७ वैशाख २०८१ शुक्रबार
अन्य

गिरीशकी ‘नम्बर वन’ ज्योति

 अनिल यादव

गिरीश र ज्योति आफूलाई विशुद्ध आधुनिक जोडी मान्छन् । लोग्ने मान्छे कस्तो हुनुपर्छ, स्वास्नीमान्छे कस्तो हुनुपर्छ ? उनीहरूले त्यसको कुनै बार–बन्देज लगाएका छैनन् । सफल दाम्पत्यसम्बन्धी उनीहरूको एउटै सूत्र छ– निस्वार्थ प्रेम, एकअर्कामा समझदारी र कदम–कदममा सहकार्य । अघिल्लो महिनाको दोस्रो साता झम्सिखेलस्थित अँगेनो रेस्टुराँमा १८ महिनाको छोरा आरोहणसहित आइपुगेका गिरीश र ज्योतिले आफ्नो जोडीबारे खुलेर कुरा गरे ।

‘टोयटा गाडी चढ्दिनँ
म ऊजस्तो धनी छैन,
फेयर एन्ड ह्यान्डसम म होइन
तिमीलाई नफकाई छाड्दिनँ...’

माथिका हरफ धेरैका लागि एउटा र्याप गीत मात्र हो तर गिरिश खतिवडाका लागि यो त्यति मात्र होइन, उनको भावना पनि हो । पोखराकी ज्योति रानाभाटसँग उनले बिहे गरेको चार वर्ष भइसक्यो । बिहेअघि उनले ज्योतिलाई ‘डेडिकेट’ गरेर लेखेको गीत हो यो । ‘बिहे हुनुअघि म माग्न आउँदै छु है भनेर मैले गीतमार्फत नै उनलाई जानकारी गराएको थिएँ,’ गिरीशले ती दिन सम्झिए, ‘गीतमार्फत मैले उनको वर्णन गर्न खोजेको छु, म उनलाई कति प्रेम गर्थें, त्यो मेरो आशक्ति झल्काउन खोजेको छु ।’

यता ज्योतिलाई आफूप्रति समर्पित गरेर लेखिएको यस गीत अरुभन्दा विशेष लाग्छ । ‘उसले यो गीत लेख्दै गर्दा ‘आज यो लेखेँ, यो बिट बनाएँ’ भनेर प्रत्येक कुराको मलाई अपडेट गराउँथ्यो,’ उनले सम्झिइन्, ‘गीत रिलिज हुनुअघि नै यसको ‘कच्चा भर्सन’ मसँग थियो । गीतको हरेक कुरासँग म आफैँ प्रत्यक्ष जोडिएकाले पनि मलाई उसले दिएका थुप्रै उपहारमध्ये यो गीत झनै प्रिय लाग्छ ।’
गिरीश र ज्योतिको जोडीलाई नेपाली मनोरञ्जन जगतमा एउटा सुःखद् जोडीका रुपमा लिइन्छ । थुप्रै कलाकार यहाँ आफ्ना श्रीमान्÷श्रीमतीलाई सार्वजनिक गर्न हिच्किचाइरहेका हुन्छन् तर गिरीश आफ्नो भिडियो ब्लगमा प्रायः छोरा र श्रीमतीसँगका रमाइला पल प्रशंसकमाझ बाँडिरहेका हुन्छन् । गिरीशलाई आफ्नी श्रीमती संसारकै सबैभन्दा प्रिय र सुन्दरी लाग्छिन् । त्यसैले त उनले बिहेपछि पनि ज्योतिलाई समर्पित गरेर अर्को गीतै निकाले, ‘नम्बर वन गःल’ । गीतले भन्छ,
‘मेरी बेबी, तिमी नै हो मेरो नम्बर वन गःल
आई लाइक द वे यु स्माइल, अनि त्यो हेयरको कलर ।’

