coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रंगिन घर सिन्धुपाल्चोकेका

सिन्धुपाल्चोकका विभिन्न गाउँमा बनेका भूकम्पप्रतिरोधी रंगिन घरहरु ।

सिन्धुपाल्चोक –  मध्याह्नको सूर्य गाउँमाथि आइपुग्दा जुगल गाउँपालिकास्थित हगामको बिसिङगर टोल चमक्क चम्कियो । सेता, राता, निला र हरिया रंगका जस्तापाताले छाइएका छानो टलक्क टल्कँदा घरहरुको स्वरुप खुल्यो । रातारात रंगिन बस्ती ठडिँदा ७४ वर्षीय बुद्धसिंह तामाङ फुरुङ्ग छन् ।
आँगनबाट आफ्नै र छिमेकका घर नियाल्दै बुद्धसिंहले भने, ‘ठूलो सास्ती दिएको भूकम्पले गाउँको मुहारै फेरिदियो,’उनले भने,‘विनास दुःख मात्र नभएर अवसर पनि लिएर आउने रहेछ ।’ उनका अनुसार भूकम्पअघि टोलमा परम्परागत ढुंगामाटाका ठुल्ठूला घर थिए । ढुंगामाटो, काठ र जस्तापाताको प्रयोग गरेर झण्डै चार लाख लागतमा उनले घर निर्माण गरेका छन् ।
जिल्लाको गुम्बा, गोल्चे, सेलाङ, पाङताङ र बराम्ची लगायत गाउँपालिकामा तयार भइरहेका घरहरुले रंगिन आकार लिइसकेका छन् । दुई वर्षअघिको विनासकारी भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका गाउँहरुमा पुननिर्माणले तिव्रता लिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन, जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार १० हजारभन्दा बढी घर निर्माणाधीन छन् । ‘प्राविधिक जनशक्ति अभाव हुँदा वास्तविक तथ्यांक आउन सकेको छैन,’ आयोजना प्रमुख डा. युवराज पौडेलले भने ।
धुर्मुस–सुन्तली फाउन्डेसनले जिल्लाको गिरानचौरमा डेढ सय घरधुरीको रंगिन एकीकृत नमुना गाउँ ठड्याएपछि भूकम्प प्रभावितले त्यसको सिको गरिरहेका हुन् । रंगिन जस्तापाताले छाइएका एउटै डिजाइन, आकार र किसिमका घरले गाउँ–बस्तीको पुननिर्माणमा एकरुपता ल्याएको छ ।
 

 

प्रकाशित: १० श्रावण २०७४ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App