५ वैशाख २०८१ बुधबार
समाज

एक दशकदेखि तलब विहीन भानुका कर्मचारी

भानु जन्मस्थल विकास समितिको कार्यालयमा रहेको भानु पुस्तकालयमा सेवारत् खरिदार शिवभक्त रानाभाट । तस्बिर : किसान संगीत नेपाली

चुँदीफाँट – भानु नगरपालिका ४ चुँदीफाँट स्थित जन्मस्थल विकास समितिको कार्यालयमा दुईदशक देखि कार्यरत सोही ठाउँका शिवभक्त रानाभाटले मासिक तलब नबुझेको एक दशक नाघ्यो । सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी शम्शेर बहादुर घर्ती देखि कार्यकारी निर्देशकसम्मले पनि नियमित रुपमा मासिक तलब लिदैनन् । 

आदिकवि भानुभक्त आचार्यको स्मृतिमा गठित सो समितिका कर्मचारीले भानुभक्त प्रतिको आगाढ सद्भाव र प्रेमले वा निस्वार्थ रुपमा स्वयंसेवा गरेका कारणले तलव नलिएका भने होइनन् । सबैको आ–आफ्नो दर्जा अनुसारको सरकारी तलब र सेवा सुविधा तोकिएको छ तर समितिले वित्तिय स्रोतको व्यवस्था गर्न नसक्दा उनीहरु विनातलब सेवा गर्न बाध्य भएका हुन् । 

‘आफूले तलब पाएको छैन तर घर खर्च त चाहिन्छ, जागिर खाएको छ भन्ने घर परिवारलाई परेको छ’

समितिमा २ कार्यालय सहयोगी, १ नायब सुव्वा, १ खरिदार र १ कार्यकारी निर्देशकको दरबन्दी रहेका छन् । ति मध्ये १ कार्यलय सहयोगी, नासु, खरिदार र कार्यकारी कार्यरत् छन् तर उनीहरु कसैले पनि नियमित तलव पाएका छैनन् । सरकारले समितिलाई प्राथमिकताका साथ नहेरेको र तलव लगायतका खर्च समिति आफैंले व्यवस्थापन गर्नुपर्ने जस्ता कुरा गर्दै आएको कर्मचारीहरु बताउँछन् । समितिले आन्तरिक रुपमा आयआर्जन गर्न सक्ने कुनै खालका श्रोत वा उपाय नभएको कार्यकारी निर्देशक शंकर रानाभाटले बताए । समितिलाई सरकारले वर्षेनी पुँजीगत र चालु खर्च विनियोजन गर्दै आएको छ र सोही रकम मध्येको केही अंशबाट ४÷५ महिनामा एकपटक जनही ८÷१० हजार बाँडीचुडी पारिश्रमिक पाउने गरेको खरिदार शिवभक्त रानाभाट बताउँछन् । गत आर्थिक वर्षमा पुँजीगतमा २० लाख र चालुखर्च तर्फ ५ लाख रुपैयाँ प्राप्त भएको थियो । पुँजीगतमा प्राप्त रकम भौतिक संरचना निर्माण लगायतका नियमित कार्यक्रममा र चालु खर्चले कार्यालय सञ्चालन, तलबभत्ता लगायतमा खर्च गरिन्छ । सोही चालुखर्चमा प्राप्त रकमबाट कर्मचारीहरुले गुजारा गर्दै आईरहेका छन् ।