फेसबुकले जुराएको जोडी
सन् २००८ तिरको कुरा हो । यता चर्चा कमाइरहेका बेला गिरीश बाध्यतावश नेपाल छोडेर अमेरिका पुगेका थिए । उता ज्योति बंगलादेशमा एमबिबिएस अध्ययन गरिरहेकी थिइन् । त्यतिबेलै उनीहरू फेसबुकमा साथी भए । च्याटमा हल्का कुराकानी हुन्थ्यो । ज्योति गिरीशलाई र्यापरका रूपमा चिन्थिन्, उनका केही लोकप्रिय र्याप सुनेकी थिइन् । फेसबुकमार्फत अमेरिका छँदै चिनजान भए पनि नेपाल फर्किएपछि मात्र गिरीश–ज्योतिको बाक्लो गफगाफ हुन थाल्यो । ‘मैले नेपाल फर्किएपछि पुरानो फेसबुक डिएक्टिभ गरेर नयाँ अकाउन्ट खोलेको थिएँ,’ गिरिशले ज्योतिसँग नजिकिनुको कथा सुनाए, ‘नयाँ अकाउन्टबाट मैले मेरा आफन्त र सीमित साथीलाई मात्र ‘रिक्वेस्ट’ पठाएँ । तीमध्ये एक थिइन्, ज्योति । फेसबुकमा उनका नयाँ–नयाँ तस्बिर अपलोड हुँदा म लोभिन्थेँ, एकदमै ‘क्युट’ लाग्थ्यो । त्यसैले मैले बल्लबल्ल नाम सम्झिएर उनलाई ‘रिक्वेस्ट’ पठाएको थिएँ ।’
ज्योतिले सुरुमा गिरीशलाई चिनिनन् । कारण, गिरीशले फेसबुकको आइडी नै बुबाको नामबाट बनाएका थिए । नाम थियो, उत्तर खतिवडा जुनियर । ‘सुरुमा त को हो, को हो जस्तो लागेको थियो, दुई–तीन महिनापछि मात्र गिरीश रहेछ भन्ने थाहा पाएँ,’ ज्योतिले भनिन् ।

त्यो पहिलो देखभेट
ज्योति नेपाल आउनु केही महिनाअघिबाट गिरीशसँग उनको दोस्ती निकै जम्यो । फेसबुकमा उनीहरू नजिकिएर गफ गर्न थालिसकेका थिए । ‘ब्वायफ्रेन्ड छ ?’ भन्दै घुमाउरो शैलीमा गिरीशका प्रश्नहरू ज्योतिलाई तेर्सिन थालिसकेका थिए । गिरीश भन्छन्, ‘त्यतिबेला एक–अर्काका प्रश्न र जवाफले अनगिन्ती रहस्यहरू जन्माइरहेका हुन्थे ।’ फेसबुकमा साथी भएको लामै समय भए पनि यी दुई जोडीको भेट भने सन् २०१३ मा मात्र भयो । फेस टु फेस नभेट्नुअघि दुवैले एक–अर्काबारे के सोचेका थिए ? र भेटपछि के फरक पाए त ? गिरीशतर्फ हेर्दे ज्योतिले यसको जवाफ दिइन्, ‘अलिकति ग्लुमी र सिरियस टाइपको छ जस्तो लागेको थियो तर भेटेपछि त रमाइलो र चञ्चले टाइपको पाएँ ।’ त्यसपछि मीठो मुस्कानसहित गिरीशले पत्नीबारे बोले, ‘मैले त सोचेजस्तो कुल एन्ड ब्युटीफुल पाएँ ।’ उनीहरूको पहिलो भेट एउटा रेष्टुरेन्टमा भएको थियो । ‘त्यतिबेला म मेडिकल काउन्सिलको कामले काठमाडौं आएकी थिएँ, साथीकोमा बसिरहेकी थिएँ,’ ज्योतिले भनिन्, ‘भेटौं न त भन्ने कुरा भयो । त्यसपछि गिरीश मलाई लिन कलंकीसम्म आएको थियो । अनि रेस्टुरेन्टमा गएर डेटिङ बस्यौँ ।’

र्यापरसँग डाक्टर
गिरीश र्यापर हुन्, उनकी श्रीमती डाक्टर । दुवैलाई सोधिरहेने एउटा प्रश्न हो– कसरी सम्भव भयो र्यापर र डाक्टरको जोडी ? ‘यो प्रश्न नै मलाई वाहियात लाग्छ,’ गिरीश भन्छन्, ‘¥यापर र डाक्टरको जोडी हुन नहुने भनेरचाहिँ कहाँ लेखेको छ र ? मन मिल्नुपर्छ, त्यसपछि जे पनि सम्भव हुन्छ । जसरी हाम्रो भयो ।’ सानोछँदा त ज्योतिलाई पनि आफ्नो बिहे ¥यापर अर्थात् कुनै सेलिब्रिटीसँग होला भन्ने लागेको थिएन । ‘मलाई डेरी मिल्क एकदमै मनपर्ने । त्यसैले डेरी मिल्क (चकलेट)को मालिकको छोरासँग बिहे गर्छु जस्तो लाग्थ्यो,’ ज्योतिले बाल अनुभव सुनाइरहँदा गिरीशको हाँसो कुनै डेरी मिल्कभन्दा कम मीठो थिएन ।

