७ वैशाख २०८१ शुक्रबार
खेल

आज एन्फा कार्यसमिति बैठक, थ्री स्टारलाई क्षतिपूर्ति प्रमुख एजेन्डा

काठमाडौं– तीन महिनापछि हुने निर्वाचन र लामो समयदेखि गर्न नसकेको लिग आयोजना, भौतिक पूर्वाधारको अभावलगायतका विषय नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्य एजेन्डा हुन् । यिनै विषयको टुंगो लगाउन बुधबार एन्फाको कार्यसमिति बैठक हुँदै छ । तर बुधबारको बैठक थ्री स्टार क्लबको मुद्दामाथि चकाचर्की गर्नमा केन्द्रित हुने भएको छ ।

एन्फाको गल्तीका कारण राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार छनोट प्रतियोगिता पार गरे पनि एसिया कपको दोस्रो चरण खेल्नबाट वञ्चित भएको थियो । एएफसीले बारम्बार स्मरण गराउँदा समेत एन्फाले समयमा टिम दर्ता नगराइदिएका कारण थ्री स्टार एएफसी एसिया कपको हिस्सा हुन नपाएपछि नेपाली फुटबल ठूलो समस्यामा परेको थियो ।

थ्री स्टारले उक्त प्रतियोगिता खेल्न नपाएपछि दोषीमाथि कारबाही तथा उचित क्षतिपूर्ति नदिएसम्म कुनै पनि फुटबल गतिविधिमा संलग्न नहुने निर्णय लिएको थियो । थ्री स्टारले सुरुमा ६ करोड रुपैयाँ क्षतिपूर्ति मागे पनि पछिल्लो समय एन्फा र क्लब पदाधिकारीबीच १ करोड ५० लाख तथा तीनवटा मैत्रपूर्ण खेलमा कुरो मिलेको चर्चा छ । सहमतिअनुसार नेपालको राष्ट्रिय लिग च्याम्पियनको हैसियतमा थ्री स्टारलाई तीन अन्तर्राष्ट्रिय प्रतियोगिता वा मैत्री खेलमा सहभागी गराइने उल्लेख भएको बताइएको छ ।

एन्फा बैठकको एजेन्डामा लिग आयोजना, थ्री स्टारको विषय, फिफा र एएफसीको रोडम्याप र त्यसअनुसार जिल्लादेखि केन्द्रसम्मको निर्वाचन, भौतिक पूर्वाधारलगायतका विषय समावेश भए पनि ‘चुनाव र थ्री स्टारको विषयमै बैठक केन्द्रित हुने’ तुलाधरले अनुमान गरे ।

तर एन्फाभित्र थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा एकमत हुन नसकेका कारण बुधबारको बैठक प्रभावित हुने एक सदस्यले नागरिकलाई बताए ।

‘थ्री स्टारलाई क्षतिपूर्ति दिनु भनेको एन्फाबाट गल्ती भयो भनेर स्विकार्नु हो । १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने गल्ती गर्नेलाई पनि कारबाही हुनुपर्छ । केही व्यक्तिको गल्तीका कारण सम्पूर्ण देशको फुटबल विकासमा खर्चिनुपर्ने एन्फाको ढुकुटी दुरुपयोग गरिन पाइँदैन,’ एन्फा कार्यसमितिका सदस्य पंकज नेम्वाङले भने, ‘पक्कै पनि थ्री स्टारमाथि ठूलो अन्याय भएको छ । तर यो थ्री स्टारमाथिको मात्र नभई देशकै फुटबलमाथिको अपराध हो । त्यसैले क्षतिपूर्ति दोस्रो कुरा हो । पहिला त देशकै फुटबललाई धक्का लाग्ने गरी यस्तो अपराध गर्नेलाई कारबाही हुनुपर्छ । त्यसपछि क्षतिपूर्तिको विषय आउँछ । किनकि कुनै पनि संस्थाले गल्ती गर्दैन । गल्ती त्यो संस्थामा रहेका मानिसले गर्ने हो । त्यसैले गल्ती गर्नेको पहिचान गरेर क्षतिपूर्ति जसले गल्ती गरेको हो, उसलाई नै तिराउनुपर्छ भन्ने आवाज हामी जोडदार रूपमा राख्नेछौं ।’

दुई वर्षअघिको विनाशकारी भूकम्पयता नेपालमा लिग हुन सकेको छैन । भूकम्पले देशकै एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा क्षति पुगेको थियो । जुन अहिलेसम्म मर्मत नहुनुलाई लिग गर्न नसक्नुको मुख्य कारणका रूपमा एन्फाले प्रचार गर्ने गरेको छ । तर यससँगै थ्री स्टारको समस्या समाधान नहुँदा पनि राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने लिग गर्न नसकेको एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर स्विकार्छन्् ।

