८ वैशाख २०८१ शनिबार
खेल

नेपालको विश्वकप खेल्ने सपना चकनाचूर

काठमाडौं– अफगानिस्तानको तगारोमा लगातार दोस्रो पटक अल्झिएपछि अर्को वर्ष न्युजिल्यान्डमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचूर भएको छ।

सिंगापुरमा जारी यु–१९ विश्वकप छनोटको खेलमा मंगलबार अफगानिस्तानसँग लगातार दोस्रो पटक पराजित भएपछि नेपालको छनोट सम्भावना समाप्त भयो। मलेसिया र आयोजक सिंगापुरसमेत सम्मिलित प्रतियोगिताको शीर्ष टोली न्युजिल्यान्ड भ्रमणको लायक हुनेमा नेपाल दोस्रो स्थानमा सीमित भयो । राउन्ड रोबिन लिग पद्धतिअनुसार दुई चरणमा गराइएको प्रतिस्पर्धामा नेपालले अफगानिस्तानविरुद्धका दुवै लेगमा फराकिलो हार सामना गर्नुपरेको थियो । जसका कारण आयोजक सिंगापुर र मलेसियालाई दुवै लेगमा हराए पनि नेपाललाई न्युजिल्यान्डको टिकट काट्न पर्याप्त भएन ।

ब्याटिङको कमजोरी सिंगापुरको मैदानमा लगातार उदांग हुँदा यु–१९ विश्वकपको १२औं संस्करणका लागि आठौं पटक छानिने नेपालको लक्ष्यमा धक्का लागेको थियो । यसअघि श्रीलंकामा २००० मा प्रतियोगिताको तेस्रो संस्करण हुँदा नेपाल पहिलो पटक १९ वर्षमुनिको विश्वकपलाई छानिएको थियो । पहिलो सहभागितामै समूह ‘सी’ बाट सुपर लिगलाई छानिएको नेपाल त्यसपछि २००२, २००४, २००६, २००८, २०१२ र २०१६ का संस्करणमा सहभागी भएको थियो । २०१० र २०१४ को संस्करणमा छनोट हुन असफल नेपाल यु–१९ विश्वकपमा अनुपस्थित हुन लागेको यो पाँचौं पटक हो ।

२००६ मा श्रीलंकामा प्लेट च्याम्पियन भएको नेपालको लगातार दोस्रो पटक छानिने सम्भावना मंगलबार अफगानिस्तानसँग ९६ रनले आत्मसमर्पण गरेपछि औपचारिक रूपमा समाप्त भएको थियो । सोमबार मलेसियालाई जित्दासम्म पनि फराकिलो नेट रन रेटका कारण नेपाल छनोट हुने सम्भावना एकदमै न्यून थियो । नेपाल छनोट हुन नाटकीय जितले मात्र सम्भव हुन्थ्यो । तर नेपाल प्रतियोगितामा दोस्रो पटक अफगानिस्तानसँग स्तब्ध बनेपछि निराश हुँदै घर फर्कियो ।

इब्राहिम जर्दानको शतक पूरा गरेपछि इन्डियन एसोसिएसन मैदानमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रनको योगफल बनायो । १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले ४०.३ ओभरमा ९९ रन जोड्दा सबै विकेट गुमायो । गत संस्करणमा पनि छनोट प्रतियोगिता मानिएको एसिसी यु–१९ प्रियिमर लिगमा नेपाललाई अफगानिस्तानले नै रोकेको थियो । तर आइसिसीले पछि ग्लोबल क्वालिफायर खेलायो । उक्त प्रतियोगिताको फाइनलमा नेपालले आयरल्यान्डलाई हराउँदै बंगलादेश विश्वकप पक्का गरेको थियो । प्रशिक्षक विनोद दासले एक टोलीका रूपमा नेपाल विश्वकप छनोटका लागि योग्य  भए पनि ब्याटिङ समस्याका कारण निराश हुनुपरेको बताए ।

