लो थियो। 

भौतिक मन्त्रालयकै भवनमा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयमा बहालीका लागि आएका महेन्द्र यादवको स्वागत पनि रायले हेर्न भ्याए । कृषि अनुसन्धान केन्द्र (नार्क) का कर्मचारी बौधनाथ न्यौपाने पनि रामकृष्ण यादव मन्त्री हुने सुनेपछि आज बिहानैदेखि फूल हातमा लिएर हिँडेका थिए। 

नवनियुक्त कृषिमन्त्री रामकृष्ण यादवलाई उनले लेखा समितिको सभापति भएदेखि नै चिन्हेका हुन् ।  “मन्त्रीज्यूको पालामा कृषिमा ठोस् काम भइदिए हुन्थ्यो, म केहीदिनपछि लिखित सुझाव लिएर आउँछु”–न्यौपानेले भने। 

सहरी विकास मन्त्रालयमा काम लिएर आएका सोलुखुम्बु नेचा सल्यान गाउँपालिकाका नगर विकास समितिमा नवनियुक्त अध्यक्ष सीताराम भट्टराईलाई कुनै मन्त्रीलाई प्रत्यक्ष बधाई दिनुपर्ने नभएपनि स्वागत कार्यक्रमको दर्शक बने। “बिहानै जिल्ला फर्कौँ कि भन्ने लागेको थियो तर आज नयाँ मन्त्रीको बहाली हेरेर जाउँ भन्ने लागेर यतै बसेँ”–उनले भने । नेपाली काँग्रेसका पूर्वसांसद् सरस्वती चौधरीले पनि कृषिलगायत अन्य तीन मन्त्रीलाई बधाई दिन भ्याए। 

मन्त्रिपरिषद्मा बुधबार १९ सदस्य थप भएसँगै पदबहाली र स्वागतका लागि कर्मचारी, शुभेच्छुक र सुरक्षाकर्मी तथा पत्रकारको ओहोरदोहोर सिंहदरबारमा ह्वात्तै बढेको पाइयो । मुलुकमा संघीयता लागू भई गाउँगाउँमा सिंहदरबारका अधिकार लग्ने प्रमुख दलहरुको चुनावी प्रतिबद्धता भए पनि शक्ति र केन्द्रीय सरकारबाट आफ्नो काम बन्छ भन्नेहरुको कमी छैन । कामै नहुनेहरुले पनि आफ्ना नेता वा आफन्तलाई बधाई दिने पनि देखिएका छन्। 

एकैपटक धेरै मन्त्री नियुक्त भएको र बधाई दिन आउने सबैलाई मन्त्रालयले कार्यालयबारे जानकारी नभएकाले जानुपर्ने भन्दा अर्को मन्त्रालयमा पुगेर फलानो मन्त्रालय कता हो भन्दै सोधेको दृश्य पनि देखियो । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएको डेढ महिनापछि मन्त्रिपरिषद् विस्तार भएकाले मन्त्रालय, निकाय, सरोकार भएका र राजनीतिक कार्यकर्तामा उत्साह उत्पन्न भएको हो । 

विनाशकारी भूकम्पपछि कतिपय मन्त्रालयले कार्यालय नपाएपछि एकै भवनमा कार्यालय रहेपछि दुई मन्त्रीको स्वागतका लागि बसेका कर्मचारी र शुभेच्छुकको एउटै लामजस्तो पनि बन्यो । आफूले स्वागत गर्र्नुपर्ने मन्त्री आउन बाँकी रहेपछि उनीहरु झण्डा फहराएको गाडीतर्फ नलम्की हातको फूल बचाएर राख्न विवश बनेका थिए । 

सुख्खा खेतमा सिँचाइ 
नवनियुक्त कृषिमन्त्री यादवले पद बहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै किसानको समस्या समाधान गर्न आफू प्रतिबद्ध हुने बताए । उनले सुख्खा र बाँझोको समस्या भएको खेतीमा सिँचाइका लागि पहल गर्ने बताए। उनलाई मन्त्रालयका सचिव डा सुरज पोखरेलले स्वागत गरेका थिए। 

दूधमा आत्मनिर्भर नीतिको निरन्तरता 
पदबहाली गर्दै पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले मुलुकलाई दूधमा आत्मनिर्भर बनाउने सरकारको नीतिको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनलाई मन्त्रालयका सचिव युवकध्वज जिसीले स्वागत गरेका थिए । प्रकाश सिलवाल / रासस 

प्रकाशित: ११ श्रावण २०७४ १४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App