१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् विस्तार आज, को को हुँदैछन् मन्त्री?

काठमाडौं— प्रधानमन्त्रीमा निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। पार्टीभित्रै मन्त्रालय विवाद मिलाउन नसक्दा मंगलबार सरकार विस्तार गर्न नसकेका देउवाले बुधबार आफ्नै दल कांग्रेससहित सत्ता साझेदार दलका डेढ दर्जन नेतालाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

देउवाले बुधबार सरकार सञ्चालनका लागि कम्तीमा अठार सारथि थप गर्नेछन्। मंगलबार साँझ पार्टीभित्र मन्त्रालय संख्या विवाद मिलाएपछि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बुधबार सरकार विस्तार गर्ने निश्चित भएको छ ।

 ‘आफ्नै पार्टी र सत्ता साझेदार दलका डेढ दर्जन नेताले भोलि (बुधबार) मन्त्रीको शपथ लिनुहुनेछ,’ देउवा निकट नेता विमलेन्द्र निधिले भने, ‘नाम र मन्त्रालयका विषयमा छलफल भइरहेको छ। चार दलका १९ नेता भोलि सरकारमा थपिने निश्चित छ ।’

गत जेठ २४ गते प्रधानमन्त्रीको शपथ लिएकै दिन तीन उपप्रधानमन्त्रीसहित सातजनालाई सरकारमा सहभागी गराएका देउवाले अब कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, फोरम लोकतान्त्रिकबाट २, नेकपा संयुक्तबाट एक नेतालाई मन्त्रीमा थप गराउनेछन् ।

सत्ता साझेदार दलहरूबीच भएको सहमतिअनुसार सरकारमा कांग्रेस १३, माओवादी केन्द्र ९, फोरम लोकतान्त्रिक ३, नेकपा संयुक्त १ र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलका लागि ४ मन्त्रालय छुट्याएका छन् । सत्ता साझेदार दलहरूबीच भएको सहमतिअनुसार कांग्रेसले रक्षा, सूचना तथा सञ्चार, भौतिक पूर्वाधार तथा यातायात, सिँचाइ, खानेपानी तथा सरसफाइ, कृषि विकास, सहकारी तथा गरिबी निवारण, कानुन, युवा तथा खेलकुद, वाणिज्य मन्त्रालय लिनेछ ।

त्यस्तै माओवादी केन्द्रले ऊर्जा, स्वास्थ्य, सामान्य प्रशासन, आपूर्ति, पशुपन्छी विकास, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछ भने फोरम लोकतान्त्रिकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भूमिसुधार तथा व्यवस्था पाउनेछ । स्थानीय विकास मन्त्रालयको जिम्मेवारी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सम्हालिसकेका छन् ।

नेकपा संयुक्तले जनसंख्या तथा वातावरण पाउनेछ भने राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलका लागि उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निर्माण छुट्याइएको छ। आन्तरिक र अन्तर पार्टीबीच मन्त्रालयलाई लिएर कुनै समस्या देखिए त्यसमा केही हेरफेर गर्न कांग्रेस र माओवादी दुवै दल लचिलो छन्।

दलीय सहमतिअनुसार विस्तारित मन्त्रिपरिषद्मा कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष सात, नेता रामचन्द्र पौडेल पक्ष चारका साथै कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का समूहका एक-एक मन्त्रालय भागबन्डामा परेका छन्।

को को हुँदैछन् मन्त्री?

पौडेल पक्षले पाँच मन्त्रालयको दाबी गरे पनि अन्तिममा चारमै चित्त बुझाएको हो । पौडेलले पाउने चार मन्त्रालयमा पार्टी केन्द्रीय सदस्य रामकृष्ण यादवका साथै बर्दिया सभापति सञ्जय गौतम, कास्की पूर्वसभापति यज्ञबहादुर थापा सरकारमा सहभागी हुनेछन् । त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई काठमाडौं–१० बाट पराजित गर्दै संविधानसभा सदस्य निर्वाचित राजेन्द्रकुमार केसी पनि सरकारमा सहभागी हुनेछन्। प्रत्यक्ष निर्वाचित उनीहरू सबै नयाँ अनुहार हुन्।

