७ वैशाख २०८१ शुक्रबार
अर्थ

मोवाइलमा दैनिक १८ करोड खर्च

काठमाडौं— झन्डै एक चौथाइ गरिबीको रेखामुनि रहेका मुलुकका सर्वसाधारणले दैनिक कम्तिमा १८ करोड रुपैयाँ मोवाइल रिचार्जमा मात्र खर्च गर्ने गरेको तथ्यांक बाहिर आएको छ। मुलुकका दुई ठुला टेलिफोन कम्पनीमध्ये एक नेपाल टेलिकमका मोवाइल ग्राहकले एक दिनमा नौ करोड खर्च गरेको देखिएको छ । टेलिकमका अनुसार गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको छ । यो दैनिक औषत नौ करोड रुपैयाँभन्दा बढी हो । अर्को ठुलो टेलिफोन कम्पनी एनसेलका ग्राहकले पनि यही हाराहारीमा खर्च गर्छन्।

दुवै कम्पनीका ग्राहकले गरेको खर्च जोडने हो भने यो रकम १८ करोडभन्दा बढी हुनेछ ।  मुलुकभरमा ६ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनी भए पनि अन्य चारको कारोबार धेरै छैन । मुलुकभरका उपभोक्ताले कार्ड र अनलाइनबाट गरेको रिचार्जमध्ये झन्डै आधा काठमाडौं उपत्यकामा मात्रै हुने गरेको छ। टेलिकमको तथ्यांक अनुसार गत वर्ष साउनदेखि चैतसम्मको नौ महिनामा २४ अर्ब ३८ करोड १८ लाख ५७ हजार एक सय ८५ रुपैयाँ रिचार्ज भएको छ । उक्त रकमलाई दैनिक भाग लगाउँदा नौ करोड तीन लाखभन्दा धेरै रिचार्ज हुन्छ।

क्षेत्रगत तथ्यांक हेर्दा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा सबैभन्दा धेरै रिचार्ज भएको छ। उपत्यका भित्र मात्रै टेलिकमको ४५ प्रतिशतभन्दा धेरै रिचार्ज भएको तथ्यांकमा उल्लेख छ । टेलिकमले देशभरका आफ्ना ६ वटा क्षेत्रिय कार्यालयबाट भएका रिचार्जका तथ्यांक मध्ये काठमाडौंबाट मात्रै ४५.३० प्रतिशतको भएको छ ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहक संख्यासँगै रिचार्जको व्यापार पनि बढ्दै गएको बताइन् । ‘पछिल्लो समय हाम्रा ग्राहक बढेका छन्,’ राजभण्डारीले नागरिकसँग भनिन्। टेलिकमको नौ महिने तथ्यांक हेर्दा प्रत्येक महिना औसतमा दुई अर्ब ६० करोड रुपैयाँ रिचार्ज भएको देखिन्छ । साउनदेखि चैतसम्मको तथ्यांक हेर्दा सबैभन्दा कम असोजमा दुई अर्ब ५९ करोड ४४ लाख ८० हजार रुपैयाँ र सबैभन्दा बढी भएको पुसमा दुई अर्ब ९३ करोड ८३ लाख ३९ हजार रुपैयाँ रिचार्ज भएको छ।

क्षेत्रगत तथ्यांक हेर्दा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा सबैभन्दा धेरै रिचार्ज भएको छ। उपत्यका भित्र मात्रै टेलिकमको ४५ प्रतिशतभन्दा धेरै रिचार्ज भएको तथ्यांकमा उल्लेख छ । टेलिकमले देशभरका आफ्ना ६ वटा क्षेत्रिय कार्यालयबाट भएका रिचार्जका तथ्यांक मध्ये काठमाडौंबाट मात्रै ४५.३० प्रतिशतको भएको छ । नौ महिनाको अवधिमा यस क्षेत्रमा ११ अर्ब ४ करोड ४६ लाख रुपैयाको रिचार्ज भएको छ।

त्यसैगरी सबैभन्दा कम रिचार्ज सुदूरपश्चिम क्षेत्रमा भएको छ । उक्त क्षेत्रमा ६.६२ प्रतिशत मात्र रिचार्ज भएको छ जुन १ अर्ब ६१ करोड ४६ लाख १९  हजार रुपैया हुन आउँछन् । त्यस्तै, मध्येमाञ्चल क्षेत्रमा ११.८४ प्रतिशत, पूर्वाञ्चलमा ९.१४ प्रतिशत, मध्यपश्चिमाञ्चलमा ९.७९ प्रतिशत र पश्चिमाञ्चलमा १७.३० प्रतिशत रिचार्ज भएको टेलिकमको एक तथ्यांकमा उल्लेख गरिएको छ।