‘समग्र प्रदर्शनका आधारमा नेपाल छनोटका लागि सक्षम टोली थियो । तर, अफगानिस्तानले राम्रो क्रिकेट खेल्यो,’ प्रशिक्षक दासले थपे, ‘प्रतियोगिताभर हाम्रो ब्याटिङ चलेन । बाँकी दुई टोलीलाई सहजै हराए पनि हाम्रा ब्याट्सम्यानले लय भेट्टाउन संघर्ष गर्नुप¥यो । हामीले भन्दा अफगानिस्तानले राम्रो क्रिकेट खेल्योे ।’

एक इन्डबाट लगातार विकेट गए पनि अर्को इन्डबाट इब्राहिम जर्दानले परिपक्व प्रदर्शन गरेपछि अफगानिस्तान सम्मानजनक योगफल बनाउन सफल भएको थियो । तीन ब्याट्सम्यान शून्यमा पवेलियन फर्कंदा जर्दानले १ सय १४ बलमा ७ चौका र ५ छक्कासहित १ सय १ रन बनाए । प्रतियोगितमा २ सय १८ रन जोडेका जर्दान प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान हुन् । १ सय ९५ रन बनाएका सिंगापुरका रोहन रंगराजन दोस्रो स्थानमा छन् । इक्रम अली खिलले २४, नाभिद ओबेदले २२, शाम्स उर रहमानले १५ तथा शैद बाहिर शाह महबुबले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका साहब आलमले ४ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले ३ विकेट हात पारे । कप्तान सन्दीप लामिछाने र पवन सर्राफको नाममा १÷१ विकेट रह्यो । २४ विकेटका साथ कप्तान सन्दीप प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने बलर बने । दोस्रो स्थानमा रहेका अफगानिस्तानका मुजिब जर्दानले २० विकेट लिए । १२ विकेट लिएका साहब चौथो स्थानमा छन् । मसलमा चोट लागेपछि सन्दीपले मंगलबार पूरै ओभर बलिङ गर्न सकेनन् । तथापि प्रशिक्षक दासले सन्दीपको प्रशंसा गर्न छुटाएनन् । ‘सन्दीपले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे,’ प्रशिक्षक दासले भने, ‘दुर्भाग्य आज सामान्य चोटका कारण पूरै ओभर बलिङ गर्न सकेनन् ।’

१ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले १६.२ ओभरमा ३४ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो । सन्दीप सुनार र अनिल शाह समान ६ रनमा पवेलियन फर्किंदा आसिफ शेखले २ रन जोडे । प्रनित थापामगर शून्यमा पवेलियन फर्किए । रोहितकुमार पौडेल पनि ३ रनमा आउट भए । त्यसपछि दीपेन्द्रसिंह ऐरीले पवन सर्राफसँग छैटौं विकेटका लागि ५१ रनको साझेदारी गर्दै नेपालको आशा कायम राखेका थिए । तर रहमानले पवनलाई मुजिबमार्फत क्याच गराए । लगत्तै अर्को ओभरमा दीपेन्द्रसिंह पनि तारिक स्टेनिकजाईको बलमा इक्रम अलीमार्फत क्याच भएपछि नेपालको सम्भावना कमजोर बनेको थियो । पवन सर्राफ र प्रकाश केसीले समान १० रन जोडे । प्रतियोगितामा नेपालका लागि सबैभन्दा धेरै दीपेन्द्रसिंह ऐरीले १ सय ३१ रन बनाए । रोहितकुमार पौडेलले ६७ रन जोड्दा प्रनित थापामगरले ५७ रन बनाए ।

अफगानिस्तानका युसुफ जाजीले ५.३ ओभरमा १ मेडनसहित ११ रन दिएर ४ विकेट लिए । मुजिब उर रहमानले ३ विकेट लिँदा जाहिर खान पाकतीन, शाम्स उर रहमान र स्टनिकजाईको नाममा समान १÷१ विकेट रह्यो ।

प्रकाशित: ११ श्रावण २०७४ ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App