७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘संसदीय अभ्यास’मा जिल्लासभा बैठक

इलाम जिल्लासभाको बुधबार पहिलो बैठक चल्दै । तस्बिर : भीम चापागाईं

इलाम – स्थानीय तह निर्वाचन सम्पन्न भएको महिनादिनसम्म गठन हुन बाँकी जिल्ला सभाको पहिलो बैठकले ४ निर्णय गरेको छ । ‘संसद् बैठकको अभ्यासअनुसार’ चलाउने प्रयास गरिएको बुधबारको पहिलो बैठकले जिल्लासभा ९ सदस्यीय रहनेसहितका निर्णय गरेको हो । 

जिल्लासभाकी ज्येष्ठ सदस्य तथा इलाम नगरपालिकाकी उपमेयर सुशीला नेम्बाङको अध्यक्षतामा बैठक बसेको हो । बैठकले जिल्लासभा नियमावली स्वीकृत नभएसम्मका लागि जिल्लासभा र समन्वय समितिको निर्णय प्रमाणित गर्ने अधिकार स्थानीय विकास अधिकारीलाई दिएको छ । बैठकले स्थानीय तह निर्वाचन गर्न–गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिने र सहिदप्रति सम्मान गर्दै बैठकमा १ मिनेट मौनधारण गर्ने निर्णय पनि गरेको थियो । 

जिल्लाका १० वटै स्थानीय तहको निर्वाचन सकिएपनि जिल्लासभा गठन हुन बाँकी नै रहेकाले पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गरेकी हुन् । स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काले बैठक आह्वान गरेपछि पहिलो बैठक बसेको हो । 

बैठकमा जे देखियो

‘हामीले यो सभालाई संसदीयसभा जस्तो प्रक्रियामा चलाउने अभ्यास गरेका छौं,’ स्थानीय विकास अधिकारी खड्काले बैठकको सुरुमै भनेका थिए । त्यसपछि सहभागी जिल्लासभाका सदस्यमात्र होइन, पर्यवेक्षक र पत्रकारहरूको ध्यान बैठकको विषयभन्दा ‘प्रक्रिया’तिर मोडियो । 

तर, जिल्लासभा सदस्यहरूको प्रस्तुति र बैठकको सहभागिता भने सामान्य व्यक्तिले अपेक्षा गरेभन्दा फरक देखियो । कतिपय प्रक्रिया र शब्दोच्चारणमा भने जिल्लासभाका सदस्यजस्तो पदमा बसेका जनप्रतिनिधिको प्रस्तुति दयनीय देखिएको थियो । 

बुधबार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक करिब १ बजेपछि मात्रै सुरु भयो । निर्धारित समयमा जिल्लासभाका केही सदस्य उपस्थित नहुँदा बैठकको समय २ घण्टा लम्बिएको थियो । निर्धारित समयमै बैठकस्थल पुगेका कतिपय जनप्रतिनिधि अन्य सदस्य बेलामा आइनपुग्दा पट्यारलाग्दो गरी समय बिताउन बाध्य थिए । ‘बैठकमा समेत समयमै नआउने जनप्रतिनिधिले के काम गर्लान्,’ बैठकस्थल बाहिर भेला भएका पत्रकार र पर्यवेक्षक जनप्रतिनिधिको आलोचना गर्न थालिसकेका थिए । 

निकै ढिलो गरी स्थानीय विकास अधिकारीले बैठक सुरु गर्दा पनि केही सदस्य अझै आइपुगेकै थिएनन् । केही गाउँपालिकाका अध्यक्ष बैठक सकिने बेलामात्रै बैठकस्थल प्रवेश गरेका थिए । सूर्याेदय नगरपालिकाका मेयर रनबहादुर राई र फाकफोकथुम गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ बैठकमा सहभागी नै भएनन् । राई काठमाडौंमा रहेको र श्रेष्ठ आफ्नै दाजुको निधनले बैठकमा सहभागी हुन नसकेको जानकारी गराइयो ।
जिल्लासभाका ज्येष्ठ सदस्यलाई बैठकको अध्यक्षता गर्ने प्रस्ताव स्थानीय विकास अधिकारीले राखे । उनको प्रस्तावमा समर्थन जनाउन उठेका माङ्सेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिंगोले भने, ‘इलाम नगरपालिकाकी उपमेयर तथा ज्येष्ठ सदस्य, दिदी सुशीला नेम्बाङलाई बैठकको अध्यक्षता गर्न अनुरोध गर्छु ।’ उनको जिम्मेवारी समर्थन जनाउने मात्रै थियो, उद्घोषकको जस्तो ‘बैठकको अध्यक्षता गर्न अनुरोध गर्ने’ थिएन । इदिंगोको भनाइ सच्याइदिँदै अन्य सदस्यले सामूहिक रूपमा सुझाए, ‘समर्थन गर्छु भन्नुस् न ।’

