८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रिपरिषद्मा महिला सहभागिताको माग

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले सरकारमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरेको छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका बेला महिला संघले सोमबार राधाजनीमा पत्रकार सम्मेलन गर्दै ३३ प्रतिशत महिला सहभागिता सुरक्षित नगरे कडा आन्दोलन गर्ने घोषणा गरेको हो । 

अध्यक्ष उमा रेग्मीले २५ क्याबिनेट मन्त्रीमध्ये एकतिहाइ मन्त्रीमा महिला नभए आन्दोलनमा उत्रने चेतावनी दिइन् । ‘हामीले पहिलेदेखि नै सरकारमा महिला सहभागिताका बारेमा विशेष जोड दिँदै आएका छौं,’ उनले भनिन् , ‘अहिले पनि हाम्रो पार्टी सरकारमा छ, माओवादी केन्द्रको सहभागिता छ, दुवै पार्टी यतिबेला महिलाको सहभागिताको बारेमा गम्भीर हुनुपर्छ ।’

विकास पूर्वाधारसम्बन्धी विभिन्न आयोगमा महिला सहभागिता न्यून रहेको भन्दै उनले योजना आयोगमा महिलाको सहभागितालाई अनिवार्य गरिनुपर्ने बताइन् । 

त्यस्तै कार्यक्रममा संघकी कोषाध्यक्ष जानकारी सिंहले पनि मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला गराउने बाचा पार्टी सभापति देउवाले दिएको बताइन् ।  ‘हामीले यो पत्रकार सम्मेलन गर्नुपूर्व प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छौं,’ उनले भनिन्, ‘हाम्रो मागप्रति गम्भीर नभए आन्दोलन विकल्प हुनेछ ।’

यसैबीच नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधानको व्यवस्थाअनुसार सरकार र पार्टीमा महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले भनिन्, ‘संसदमा पनि महिलालाई ३३ प्रतिशत अनिवार्य सहभागिता गराउनुपर्नेछ, पार्टीमा पनि सोही अनुपातमा स्थान दिनुपर्छ ।’

उनले पार्टीभित्र ६०÷४० को भागबन्डा अन्त्य हुनुपर्ने बताइन् । पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी भएको बताउँदै उनले ‘ग्रुपिज्म’ अन्त्य नभए पार्टी समाप्त हुने चेतावनी दिइन् । ‘पार्टीभित्र अब सक्षम, इमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेतालाई स्थान दिनुपर्छ,’ उनले भनिन्, ‘ मन्त्रिमण्डल विस्तार गर्दा पनि त्यहीअनुसार गर्नुपर्छ, फलानोको र ढिस्कानोको मान्छे भनेर मन्त्रिमण्डल र पार्टीका पदाधिकारी तथा केन्द्रीय समितिमा नियुक्त गर्नु उचित हुँदैन ।’

स्थानीय तह चुनावमा पार्टीले ठीक ढंगबाट टिकट वितरण गर्न नसक्दा पराजित भएको बताउँदै उनले भनिन्, ‘कांग्रेसको कमजोरी भनेको नै एकता नहुनु हो, जिल्ला–जिल्लामा अहिले कांग्रेस विभाजित बनेको छ, माथिको विभाजन तलसम्म पुगेको छ ।’ 

प्रकाशित: १० श्रावण २०७४ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App