७ वैशाख २०८१ शुक्रबार
समाज

बाग्लुङका अधिकांस ग्रामिण सडक अवरुद्ध

जिल्लाको दक्षिण भेग जोड सडक कुश्मीसेराको उकालोमा ट्याक्टर । तस्बिरः संगम घर्तीमगर

बाग्लुङ – बर्खा शुरु भएसंगै जिल्लाका अधिकांश ग्रामिण सडकहरु अवरुद्ध भएका छन् । यहाँका स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने प्रायः सबै जसो शाखा सडकहरुमा सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

विकासका नाममा जथाभावी डोजरको प्रयोग गरी व्यक्ति अनुकुल सडक खन्दा बर्खायाममा हिलो र पहिरोले सडक अवरुद्ध हुने गरेको छ । जिल्ला समन्वय समिति बाग्लुङले साविकका सबै गाविसहरुमा मोटरबाटो पुगेको दाबी गरे पनि बर्खा लागेपछि औंलामा गन्न सकिने ठाउँहरुमा मात्र गाडी चल्ने गरेको छ । जिल्लाको दक्षिणमा रहेको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकोका धेरै जसो ठाउँमा सवारी साधन चलेका छैनन् । कुश्मीसेराको ठेउलेखोलामा समयमै पुल निर्मा सम्पन्न नहुँदा बाग्लुङ जैदी सिधा यातायात रोकिएको सवारी धनी विजय रानाले बताए ।

‘बर्खा लाग्यो पुल निर्माण सम्पन्न नहुँदा खोला टार्न सकिँदैन,’ उनले भने,‘केही गाडी खोलावारी र केही गाडी खोलापारी राखेर सेवा दिने कोशिस गरिरहेका छौं ।’ उपल्लो कुश्मीसेरा हुँदै बरेङ गाउँपालिकालाई जोड्ने सडक अहिले अवरुद्ध छ । ‘सदरमुकामबाट आउने गाडी राङ्खानीसम्म मात्र आउँदो रहेछ,’ रेडियो बिहानी बरेङका स्टेशन म्यानेजर प्रकाश छन्त्यालले भने,‘केही दिन अघि सदरमुकामबाट फर्किदा पैदल आउनुपर्‍यो ।’ 

जिल्लाको मध्यपश्चिम क्षेत्रको बडिगाड गाउँपालिका अधिकाँस वडाहरुमा गाडी चल्न छाडेका छन् । रिघा—सिसाखानी, दगातुन्डाँडा सिसाखानी, पाण्डवखानी—रणसिंह किटेनी, जलजला लगायतका स्थानमा पहिरोका कारण सडक अवरुद्ध छन् ।

‘सिसाखानी आउने दुई वटै सडक अहिले अवरुद्ध छन्,’ सिसाखानीका सवारी धनी नरबहादुर पर्टेलले भने,‘दुई तीन तिरबाट खनेको बाटो पहिराले बर्बाद बनाएको छ।’ पश्चिमको तमानखोला गाउँपालिका सडक यातायातबाट विमुख भएको छ । बर्खा लागेसंगै ठाउँ ठाउँमा पहिरो गएपछि सवारी साधन सञ्चालन हुन नसेका हुन् । ताराखोला गाउँपालिकामा यातायात सहज रुपमा आवत जावत हुने सकेको छैन् । जिल्ला सदरमकामसँग नजिकै रहेको काठेखोला गाउँपालिका—३,४ तंग्राम धम्जा सिधा यातायात सञ्चालनमा छैन । काठेखोलामा पानीको बहाव बढेपछि धम्जा तंग्रामका लागि सञ्चालन हुने सवारी साधनहरु उताका उतै र यताका यतै भएका छन्।

ठाउँ ठाउँमा गएको पहिरो र हिलो सडकका कारण सवारी सञ्चालन कठिनाई भएको बाग्लुङ धम्जा गाडी चलाउँदै आएका सवारी चालक जीतबहादुर घर्तीले बताए। ‘सडकमा खाल्डाखुल्डी छन्, ठाउँ ठाउँमा पहिरो पनि गएको छ,’ घर्तीले भने,‘काठेखोला बढेपछि त यताको यतै उताको उतै भएका छौं ।’ मध्येपहाडी लोकमार्ग अन्तर्गतको बाग्लुङ—घोडाबाँधे खण्डमा नाली निर्माण नहुँदा सडकमा गहिरो खाल्डाखुल्डी परेर सकड पुरै हिलाम्मे हुँदा यात्रुले सास्ती खेप्न बाध्य छन् । ग्वालीचौर—खर्बाङको बीचमा रहेको नुवार खोलामा पुल निर्माण सम्पन्न नहुँदा बाग्लुङ बुर्तिबाङ सिधा यातायात सञ्चालमा पनि कठिनाई उत्पन्न भएको छ । 

‘एक दुई दिन घाम लाग्यो भने खोला घट्छ र सिधा यात्रा गर्ने हो,’ बाग्लुङ बुर्तिबाङ सवारी चलाउँदै आएका मणिभद्र निउरेले भने,‘पानी प¥यो ठाडोखोला भएकाले समस्या हुन्छ ।’ अहिले बाग्लुङ बुर्तिबाङ यात्रा गर्ने यात्रुले नुवारखोला पुगेर सवारी परिवर्तन गर्नुपर्छ । लोकमार्गमै खाल्डाखुल्डी र हिलो भएका कारण बाग्लुङ—गल्कोट सञ्चालन हुने ट्याक्सी समेत चल्न सकेको छैन । लोकमार्गको बाग्लुङ—घोडाबाँधे खण्डमा सडकभरी खाल्डा खुल्डी र हिलो भएका कारण आफुहरुले ट्याक्सी सञ्चालन गर्न नसकेको बाग्लुङ—गल्कोट ट्याक्सी व्यवसायी समितिका महासचिव गगन कुँवरले बताए । ‘सडकको खाल्डा र हिलोले जीप र बस नै फस्ने अवस्था छ,’ उनले भने,‘अब बर्खा नसकिएसम्म हाम्रो सेवा शुरु हुने अवस्था छैन ।’

जिल्ला समन्वय समिति बाग्लुङ जिल्लाभर एक हजार एक सय ६ किलोमिटर सडक निर्माण भएको बताउँछ । यद्यपी कति सकडमा बाह्रै महिना गाडी चल्न सक्छन् भन्ने स्वयं समन्वय समितिलाई पनि हेक्का छैन्। ‘जिल्लामा निर्माण भएको सडकमध्ये ५५ किलोमिटर कालोपत्रे गरिएको र एक सय १४ किलोमिटर ग्राभेल गरिएको छ, ती ठाउँहरुमा सबै महिना गाडी चल्न सक्छन्,’ जिल्ला समन्वय समिति बाग्लुङका सूचना अधिकारी अखिलनाथ शर्माले भने, ‘नौ सय ३७ किलोमिटर सडक कच्ची छन्, त्यहाँ कहिलेसम्म गाडी गुड्छ र कहिले अवरुद्ध हुन्न भनेर भन्न सकिने अवस्था छैन ।’ ‘आकाश गड्याङ—गुडुङ गरेपछि तलपछि गड्याङ—गुडुङ शुरु हुन्छ,’ उनले थपे । जमिनको प्राविधिक अध्ययन बिनै उपभोक्ता समितिका पदाधिकारीहरुको चाहाना अनुसार सकडको ट्रयाक खोलिएका कारण बर्खा लागेपछि ग्रामिण सडक अवरुद्ध हुने समस्या दोहोरिदै आएको छ । 

 

प्रकाशित: ११ श्रावण २०७४ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App