‘अहिले सतहमा थ्री स्टारको समस्या देखिएको छ । यो नेपाली फुटबलको अत्यन्तै संवेदनशील विषय हो । पक्कै पनि लिग हुने वा नहुने कुरालाई यसले प्रभाव पार्नेछ,’ तुलाधरले नागरिकसँग भने, ‘तर मुख्य समस्या योभन्दा पनि रंगशाला नहुनु नै हो । हामीले हलचोक र सातदोबाटोमा केही मैत्रीपूर्ण खेल गरेर लिग गर्न सकिन्छ कि भन्ने विषयमा विचार ग¥यौं । तर त्यो सहज देखिएन । लिगका केही खेलमा दशौं हजार दर्शक आउँछन् । जुन सातदोबाटो वा हलचोकमा सम्भव हुँदैन ।’

एन्फा बैठकको एजेन्डामा लिग आयोजना, थ्री स्टारको विषय, फिफा र एएफसीको रोडम्याप र त्यसअनुसार जिल्लादेखि केन्द्रसम्मको निर्वाचन, भौतिक पूर्वाधारलगायतका विषय समावेश भए पनि ‘चुनाव र थ्री स्टारको विषयमै बैठक केन्द्रित हुने’ तुलाधरले अनुमान गरे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मध्यस्थतामा गत महिना त्रिपक्षीय सहमति भए पनि राखेपबाट फरक खालको पत्र आएकाले अप्ठेरो भएको उनले बताए । उनका अनुसार राखेप, एन्फा र थ्री स्टारका पदाधिकारीबीच क्लब र एन्फाबाट आधिकारिक रूपमा निर्णय गर्न सक्ने गरी प्रतिनिधि पठाएर त्रिपक्षीय बैठकमार्फत निचोड निकाल्ने सहमति भएको थियो । ‘त्यहीँबाट टुंगाउने सहमति भएको थियो । तर राखेपले थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा बैठकको निर्णय जानकारी गराउनु भनेर पत्र पठायो । जब कि हामीबीच राखेपकै मध्यस्थतामा तीनै पक्ष बसेर निर्णय गर्ने सहमति भएको थियो,’ उनले भने ।

क्षतिपूर्ति दिने विषयमा एन्फाभित्र एकमत नहुँदा पीडित क्लब थ्री स्टार थप अन्योलमा परेको छ । ‘नेपाली फुटबललाई बचाउनुपर्छ भनेर थ्री स्टारले अधिकतम लचकता अपनाएर त्याग गरिसकेको अवस्था छ । बोर्ड बैठकले थ्री स्टारको लचकतालाई सम्मान गरेर न्याय दिनेछ र नेपाली फुटबललाई निर्वाध रूपमा अगाडि बढाउनुका साथै बचाउन सकारात्मक कदम चाल्नेछ भन्ने हामीले आशा गरेका छौं,’ थ्री स्टारका महासचिव सञ्जीव सिल्पकारले भने, ‘एन्फा नेतृत्व र क्लबबीच क्षतिपूर्तिका साथै मैत्रीपूर्ण खेलको विषयमा समेत भद्र सहमति भइसकेको छ । उहाँहरूले हामीसँग गरेको भद्र सहमति पालना गर्ने विश्वास लिएका छौं । त्यसो भएन भने त्यो नेपाली फुटबलका लागि दुर्भाग्यजनक हुनेछ । हामी एन्फा बैठकको निर्णय आएपछि छलफल गरेर प्रतिक्रिया जनाउनेछौं ।’

कात्तिकमा वर्तमान कार्यसमितिको पदावधि सकिँदै छ । त्यसैले एन्फाले फिफा र एएफसीको रोडम्यापअनुसार कात्तिकसम्ममा निर्वाचन गरिसक्नु पर्नेछ । यसै गरी एन्फाले भदौ ९ बाट यसपालिको लिग गर्ने घोषणा गरेको थियो । जुन पूर्वनिर्धारित समयमा नहुने पक्काजस्तै भइसकेको छ । सहभागी क्लबहरूले तयारीका लागि कम्तीमा दुई महिना समय माग गरिरहेका कारण सबै समस्या समाधान भए पनि यो वर्षको लिग कात्तिकको चुनावपछि मात्र हुने सम्भावना बलियो रहेको एन्फा पदाधिकारीहरू बताउँछन् ।

प्रकाशित: ११ श्रावण २०७४ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App