आर्थिक वर्ष २०७२/७३ सम्म कर्मचारीले जसोतसो पारिश्रमिक पाउँदै आएकोमा त्यसयता कसैले पनि नियमित रुपमा पारिश्रमिक नपाएको उनीहरु बताउँछन् । खरिदार रानाभाट समितिका सबैभन्दा पुराना कर्मचारी हुन् । २०६३ कार्तिकमा नियुक्ती लिएका उनले ०७३ देखि हालसम्म पारिश्रमिक नै भनेर महिना सकिएपछि आफुले पैसा नपाएको बताउँछन् । त्यस्तै, कार्यालय सहयोगी शम्शेर भुजेलले ६ वर्षअघि नियुक्ति लिएकोमा पारिश्रमिक नलिएको धेरै भयो । मासिक पारिश्रमिक १६ हजार रुपैयाँ तय भएको छ तर गएको दशैंमा १० हजार रुपैयाँ पाएको र त्यसपछि पैसा नलिएको उनी बताउँछन् । समितिमा २२ वर्ष सेवा गरेका रामकुमार श्रेष्ठले लामो सयमसम्म पारिश्रमिक नपाएपछि बिना जागिर छाडिदिएको कर्मचारीले बताए । उनले ०६४ देखि नै पाउनु पर्ने पारिश्रमिक बाँकी रहेको र बेलाबखत पाउने आशमा कार्यालयमा बुझ्ने गरेको पनि बताइएको छ ।

सोही समितिमा लामोसमय कार्यरत शम्भुलाल घर्तीको ०६३ माघ १ गते मृत्यु भयो । आर्थिक अभावले राम्रो उपचार गराउन नसकेका उनको परिवारले समितिसँग लिन बाँकी पारिश्रमिक वा अन्य आर्थिक सहयोगका लागि निकै अनुरोध गरेपनि कुनै सुनुवाई नभएको उनका छोरा विश्वास घर्तीले बताए । अहिलेपनि केही सहयोग प्राप्त होला, बुवाले पाउनु पर्ने रकम प्राप्त होला भन्ने आशमा आफूले समितिका कार्यक्रमहरुमा सहयोग गर्ने गरेको उनी बताउँछन् । बेरोजगार छैन, दिनहुँ कार्यालय गएको छ तर तलब कहिल्यै नआउँदा घर परिवारले समेत आफूलाई जागिर छाडिदिन पटक–पटक दबाब दिएको खरिदार रानाभाटले बताए । ‘आफूले तलब पाएको छैन तर घर खर्च त चाहिन्छ, जागिर खाएको छ भन्ने घर परिवारलाई परेको छ,’ रानाभाटले दुखेसो पोखे, ‘आफ्नो तलब कहिल्यै आउँदैन मैले कसरी पैसा दिने परिवारलाई ।’ अर्को महिना, अर्को वर्ष त आउला भन्ने आशै आशमा लामो समय यही समितिमा काम गर्दै आएको उनले बताए । जागिर छाड्दा आफुले पाउनु पर्ने सेवा सुविधा नपाइएला भन्ने डर भएको र काम गर्दा पनि तलब नपाउँदा आफूहरू निकै अन्यौलमा परेको कर्मचारीहरु बताउँछन् । कर्मचारीहरूले लामो समयदेखि बिना तलब काम गर्दै आएको सत्य भएको कार्यकारी निर्देशक रानाभाट स्वीकार्छन् । सँगै समिति सँग आम्दानी गर्न सक्ने खालको कुनै स्रोत वा कार्यक्रम नभएको र सरकारले पनि राष्ट्रिय विभूति सँग जोडिएको यस समितिलाई अलि टाढाको व्यवहार गरेको अनुभूति भएको उनी बताउँछन् । 

रानाभाटका अनुसार, समितिले हाल कार्यालय व्यवस्थापन र सञ्चालन, प्रत्येक वर्ष भानुजयन्तीमा रचनात्मक कार्यक्रम गर्ने, कार्यालयमा स्थापित भानुस्मृति संग्रहालय, पुस्तकालयको व्यवस्थापन, परिसरमा मिनि पार्क निर्माण तथा व्यवस्थापन, निर्माणाधिन भानु स्मृतिपार्कमा वातावरणमैत्री बगैंचा निर्माण, ईनार, ट्रष्ट, शौचालय लगायतका संरचना निर्माणको काम भईरहेको छ । त्यस्तै, चुँदीरम्घा भानुको जन्मघर वा पुख्यौली थलोमा संरक्षण कार्य, त्यस भन्दा तल शिखर कटेरीमा निर्माणाधिन रामायण भवन लगायतका कार्यक्रमहरुमा पनि समन्वय तथा व्यवस्थापनको कार्य भईरहेको उनले बताए ।

 

प्रकाशित: १० श्रावण २०७४ ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App