बिहेको रोचक कहानी
गिरीश–ज्योतिको बिहेकथा बडो रोचक छ । ज्योतिलाई लिन गिरीशको समूह  पोखरामा पुगेको थियो । प्लेन चार्टड नै गरिएको त थिएन तर दृश्य चाहिँ प्लेनमै जन्ती गएजस्तो थियो । कसरी ? ‘प्लेनभरि हाम्रो समूह मात्र थियो,’ गिरीशले सम्झिए, ‘पोखरा ओर्लनासाथ ‘शुभ विवाह’ लेखिएको गाडी हामीलाई चढाउन तयार थियो । फर्कंदा पनि प्लेनको प्यासेन्जर भनेकै हाम्रो जन्ती टोली मात्र थियो । त्यसैले फ्लाइट टाइमभन्दा दुई घण्टाअघि नै प्लेन उडाइएको थियो ।’
बिहेको दिन अर्थात् वैशाख १८ लाई ज्योति पनि कहिल्यै नभुल्ने बताउँछिन् । ‘हामीलाई दुवैलाई बिहेको दिन बेहुला–बेहुलीको ड्रेसमा देखेर फोटो खिचाउन आउने पर्यटकहरूको लर्को थियो,’ उनले भनिन्, ‘हामीले त मोडलजस्तो भएका थियौँ । निकै रमाइलो भएको थियो । त्यसैले पनि हाम्रा लागि एनिभर्सरी डेट अझ स्पेसल हुन्छ ।’

लोभलाग्दो सहकार्य
गिरीश नेपाली र्याप संगीतका प्रणेतामध्येका मानिन्छन् । उनले कक्षा ८ मा पढ्दाताका नै एल्बम निकालेका थिए । उनका ‘म यस्तो छु’, ‘मलाई भोट देऊ’ ‘हामी धेरै साना छौं’ लगायत थुप्रै गीत हिट छन् । अहिले उनी युट्युबमा भ्लग (भिडियो ब्लग) चलाउँछन् । दैनिकजसो विभिन्न शीर्षकमा नयाँ–नयाँ भिडियो अपलोड गर्छन् । उनले निकाल्ने ¥याप गीतदेखि भ्लगको शीर्षकसम्ममा उनको श्रीमतीले योगदान गरिरहेकी हुन्छिन् । ‘हामी एक–अर्काको काममा सहकार्य गरिरहेका हुन्छौँ,’ ज्योतिले भनिन्, ‘एमबिबिएस गरिसकेपछि अहिले मेरो प्राथमिकता भनेको एमडी गर्नु हो । उसले मलाई मेरो पढाइबारे बुझ्न कतै जानुप¥यो, केही गर्नुप¥यो भने हेल्प गर्छ । म पनि उसको भ्लगको टाइटल फुराउन, गीतमा यस्तो भयो, उस्तो भयो भनेर कमेन्ट गरिरहेकी हुन्छु । हामीले एक–अर्काको पेसामा गर्ने भनेकै मोरल सपोर्ट त हो नि !’
यो त भयो पेसाको कुरा हो । घरमा समेत यी दुईले कामको कुनै विभाजन गरेका छैनन् । कामको विभाजनमा यो जोडी विश्वास राख्दैन । ‘लोग्ने मान्छे कस्तो हुनुपर्छ, स्वास्नी मान्छे कस्तो हुनुपर्छ, हामीलाई यसको परिभाषा थाहा छैन्,’ गिरीशले भने, ‘घरमा म मज्जाले भाडा माझ्छु । बच्चा सुताउनु सबैभन्दा टेन्सन काम हुन्छ । ज्योतिले गेम देखाएर हुन्छ कि के गरेर हुन्छ बच्चा सुताउने काम गर्छिन् । हामी घरमा जसले जे भ्याए त्यही गर्छौं । पूजा गर्नेदेखि चिया पकाउने, पाहुनालाई सत्कार गर्ने सबै काममा सहकार्य गर्छौं ।’ उनीहरूले दिउँसो बच्चाको हेरचाह गर्न र घरको काममा सघाउन सहयोगी पनि राखेका छन् । सहयोगीले नभ्याएको र बिहान–बेलुकाको समयमा आइपर्ने कामको उनीहरू विभाजन नगर्ने बताउँछन् । ‘बूढीले पनि कमाउनुपर्छ, बूढाले कमाउनुपर्छ भन्ने लागेको छ भने त दुवैले घरको काम पनि गर्नुपर्छ नि !’ गिरीशले भने, ‘घरमा चाहिँ परम्परागत सोच यथावत् राख्यो भने बाहिर ठूल्ठूलो स्वरमा ¥याप गीत गाएर फुटानी लाएको के काम ? श्रीमतीले पनि घरमा चाहिँ धारावाहिक सिरियलको केटी जसरी व्यवहार ग¥यो भने त बाहिर म डाक्टर भनेर के काम ? हामी त विशुद्ध आधुनिक जोडी हौँ । श्रीमतीलाई कहीँकतै पार्टीमा लगेपछि आफूले मात्र होइन, श्रीमतीलाई पनि वाइन खान दिनुपर्छ भन्ने मान्यता राख्छु ।’

