coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिंगापुर, क्याथे, थाईले पछ्याएका थिए एयर इन्डियाको मार्ग

नयाँदिल्ली— सन् १९७० भर्खर लागेको थियो । सिंगापुरको सरकारलाई एउटा गज्जबको ‘आइडिया’ फु¥यो । त्यसबेला सिंगापुरे सरकारको नेतृत्व प्रधानमन्त्री लिक्वान युले सम्हालिरहेका थिए । सानो समुद्री टापुको देश सिंगापुरमा लगानी आकर्षित गर्ने उद्देश्य लिएर लिक्वान सरकारले एउटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी सञ्चालनमा ल्याउने विचार आयो।

वायुसेवा कम्पनी खोल्न सके विदेशी पर्यटकलाई सिंगापुर ल्याएर अर्थतन्त्रमा योगदान पुर्‍याउन सकिने सरकारको आशा थियो । त्यसका लागि सिंगापुरले विश्वका धेरै नीति निर्मातासँग यसबारे छलफल गरेको थियो, जो त्यसबेलाका उत्कृष्ट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी सञ्चालन गरेका देशका थिए ।

सन् १९७८ मा भारतीय प्रधानमन्त्री मोरारजी देसाईले जेआरडी टाटालाई अपमानजनक तरिकारले एयर इन्डियाबाट हटाए। जहाजभित्र मदिरा दिनुपर्छ भन्ने टाटा र दिनुहुँदैन भन्ने देसाइको विवादपछि टाटालाई सरकारले हटाएको थियो । एयर इन्डियालाई पछ्याउँदै उडेका सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक र थाई एयरवेज संसारका उत्कृष्टमा परिरहेका छन् र त्यही एयर इन्डिया अहिले खर्बौंको ऋणको भारी बोकेर उडिरहेको छ ।

त्यो उत्कृष्ट विचार थियो र सिंगापुरले सञ्चालनमा ल्यायो– सिंगापुर एयरलाइन्स । तर, वायुसेवा सुरु भए पनि त्यसबेलाका ठूला र चल्तीका वायुसेवासँग सहकार्य नगरी आफूलाई आवश्यक हवाई सेवासम्बन्धी जानकारी र उत्कृष्ट सेवाको मापदण्ड हासिल गर्न सम्भव थिएन । त्यसपछि प्रश्न आयो, यस्तो जानकारी र उत्कृष्ट सेवा कसरी दिने भनेर कुन अन्तर्राष्ट्रिय वायुसेवाले सहकार्य गर्ला ? त्यसपछि सिंगापुरे आधिकारिक निकायले विश्वका उत्कृष्ट वायुसेवा कम्पनीको एउटा सूची तयार पार्‍यो र अन्तिममा एक वायुसेवा छनोट गर्‍यो।

र, विश्वास गर्नुस् वा नगर्नुस् सिंगापुरले छनोट गरेको त्यो अन्तर्राष्ट्रिय वायुसेवा थियो, भारतको सरकारी वायुसेवा कम्पनी एयर इन्डिया ।
लेखक एन्थोनी स्याम्पसनले आफ्नो सर्वाधिक बिक्री भएको पुस्तक ‘एम्पायर्स अफ द स्काइ–द पोलिटिक्स, कन्टेस्ट्स एन्ड कार्टेल्स अफ वल्र्ड एयरलाइन्स’ मा सन् ७० को दशकमा सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक एयरवेज, थाई एयरवेज जस्ता एसियाली वायुसेवाले सेवाको अवधारणा परिवर्तन गरेर उड्डयन बजारलाई पकडमा राखेका थिए भनेर एक परिच्छेद वर्णन गरेका छन् । तर, एयर इन्डियाले एसियाली उड्डयन बजारलाई सन् १९४० देखि नै पकडमा राखेको थियो जसले सिंगापुर, क्याथे, थाईजस्ता वायुसेवालाई प्रेरणा दिँदै आएको थियो ।

कराचीदेखि चेन्नई चिठीपत्र ढुवानी
एयर इन्डियाको स्थापनाको कथा कम्ता रोचक छैन । १९३० को दशकतिर, युरोपबाट विभिन्न अन्तर्राष्ट्रिय वायुुसेवा कम्पनीले चिठीपत्र भारतको कराचीसम्म ल्याउँथे । त्यस्ता चिठीलाई रेलबाट सम्बद्ध गन्तव्यमा पु¥याइन्थ्यो तर प्रक्रिया लामो र धेरै दिन लाग्ने गथ्र्यो । त्यही बेला रोयल एयर फोर्सका पूर्वपाइलट नेभिल भिन्सेन्टले एउटा विचार फु¥याए– यदि कसैले त्यस्ता चिठीपत्र कराचीबाट त्यही दिन सम्बद्ध गन्तव्य पुर्‍याउन हवाई सेवा सुरु गरे के होला ?