बैठक सुरु भएपछि सहिदको स्मरणमा मौनधारणको समय आयो । सबैजना ज¥याकजुरुक उठे । स्थानीय विकास अधिकारी खड्काले अध्यक्षको छेउमा उभिएर सबैलाई निर्देशनात्मक शैलीमा भने, ‘घडीमा टाइम हेरौं है ।’ आग्रह गर्नु नै नपर्ने ठाउँमा उनी बोलेको सुनेर पर्यवेक्षकहरू मुखामुख गरेको देखिन्थ्यो । बैठक चलिरहेका बेला अध्यक्ष,  प्रस्तावक र समर्थकलाई उनीहरूले बोल्नुपर्ने वाक्य लेखेरै प्रिन्ट कपीसमेत वितरण गरिएको थियो । तर, अध्यक्ष नेम्बाङलाई लेखेकै शब्द पढेर बैठक चलाउन निकै कष्ट भएको देखिन्थ्यो । उनी कुनैपनि प्रस्ताव पारित भएको निर्णय सुनाउनुपर्दा ‘यो प्रस्ताव सर्वसमितिले पारित भएको घोषणा गर्छु’ भनिरहेकी थिइन् । तर, उनले भन्नुपर्ने वाक्य थियो– यो प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गर्छु ।

बैठकमा प्रस्ताव, समर्थन र निर्णय पारित गर्दा केही सदस्यले निकै संकोच मानेजस्तो गरेको देखिन्थ्यो । केही सदस्य पूरा बोलिनसक्दै आसनग्रहण गरिहालेको पनि देखिएको थियो । जिल्ला समन्वय समितिको सदस्य संख्या निर्धारण गर्ने इलाम नगरपालिकाका मेयर महेश बस्नेतको प्रस्तावमा सन्दकपुर गाउँपालिका उपाध्यक्षले बैठक अध्यक्षलाई सम्बोधन गर्दै भनिन्, ‘सम्माननीय अध्यक्षज्यू ।’ देशमा ‘सम्माननीय’ शब्दले सम्बोधन गरिने उच्चपदस्थ व्यक्तिको संख्या आधा दर्जनभन्दा कम छ । बैठकमा बोल्नेक्रममा अधिकतर सदस्यले अध्यक्षसहित सबै सदस्य, पर्यवेक्षक र पत्रकारलगायतलाईसमेत सम्बोधन गरेका थिए ।

स्थानीय विकास अधिकारी खड्काले बैठकको सुरुमा पहिलो भएकाले केही सुझाव भए बैठक सकिएपछि राखिदिन पर्यवेक्षक र पत्रकारलाई आग्रह गरेका थिए । बैठक सकिएलगत्तै खड्काले पुनः त्यही आग्रह दोहो¥याएपछि इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले भनिदिए, ‘सदस्यहरूले अलि जोडले बोल्नुप¥यो । कुनै प्रस्ताव गरेको हो भने भित्रैदेखि, मनैदेखि आवाज आउनुप¥यो, समर्थन गरेको हो भने पनि अलि जोडले आउनुप¥यो, बोलेको हो कि होइनजस्तो गरी प्रस्तुत हुनुभएन नि !’ 

स्वतन्त्र पत्रकार डाक्टर देवी क्षेत्री दुलालले संसदीय सभाको अभ्यास गरेको भनिएको बैठकमा निकै साना–ठूला कमजोरी देखिएको तर आगामी बैठकका सुधार हुने अपेक्षा व्यक्त गरे ।

 

प्रकाशित: ११ श्रावण २०७४ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App