इमान्दार गिरीश, नम्र ज्योति
ज्योतिलाई गिरीशको के बानी असाध्यै मनपर्छ ? नागरिक परिवारको प्रश्नमा उनी एकछिन अन्कनाइन् । त्यसपछि गिरीशतिर आँखा लगाउँदै उनी बोलिन्, ‘एकदमै इमान्दार छ, यताउता गर्ने बानी छैन । आफ्नो सपनालाई निरन्तर पछ्याउँछ । संगीत भनेपछि भोकनिन्द्रा भन्दैन । मिहेनती छ । परिवारको केयर गर्छ । यिनै बानी मनपर्छ ।’ मन नपर्ने पनि त होला नि ? ‘छ नि ! स्मोक गर्ने अनि स्वास्थको ख्याल नगर्ने बानीचाहिँ मन पर्दैन । टाइममै खाइदियोस्, राति टाइममै सुतिदियोस्, बिहान टाइममै उठिदिओस् भन्ने लाग्छ ।’
यता गिरीशलाई चाहिँ ज्योतिको कुन बानीले लोभ्याएको छ ? ‘ज्योति कुल छ, नम्र छ अनि भद्र छ,’ गिरीशले भने, ‘घरको कमेडियन पनि हो, खुब फन गर्नुपर्छ उसलाई । हामी खुब हाँसखेल गरिरहेका हुन्छौँ । उसको सहयोगी भावना पनि मनपर्छ । कहिलेकाहीँ चाँडोचाँडो रिसाउने बानी हटाइदिए हुन्थ्यो भन्ने लाग्छ । रिसाउन पनि यसरी रिसाउँछ कि रिसाएकै थाहा हुँदैन !’

रिल्याक्स जोडी
गिरीश र ज्योति दुवै आफ्नो जोडीलाई ‘रिल्याक्स जोडी’ भन्न रुचाउँछन् । गिरीश भन्छन्, ‘हाम्रो जीवनमा कुनै परिभाषा छैन । कुनै परिबन्ध छैन । हामी रिल्याक्स जोडी हौँ । एकअर्काप्रति पूर्ण विश्वासहित बाँचेका छौँ ।’ गिरीशकै भनाइमा ज्योतिले थपिदिइन्, ‘सम्बन्धलाई बलियो बनाउनलाई दुवैजना उत्तिकै इफोर्ट लगाउन आवश्यक हुन्छ । सधैँ आफ्नो मात्र लाद्न खोज्नुहुँदैन, अर्कोको कुरा पनि सुन्नुपर्छ । सम्बन्धमा समझदारी सबैभन्दा ठूलो कुरा हो, त्यो हामीमा छ जस्तो लाग्छ ।’

 –   तस्विर: रुकेश श्रेष्ठ

(नागरिक परिवारबाट साभार)

प्रकाशित: ९ श्रावण २०७४ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App