त्यसपछि भिन्सेन्ट आफ्नो विचार बोकेर जेआरडी टाटालाई भेट्न गए । व्यापारिक घराना टाटाका वंशज र फ्रान्समा बाल्यकाल बिताएका २५ वर्षीय जेआरडी टाटालाई उड्डयन क्षेत्र सबैभन्दा रुचीको विषय थियो । त्यसको दुई वर्षपछि जेआरडी टाटा र भिन्सेन्ट मिलेर सुरु गरे– टाटा एयर मेल वायुसेवा । उनीहरूसँग दुईथान साना जहाज थिए जुन प्रतिघन्टा १ सय माइलको गतिमा उड्न सक्थे र तिनले केही तौलबराबरको चिठीपत्रसँगै दुईजना यात्रु बोक्ने सक्थे ।

टाटा एयर मेलले १९३२ अक्टोबर १५ मा पहिलो उडान गरेको थियो । जहाजलाई टाटा आफैंले उडाएर कराचीबाट बम्बई लगेका थिए र बम्बईबाट भिन्सेन्टले ती चिठी मद्राससम्म उडाएर लान्थे । रमाइलो पक्ष के हो भने टाटा एयर मेलको पहिलो उडान एक महिना ढिला हुन पुगेको थियो किनभने बेमौसमी वर्षाका कारण बम्बई विमानस्थलको माटोले बनेको कच्ची धावनमार्गमा पानी पसेर हिलाम्मे भएको थियो र त्यो हिलो सुक्न एक महिना कुर्नुपरेको थियो ।

त्यो ‘बबुरो’ वायुसेवाले सुरुमा दुई जहाज, दुई पाइलट, तीन इन्जिनियर, चार कुल्ली र दुई चौकीदारको भरमा कराची–बम्बई–मद्रास सेक्टरमा प्रत्येक सोमबार उडान गथ्र्यो । कराचीबाट मद्रास पुग्न २८ घन्टा लाग्थ्यो र बेल्लारी भन्ने ठाउँमा एक रात बास बस्नुपथ्र्यो । टाटा एयर मेलले स्थापनको पहिलो वर्ष १० टन चिठीपत्र र १ सय ५५ जान यात्रु बोकेर ६० हजार रुपैयाँ नाफा कमाएको थियो । केही वर्षपछि सेवा विस्तार गरी इन्दोर, भोपाल र ग्वालियर हुँदै दिल्ली तथा हैदराबाद, गोवा र श्रीलंकाको कोलम्बो उडान सञ्चालन गरेको थियो । यो १९३८ को कुरा हो । त्यसपछि वायुसेवाको नाम परिवर्तन गरी टाटा एयरलाइन्स बनाइएको थियो।

अन्तर्राष्ट्रिय उडान सुरुवात
टाटा एयरलाइन्सको दोस्रो चरण १९४६ मा सुरु भयो । जेआरडी टाटाले दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय हवाई बजारमा वृहत सम्भावना देखिसकेका थिए। त्यसपछि उनले आफ्नो वायुसेवालाई पब्लिक कम्पनीमा रुपान्तरण गरी ‘एयर इन्डिया’ नाम राखे र जहाज थपे । त्यसबेलाको अत्याधुनिक जहाज ‘लकहिड कन्स्टेल्लेसन’ खरिद गरी ‘मलाबार प्रिन्सेस’ नामकरण गरी अन्तर्राष्ट्रिय उडान सुरु गरे । यो जहाजले १९४८ जुन ८ मा सान्ताक्रुज विमानस्थल बम्बईबाट ३५ यात्रु बोकेर कायरो र जेनेभा हुँदै लन्डनका लागि पहिलो सफल उडान गरेको थियो । प्रतियात्रु भाडा चाहिँ १ हजार ७ सय २० रुपैयाँ लिइएको थियो।

त्यसको ३० वर्षपछि एयर इन्डिया संसारका उत्कृष्ट वायुसेवाको सूचीमा परिसकेको थियो । उदाहरणका लागि सन् ५० को दशकमा ब्रिटिस एयरवेजले जेट जहाज उडान सुरु गरे पनि यात्रुले एयर इन्डियाको विस्तारै उड्ने प्रोपेलर जहाज छनोट गर्थे किनभने जहाजभित्र यात्रुलाई विशेष मनोरञ्जन उपलब्ध गराइन्थ्यो । एयर इन्डियाले युरोपेली र अमेरिकी प्रतिस्पर्धी वायुसेवालाई सेवाकै कारण आच्छुआच्छु पारेको थियो । त्यसबेला अमेरिकी वायुसेवाले यात्रु आकर्षित गर्न आफ्ना एयरहोस्टेसलाई छोटा मिनिस्कर्ट पोसाक दिएका थिए तर एयर इन्डियाले मिनिस्कर्टभन्दा चार पाँच गुणा लामो सिल्कका सारी पोसाक बनाएको थियो ।

सन् १९७८ मा भारतीय प्रधानमन्त्री मोरारजी देसाईले जेआरडी टाटालाई अपमानजनक तरिकारले एयर इन्डियाबाट हटाए। जहाजभित्र मदिरा दिनुपर्छ भन्ने टाटा र दिनुहुँदैन भन्ने देसाइको विवादपछि टाटालाई सरकारले हटाएको थियो। एयर इन्डियालाई पछ्याउँदै उडेका सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक र थाई एयरवेज संसारका उत्कृष्टमा परिरहेका छन् र त्यही एयर इन्डिया अहिले खर्बौंको ऋणको भारी बोकेर उडिरहेको छ।
 

 

प्रकाशित: ११ श्रावण २०७४ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App