७ वैशाख २०८१ शुक्रबार
समाज

करार माग्दै आंशिक प्राध्यापक अनसनमा

काठमाडौं— आंशिकबाट करारको माग गर्दै विगत ५ महिनादेखि चरणबद्ध आन्दोलन गरे पनि माग सुनुवाइ नभएपछि त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले उपकुलपति कार्यालय अगाडि मंगलबारदेखि रिले अनसन थालेका छन् । आंशिक प्राध्यापक संघका सहअध्यक्ष नरेन्द्रप्रसाद भण्डारीको संयोजकमा आंशिक प्राध्यापकहरू रिले अनसन थालेका हुन्।

अनसनमा ठाकुरराम बहुमुखी क्याम्पसका आंशिक प्रध्यापक संघका एकाइ समिति अध्यक्ष तेजनारायणप्रसाद यादव, पद्मकन्या कलेजका एकाइ समिति अध्यक्ष संगीता दहाल, अमृत साइन्स कलेजका एकाइ समिति सदस्य शिरोमणि गजुरेल, सदस्य पम्फा दवाडी, रामस्वरूप रामगार बहुमुखी कलेज जनकपुरका एकाइ समिति अध्यक्ष इन्द्रदेव यादवलगायत अनसनमा बसेका छन्।

सौहाद्र्रपूर्ण एवं सम्मानित वातावरणमा विद्यार्थीले पढ्न र प्राध्यापकले पढाउन पाउने प्राज्ञिक वातावरण विश्वविद्यालयमा हुनुपर्ने, विगतमा भएका सम्झौता विश्वविद्यालयले तुरुन्त कार्यान्वयन गर्नुपर्ने लगायत माग पनि राखेर संघ आन्दोलनमा छ।

सहअध्यक्ष भण्डारीले विश्वविद्यालयले आंशिक प्राध्यापकलाई प्रवेश गराउँदा करारको सबै प्रक्रिया पूरा गराउने गरेको तर दीर्घकालीन रूपमा करार नगरी समस्या बल्झाएको आरोप लगाए ।

उनका अनुसार रिले अनसन १० दिनसम्म चल्ने छ । विश्वविद्यालयले दस दिनभित्र पनि समस्या समाधान नगरे कडा आन्दोलनमा उत्रने उनको चेतावनी छ ।

नेपाल आंशिक प्राध्यापका संघका सदस्य घमराज लुइँटेलले विश्वविद्यालयले २०४६ सालपछिको परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले २०४७ मा र ०६१÷०६२ मा आएर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले एउटा निकास दिएको अवगत गराउँदै हालको सरकारले पनि तुरुन्त निकास दिनुपर्ने जोड दिए ।

नेपाल आंशिक प्राध्यापक संघले एक शैक्षिक सत्र प्राध्यापन गरेका आंशिक प्राध्यापकलाई अविलम्ब करार गर्नुपर्ने, शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने, उपप्राध्यापक पदको विज्ञापनलाई निरन्तरता दिनुपर्ने माग राखी एक दशकदेखि आन्दोलन गरे पनि कुनै सुनुवाइ नभएपछि आपूmहरू सडकमा उत्रनु परेको लुइँटेलले जनाए ।

‘विश्वविद्यालयले गम्भीर भएर एक दशकदेखि  नियमित विज्ञापन गरी समस्या समाधान गरेन,’ लुइँटेल भन्छन्, ‘पोको परेर लामो समयदेखि थुप्रिएका आंशिक प्राध्यापकको समस्या जस्ताका तस्तै छ । आंशिक प्राध्यापकको रूपमा कार्यरत प्राध्यापकलाई करार नगरे कडा आन्दोलनमा उत्रने छौं ।’

निरन्तर प्राज्ञिक उन्नयनका लागि प्राध्यापनरत आंशिक प्राध्यापकलाई विश्वविद्यालयले न्यून ज्यालादरमा अधिकतम काम लगाई चरम शोषण गरेको ठाकुरराम क्याम्पस, वीरगञ्जका आंशिक प्राध्यापक तेजनारायण यादवले जनाए ।