त्यस्तै कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान सरकारमा सहभागी हुनेछन्। नेता खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेत मन्त्री हुनेछन् । बस्नेत पार्टीका केन्द्रीय सदस्य हुन् भने प्रधान काठमाडौंका पूर्वसभापति हुन्।

सभापति देउवा पक्षबाट मीन विक, अम्बिका बस्नेत, अर्जुनप्रसाद जोशी र बीरबहादुर बलायर सरकारमा सहभागी हुनेछन् । उनीहरू क्रमशः प्रदेश नम्बर एक, तीन, चार र सात प्रदेशबाट प्रतिनिधित्व गर्दछन् । विक र बस्नेत समानुपातिकबाट संसद्मा प्रतिनिधित्व गर्छन् भने दुई प्रत्यक्ष निर्वाचित सांसद् हुन । यी चारैजना केन्द्रीय सदस्य हुन् । देउवा पक्षवाट सरकारमा सहभागी हुने नेताहरुको नाम भने अन्तिम समयसम्मका परिवर्तन हुने सम्भावन रहेको स्रोतले बताएको छ ।

यसअघि कांग्रेसबाट सरकारमा सहभागी गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फरमुल्लाह मन्सुर पनि देउवा निकट हुन् । उनीहरूले शिक्षा, अर्थ र श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । 

त्यस्तै माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, सन्तबहादुर चौधरी, आशा कोइराला, सीता नेपाली मन्त्री बन्ने भएका छन् । उनीहरूले पाउने मन्त्रालयको भने टुंगो लागेको छैन । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मन्त्री र मन्त्रालय टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नयाँ मन्त्रीको शपथका लागि मंगलबार अपराह्न ४ देखि ५ बजेसम्मको समय लिएको थियो । तर, मन्त्रालयको अन्तिम टुंगो लगाउन माओवादीलाई बिहान १० बजे छलफलका लागि बोलाए पनि दिउँसो २ बजेमात्रै प्रधानमन्त्रीका तर्फबाट नेता निधिले माओवादी केन्द्रका अध्यक्ष  दाहालसँग छलफल गरेका थिए । मन्त्रालयको अन्तिम टुंगो लगाउन दाहाल निवास लाजिम्पाट पुगेरै निधिले छलफल गरेका थिए ।

त्यस्तै पार्टीभित्र मन्त्रालय विवाद जारी रहेका बेला निधिकै पहलमा साँझ साढे पाँच बजे सभापति शेरबहादुर देउवा र पार्टी नेता रामचन्द्र पौडेलबीच छलफल भएको थियो । सोही छलफलमा मन्त्रालय संख्या र नाम टुंगो लागेको स्रोतको दाबी छ ।

फोरम अध्यक्ष गच्छदार र नेकपा संयुक्तका अध्यक्ष गणेश शाहसँग पनि निधिले सम्पर्क गरी उनीहरूले पाउने मन्त्रालयको जानकारी दिँदै सरकारमा सहभागी गराउने नेताको नाम मागेका थिए । ‘प्रधानमन्त्रीले सरकारमा सहभागी हुने मन्त्रीको नाम बुधबार बिहान उपलब्ध गराउनुहुन्छ,’ देउवा निकट स्रोतले भन्यो, ‘१ बजेसम्म शपथ हुनसक्छ । तर, समय तय गर्ने अधिकार राष्ट्रपति कार्यालयको हो ।’

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी नहुने भएको छ। ‘कांग्रेस र माओवादीले राप्रपालाई पाखा लगाउँदै जाने नीति लिएको देखियो । त्यसैले हामी सरकारमा जाँदैनौं र संविधान संशोधन प्रस्तावका पक्षमा पनि सहमत हुँदैनौं’, मंगलबार साँझ पार्टी अध्यक्ष कमलसहित प्रभावशाली नेताहरूको बैठकपछि राप्रपाका एक नेताले भने ।

प्रकाशित: ११ श्रावण २०७४ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App