काठमाडौं – एक महिनाअघि भोजपुरमा तीन बालबालिकाको रहस्यमय मृत्युको छानबिन गर्न लगिएको कुकुर अपराधी पत्ता लगाउने क्रममा आर्मी ब्यारेक छिर्न खोजेपछि त्यसलाई तानेर अपराधी खोज्न रोकिएको आरोप सांसद कुमारीलक्ष्मी राईले लगाएकी छिन् ।
‘तीनजना बालबालिकाको रहस्यमय मृत्यु भएपछि त्यसका लागि छानबिन गर्न कुकुर झिकाइयो तर कुकुर आर्मी ब्यारेकतर्फ छिर्न खोजेपछि प्रहरीले तानेर राख्यो’, सांसद राईले संसद्मा भनिन्, ‘त्यसको निष्पक्ष छानबिन हुनुपर्छ, यस जघन्य अपराधबाट कोही नउम्किऊन् ।’ सो घटनामा सुरक्षाकर्मी नै संलग्न भएको हुनसक्ने बताउँदै छानबिन माग गरेकी छिन् ।
भोजपुरको अरुण गाउँपालिका–१ बाट गत असार १० गते हराएका तीन बालबालिका असार १२ गते मृत अवस्थामा फेला परेका थिए । १४ वर्षीया रञ्जित सापकोटा, १६ वर्षीया सुष्मा फुयाँल, ८ वर्षीया प्रदिप फुयाँल मृत अवस्थामा फेला परेका थिए । उनीहरू पोखरीमा हत्या गरेको अवस्थामा भेटिए पनि दोषी पक्राउ पर्न नसकेको भन्दै सांसद राईले संसद्मा सो विषय प्रवेश गराएकी हुन् ।
सोमबार संसद्मा बोल्ने सांसदले सिन्धुपाल्चोकको भोटेकोसीमा गएको पहिरोका कारण रोकिएको तातोपानी नाका तत्काल बेलिब्रिज हालेर खुलाउनुपर्ने माग गरे ।
सांसद लीलादेवी श्रेष्ठले सूर्योदय नगरपालिका–२ मा अवस्थित शुक्र लिम्बूको निजी जग्गामा भारतीय पक्षले सिमा स्तम्ब ठडाउन खोजेको बारे ध्यानाकर्षण गराइन् । उनले सो सिमामा भएको हस्तक्षेप रोक्न जिल्ला प्रशासन कार्यालले चासो नदिएको आरोप लगाइन् ।
सांसद कल्पना शर्मा जोशीले पोखरा–बागलुङ राजमार्ग ३१ मिटर फराकिलो बनाउने क्रममा केही जलविद्युत् आयोजना र क्याम्पसमा क्षति हुने भएकाले त्यसको वैकल्पिक व्यवस्था गर्न माग गरिन् भने कान्ता भट्टराईले भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा पुनर्निर्माण प्राधिकरणको ४१ अर्ब बजेट फ्रिज भएको प्रति प्रश्न गरेकी छिन् ।
सांसद रामदुलारी हरिजनले वडा अध्यक्ष टेकबहादुर पुनले अपांग दलितलाई कुटपिट गरेको र क्षतिपूर्ति दिएर उम्किएको घटनाको निन्दा गरिन् । रूपेन्देहीमा दलितसँग प्रेम गरेको आरोपमा किशोरमाथि कुटपिट भएको घटना जघन्य भएको भन्दै सासंदहरूले आपत्ति जनाए ।
राजपा सांसद महेन्द्रराय यादवले पार्टीले सरकारलाई समर्थन दिएको १२ महिना बित्दा पनि माग सुनुवाइ नभएको भन्दै संविधान संशोधन प्रक्रिया अघि बढाउन माग गरे । ‘खेलमा गए पछि परिणाम भोग्न तयार छौं तर सरकारले संविधान संशोधन गरेन,’ रायले संसदमा भने, ‘सरकारले आफैंले चुनावको मिति सार्छ तर दोष हामीलाई लगाउँछ ।’ सरकारले गर्न सक्नेसमेत काम नगरेर प्रदेश नम्बर २ को निर्वाचनमा लान खोजिएको उनले आरोप लगाए ।
प्रकाशित: १० श्रावण २०७४ ०२:३९ मंगलबार