८ वैशाख २०८१ शनिबार
खेल

रोनाल्डोले मुख खोले

मड्रिड– पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो भविष्यबारे लामो समयदेखि चलेका शृंखलाबद्ध चर्चामा पूर्णविराम लगाउँदै थप उपाधि जित्नका लागि रियाल मड्रिडमै बस्ने प्रस्ट पारेका छन्।

‘बितेको सिजन क्लब र व्यक्तिगत रूपमा मेरा लागि पनि अत्यन्तै विशेष रह्यो । हामीले फुटबलमा महत्वपूर्ण उपाधिहरू जित्यौं। त्यसलाई फेरि दोहो¥याउन सके अझै रमाइलो हुनेछ,’ खेलकुद दैनिक मार्कालाई दिएको अन्तर्वार्तामा रोनाल्डोले भनेका छन्।

गत महिना पोर्चुगाली पत्रिका ओ ग्लोबोले रोनाल्डो रियाल छोड्ने तयारीमा रहेको समाचार छापेपछि उनी अर्को सिजन सान्टियागो बेर्नाबेउमा नरहने अनुमान गरिएको थियो। स्पेनको कर विभागबाट उनीमाथि कर छलीको अभियोगमा अनुसन्धान सुरु भएपछि झन् रोनाल्डो स्पेनमा नबस्ने अनुमानलाई बल पुगेको थियो।

१ करोड ४७ लाख युरो कर छलेको आरोप खेपिरहेका रोनाल्डोलाई जुलाई ३१ मा अदालत उपस्थित हुन आदेश जारी भएको छ । चार पटकका बालन डी अर विजेता ३२ वर्षे रोनाल्डो गत नोभेम्बरमा २०२१ सम्मका लागि सम्झौता नवीकरण गरेका थिए । फोब्र्स म्यागजिनका अनुसार २०१६–१७ मा ९ करोड ३० लाख डलर आम्दानी गरेका रोनाल्डो विश्वका सबभन्दा बढी कमाउने खेलकुद स्टार हुन् ।

रियालका प्रशिक्षक जिनेदिन जिदानले शनिबार समर्थकहरूलाई रोनाल्डो क्लबमै रहने भन्दै आश्वस्त पारेका थिए । तत्कालका लागि रोनाल्डो बिदामा रहेको र अगस्ट ५ मा फर्किने जिदानले बताएका थिए।

नयाँ सिजनको तयारीका लागि रियालको टोली अमेरिका भ्रमणमा रहे पनि रोनाल्डो भने बिदामा छन् । जिदानले रोनाल्डोलाई बिदा दिएको बताउँदै उनी थप दुई वा तीन वर्ष रियालमै बस्ने दाबी गरेका थिए।

मंगलबार मार्कामा छापिएको अन्तर्वार्तामा रोनाल्डोले युरोपियन च्याम्पियन पोर्चुगललाई २०१८ को विश्वकप जिताउनु आफ्नो मुख्य प्राथमिकतामा पर्ने बताए । ‘हामी विश्वकपमा अझै छनोट भइसकेका छैनौं । तर पोर्चुगल उपाधि जित्न सक्षम छ भन्ने मेरो विश्वास हो । पोर्चुगलको टिममा हामी आगामी वर्षको विश्वकप जित्ने प्रयासमा ध्यान केन्द्रित  गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित: ११ श्रावण २०७४ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App