६ वैशाख २०८१ बिहीबार
अन्य

ढिला विद्यालय पठाउनुस्

सरस्वती पूजाका दिन अक्षराम्भ गराउन हामीलाई हतार हुन्छ । त्यसपछि वैशाखमा विद्यालयको भर्ना सुरु हुनेबित्तिकै स–साना चिचिला बालबालिकालाई समेत हामी स्कुल पठाउने गर्छौैं । आफ्नो सामथ्र्यभन्दा ठूला किताब र झोलाको भारी देखेर अभिभावक स्वयं चकित पर्ने गर्छौं– यसले यत्रा किताब र यत्रो भारी के गर्ला !
यो नेपालको मात्र समस्या होइन । संसारभरि नै समयअघि नै बालबालिकालाई आफूभन्दा जान्ने बनाउनुपर्ने होडबाजी चलेको छ । यस होडबाजीका कारण बालबालिकाले उनीहरुको आफ्नो निजत्व, बालमन र बालगुण गुमाउँदै जान थालेका छन् ।
त्यसो त केटाकेटी जन्मेर बक फुट्न नपाउँदै बाबुआमालाई आफ्ना सन्तान स्कुल वा प्ले ग्रुप पठाउन हतारो हुनुको कारणमध्ये एउटा मूल कारण एकल परिवारको समस्या पनि हो । काम गरिखानु पर्ने, पति–पत्नी दुवै व्यस्त हुनुपर्ने बाध्यताका कारण पनि आफ्ना सन्तानलाई सकेसम्म चाँडो विद्यालय पठाउनुपर्ने बाध्यता छ । पछिल्लो समय आएका अधिकांश शोधहरुले देखाएको छ, बालबालिकालाई कलिलो उमेरमा प्ले ग्रुप वा विद्यालय पठाउनु हुँदैन । अझ पछिल्लो समयको शोधले त के देखाएको छ भने बालबालिकाको विद्यालयीय पठनपाठन ढिलै सुरु गरेको राम्रो ।
अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयले गरेको शोधमा के पाइयो भने जो बाबुआमाले आफ्ना बालबालिकालाई किन्डरगार्टनमा पाँच वर्षको उमेरमा पठाए, त्यसको तुलनामा ६ वर्षको उमेरमा पठाइएका बालबालिका बढी आत्मसंयम रहेको पाइयो । त्यस्तै सात वर्षको उमेरमा पढाउन पठाइएका बालबालिका अझ बढी आत्मसंयमी र ११ वर्ष उमेरका त झनै बढी आत्मसंयमी देखिए ।
मनोवैज्ञानिकहरुका अनुसार आत्मसंयम मानिसको व्यक्तित्वको अति महŒवपूर्ण र विशिष्ट गुण हो । यो गुण बालबालिकाले आफ्नो हुर्कंदो उमेरका सुरुवाती वर्षहरुमै पाउने वा ग्रहण गर्ने गर्छन् । यो गुण बालबालिकामा सुरुवात ताका नै आउन थाल्यो भने समस्या पर्दा पनि बालबालिका त्यो समस्या समाधानतर्फ ध्यान केन्द्रित गर्न सक्छन् र ती समस्या समाधान गर्न सक्छन् ।
पछिल्लो एउटा खोजमा खोजकर्ता थोमस डि र हेन्स हेनरिक सिभर्जनले दानिस नेसनल बर्थ कोबर्ट (डिएबिसी)बाट डाटा सङ्कलन गरेका थिए । त्यसमा उनीहरुले सात वर्षका बालबालिकाको मानसिक स्वास्थ्यबारे जानकारी लिन ५४ हजार २४२ अभिभावकहरुको प्रतिक्रिया लिए । त्यस्तै ११ वर्षको बालबालिकाको लागि ३५ हजार ९०२ अभिभावकहरुको प्रतिक्रिया लिइयो । डि र सिभर्जनले के पाए भने जुन बालबालिका अन्य बालबालिकाभन्दा एक वर्ष ढिला किन्डरगार्डेन गएका थिए, उनीहरुको मानसिक स्वास्थ्य अन्यभन्दा निकै राम्रो पाइयो । उनीहरुमा हाइपरएक्टिभिटी जाँचमा ७३ प्रतिशत राम्रो अंक ल्याएका थिए ।
उत्तरी युरोपका मुलुकमा बालबालिकालाई निकै ढिला गरी विद्यालय पठाउने चलन छ । उदाहरणका लागि फिनल्यान्डका बालबालिकाहरुले औपचारिक रुपमा आठ वर्षको उमेरपछि मात्र विद्यालय पठाइने गरिन्छ । यसअघिको समय भने उनीहरु या त घरैमा बस्थे या प्रि–किन्डरगार्डनमा पठाइन्थे ।

प्रकाशित: १० श्रावण २०७४ ०७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App