कलेजका आंशिक प्राध्यापक संघका एकाइ अध्यक्ष समेत रहेका यादवले अनसन स्थलबाटै भने, ‘विश्वविद्यालयमा कार्यरत केन्द्रीय विभाग तथा आंगिक क्यापसमा प्राध्यापनरत सम्पूर्ण आंशिक प्राध्यापकलाई बिनासर्त करार नियुक्त गर्नुपर्छ ।’ उनले भविष्यमा नीति बनाएर मात्र आंशिक प्राध्यापक नियुक्त गर्नुपर्ने, विश्वविद्यालयमा सेवा प्रवेशविन्दु सहायक प्राध्यापक बनाउने गरी त्रिवि सभाबाट भएको निर्णय खारेजीको माग पनि संघले अघि सारी रिले अनसनमा बसेको बताए ।

सौहाद्र्रपूर्ण एवं सम्मानित वातावरणमा विद्यार्थीले पढ्न र प्राध्यापकले पढाउन पाउने प्राज्ञिक वातावरण विश्वविद्यालयमा हुनुपर्ने, विगतमा भएका सम्झौता विश्वविद्यालयले तुरुन्त कार्यान्वयन गर्नुपर्ने लगायत माग पनि राखेर संघ आन्दोलनमा छ ।

त्रिभुवन विश्वविद्यालयमा ८० प्रतिशत कक्षा भार आंशिक प्राध्यापकले सम्हालेका छन् । स्थायी प्राध्यापकले २० प्रतिशत मात्र कक्षाभार सम्हालेका छन् । ‘हाम्रो ठाकुरराम कलेजका करार र स्थायी प्राध्याकपहरू छुट्टी लिएर कोही विद्यावारिधि गर्न त कोही परीक्षामा खट्ने लगायत काममै व्यस्त हुनुहुन्छ,’ यादवले नागरिकसँग भने, ‘कलेज हामी ३५ आंशिक प्राध्यापकबाटै चलेको छ ।’ उनले थपे ‘विश्वविद्यालयले शैक्षिक उन्नयनका लागि पनि करार प्रक्रिया अघि बढाउनु पर्छ ।’

विश्वविद्यालयले ६–६ महिनामा सेवा आयोगमार्फत पदपूर्तिका लागि विज्ञापन खुलाउनुपर्ने व्यवस्था ऐनमा छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओका) अनुसार कुनै पनि संस्थामा काम गर्ने कर्मचारीलाई सेवा प्रवेश गरेको एक सय ८० दिनमा स्थायी गर्नुपर्छ । नेपालले पनि यससम्बन्धी प्रावधानमा हस्ताक्षर गरिसकेको छ ।

विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले विश्वविद्यालयले प्रा. डा. टेकनाथ ढकालको संयोजकमा आंशिक प्राध्यापक समस्या समाधान समिति बनाएर काम सुरु गरेको जनाए । उनले हाल विश्वविद्यालयसँग कुल १४ हजार शिक्षक कर्मचारीहरूको दरबन्दी रहेकोमा सबै पदपूर्ति भइसकेको जनाए।

‘पोहोर नै त्रिविले १७ सय कर्मचारीको परीक्षा लिएको थियो । पास भएकाको पदस्थापन बाँकी नै छ,’ रजिस्ट्रार उप्रेतीले भने, ‘त्रिविसँग दरबन्दी नै छैन ।’ उनले थपे, ‘सरकारले दरबन्दी थपिदिए आंशिक  प्राध्यापकको समस्या समाधान हुन्छ ।’ हाल १२ सय आंशिक प्राध्यापक विश्वविद्यालयका ६० आंगिक क्याम्पसमा कार्यरत छन् ।

 

प्रकाशित: ११ श्रावण २०७४ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App