टेलिकममा रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज गरी दुई तरिकाबाट मोबाइल रिचार्ज गर्न सकिन्छ । आर्थिक वर्षको २०७३/७४ मा भएको रिचार्ज मध्ये ७९.३८ प्रतिशत कार्डबाट रिचार्ज भएको छ भने २०.६२ प्रतिशत अनलाइनबाट भएको छ । अनलाइन रिचार्ज गर्नेको संख्या अघिल्लो आर्थिक वर्षमा भन्दा गत वर्ष बढेको देखिन्छ । आर्थिक वर्ष २०७२/७३ मा अनलाइन रिचार्ज गर्नेको संख्या १६.७६ प्रतिशत रहेको थियो भने कार्डबाट ८३.२४ प्रतिशतले रिचार्ज गरेका थिए।

राजभणडारीले काठमाडौं उपत्यकामा धेरै ग्राहक भएकाले यहाँ धेरै रिचार्ज पनि हुने बताइन् । काठमाडौंपछि टेलिकमका ग्राहक पोखरमा धेरै छन् । ‘पछिल्लो वर्ष १५ प्रतिशतले ग्राहक संख्या बढेका छन्,’ राजभण्डारीले भनिन्, ‘यसले रिचार्ज पनि बढाएको छ ।’ पछिल्ला केही महिनामा अचम्म तरिकाबाट रिचार्ज संख्या बढेको उनले बताइन् । नेपाल टेलिकममा कागजबाट, पिनलेस, अनलाईन, आइभिआर जस्ता माध्यमबाट रिचार्ज गर्न सकिन्छ।

मुलुकमा हाल ६ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू रहेका छन् । नेपाल टेलिकम र एनसेलको बजार हिस्ता ९८ प्रतिशत छ भने बाँकी चारको २ प्रतिशतभन्दा कम रहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन २०७२/७३ अनुसार नेपाल टेलिकमले भ्वाइस सेवाबाट ३४ अर्ब ८९ करोड १८ लाख रुपैया र डाटा सेवाबाट ४ अर्ब ७९ करोड ५१ लाख गरी मोबाइल सेवाबाट ३९ अर्ब ६८ करोड ६९ लाख रुपैया आम्दानी गरेको छ । टेलिकमका मोबाइल ग्राहक संख्या १ करोड २८ लाख रहेका छन्।

त्यसैगरी, अर्को ठूलो मोबाइ सेवा कम्पनी एनसेलले आर्थिक वर्ष २०७२/७३ मा भ्वाइस सेवाबाट ४७ अर्ब ३९ करोड ३१ लाख र डाटा सेवाबाट ८ अर्ब ३ करोड ६१ लाख रुपैया आम्दानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । यस कम्पनीका भ्वाइस सेवा ग्राहक १ करोड ४१ लाख  ४५ हजार र डाटा सेवा ग्राहक ६७ लाख रहेका छन् । यस कम्पनीको एभरेज रेभिन्यु प्रति ग्राहक ३४० रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यि दुई कम्पनी बाहेक मुलुकमा स्मार्ट टेलिकम युटिएल, नेपाल स्याटेलाइट र एसटिएम दूरसञ्चार सेवा कम्पनीहरू सञ्चालनमा रहेका छन् ।  

क्षेत्रीय निर्देशनालय अनुसार मासिक टप–अप प्रतिशत
साउन (२०७३)– २५७५८१७३८२
भदौ – २७४०९२२२९०
असोज – २५९४४८०९१९
कात्तिक – २६६४४२९६३४८
मंसिर – २८११०६००३६
पुस – २९३८३३९२४२
माघ – २६५३६७७२३८
फागुन – २६५९९३९४२७
चैत – २६४३३२४३०३


क्षेत्रीय निर्देशनालय अनुसारको टप–अप प्रतिशत
काठमाडौं उपत्यका – ४५.३० प्रतिशत
मध्यमाञ्चाल– ११.८४ प्रतिशत
पूर्वाञ्चल– ९.१४ प्रतिशत
सुदूरपश्चिमाञ्चाल– ६.६२ प्रतिशत
मध्यपश्चिमाञ्चाल –९.७९ प्रतिशत
पश्चिमाञ्चाल – १७.३० प्रतिशत

प्रकाशित: ११ श्रावण २०७४ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App