coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘अन्तरघात र व्यस्थापकीय कमजोरीले पराजित’

पार्टी केन्द्रीय कार्यालय सानेपामा अाइतबार बसेकाे काँग्रेसकाे केन्द्रीय कार्यसमितिकाे बैठक । तस्बिर :रासस

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू स्थानीय तहको निर्वाचनमा पार्टी किन पराजित बन्यो भन्नेमा विभाजित देखिएका छन् । 

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेताहरूले निर्वाचन पराजयको मुख्य कारण अन्तरघात भएको र अन्य नेताले व्यवस्थापकीय कमजोरी र निर्वाचनमा मुखमा लिएका निर्णय मुख्य कारण भएको तर्क गरेका हुन् ।

शनिबारदेखि जारी केन्द्रीय समितिको आइतबारको बैठकमा बोल्दै देउवा निकट केन्द्रीय सदस्यहरू रमेश लेखक, अम्बिका बस्नेत, बीरबहादुर बलायर, अर्जुनप्रसाद जोशीसहितले चुनावमा पार्टी पराजयको मुख्य कारण अन्तरघात भएको दाबी गरेका छन् । अन्तरघात गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाउन नेतृत्वलाई सुझाउँदै उनीहरूले अनुशासन समिति गठन गर्न माग गरे । 

नेताहरु दिलेन्द्रप्रसाद बडु, जीवन परियार, बद्री पाण्डेसहितले प्रधानन्यायाधशीमाथिको महाभियोग प्रस्ताव, प्रहरी प्रमुखको नियुक्ति विवादका साथै पार्टीको व्यवस्थापकीय कमजोरीले चुनावमा पराजित भएको तर्क गरे । समयमा टिकट वितरण गर्नु नसक्नु र टिकट वितरणपछिको असन्तुष्टिलाई व्यवस्थापन गर्न नसक्नु पनि पराजयको कारण भएको जिकिर गरेका छन् ।

सभापति निकट केन्द्रीय सदस्य रमेश लेखकले न्यायपालिकामाथि कार्यपालिकाले हस्तक्षेप गरेकै कारण प्रधानन्यायाधीशमाथि महाभियोग दर्ता गरेको दाबी गरेका थिए । 

प्रहरी प्रमुख, मुख्यसचिव, सचिवसहितका नियुक्ति गर्ने अधिकार कार्यपालिकाको भएको जिकिर गर्दै न्यायपालिकाले त्यसमाथि पटकपटक हस्तक्षेप गरेको उनको भनाइ थियो । शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने पार्टी र यसका सदस्यले शक्ति पृथकिकरणको सिद्धान्त र प्रधानन्यायाधीश सुशीला कार्की रोज्नुप¥यो भने कुन रोज्नुहुन्छ भन्ने प्रश्न गर्दै लेखकले बैठकमा भने, ‘शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालय अघि बढेकाले त्यसलाई रोक्न महाभियोग प्रस्ताव दर्ता गराएका हौं ।’

पार्टी सभापतिविरुद्ध नै मानहानिको मुद्दा उठाएर कांग्रेसमाथि आक्रमण गर्ने काम भएको सुनाउँदै लेखकले मूल विषय प्रहरी प्रमुख कसलाई बनाउने भन्ने नभएको स्पष्ट गरेका थिए । 

निर्वाचनमा पराजयको मुख्य कारण अन्तरघात भएको दाबी गर्दै पार्टीभित्र मौलाउँदै गएको विधिविहीनतालाई रोक्नुपर्ने तर्क उनको थियो । बैठकमा केन्द्रीय सदस्य जोशीले पार्टीभित्रको अन्तरघात नै पार्टी पराजयको मुख्य कारण भएको तर्क गर्दै तत्काल अनुशासन समिति गठन गरेर पार्टी निर्णयविपरीत जानेलाई कारबाही गर्न माग गरेका थिए । 

केन्द्रीय सदस्य वीरबहादुर बलायरले कांग्रेस आफ्नै पार्टीभित्रबाट पराजित भएको तर्क गरे । उनले आगामी निर्वाचनमा फेरि त्यही परिपाटी नदोहोरिने गरी पार्टीले स्पष्ट नीति बनाउन नेतृत्वलाई सुझाव दिए । 

पार्टीले गरेका कामको प्रचार गर्न नसकेको सुनाउँदै उनले भने, ‘वृद्धभत्ता हामीले बढाएर दुई हजार पु¥यायौं, तर त्यो कुरा जनतालाई भन्न सकेनौं ।’

केन्द्रीय सदस्य गगनकुमार थापाले कांग्रेसको नेतृत्वमा मुलुकमा धेरै उपलब्धि भए पनि त्यसलाई जनतासम्म पु¥याउन नसकेको तर्क गरेका थिए । पार्टी नेतृत्वमा मुलुकमा आएको उपलब्धिलाई जनतामाझ लैजानसकेको तर्क गर्दै थापाले भने, ‘पार्टी रक्षात्मक बन्न पुग्यो ।’ प्रतिपक्षी दलहरूले कांग्रेसलाई भारतपरस्त भएको आरोप लगाउँदा पनि त्यसको खण्डन वा प्रतिवाद गर्न नसकेको धारणा थापाको थियो । 

सुशीला कार्कीका पक्षमा आफू नभएको बताउँदै थापाले बैठकमा भने, ‘अदातलप्रतिको पार्टीको विश्वास र भरोसाका कारण त्यसको पक्षमा उभिएको हुँ । सुशीला कार्कीको पक्षमा थिइनँ ।’ 

पार्टी नीति र निर्णयविपरीत तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध पार्टीले पेस गरेको महाभियोगका विपक्षमा उभिएकालाई पार्टीले कारबाही गर्न बैठकमा मागपछि उनले स्पष्टीकरण दिएका थिए । 

बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सभापति देउवालाई भक्त र अनुचरको घेराबन्दीबा मुक्त भएर नेताकार्यकर्तासँग छलफलमा जुट्न आग्रह गरेका थिए । 

केन्द्रीय सदस्य मीनेन्द्र रिजालले पार्टीलाई एकताबद्ध बनाएर लैजान पार्टी नेतृत्वलाई आग्रह गरे । 

दिलेन्द्रप्रसाद बडूले समयमा टिकट वितरण नहुनु र व्यवस्थापकीय कमजोरीका कारण स्थानीय तहको चुनावमा पार्टी पराजित भएको गुनासो गरे ।    

केन्द्रीय सदस्य श्याम घिमिरेले तत्कालीन पार्टी सभापति सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएसँगै कांग्रेस कमजोर बनेको धारणा राखे । 

केन्द्रीय सदस्य किरण यादवले एमालेले संविधान जारी भएपछि मुलुकमा भएको नाकाबन्दीदेखि नै निर्वाचन लक्षित भएर राष्ट्रिवादको नारा लगाए पनि कांग्रेसले समयमा आफ्नो धारणा बाहिर ल्याउन नसकेको गुनासो गरिन् ।

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्न रामचन्द्र पौडेललाई चुनौती दिए । आगामी निर्वाचनमा नलड्ने घोषणा गर्न पौडेललाई आग्रह गर्दै उनले भने, ‘भागबन्डाको कुरा गर्ने यो कांग्रेस प्रालि होइन।’ 

बैठकमा केन्द्रीय सदस्यहरुले संसद्मा विचाराधीन संविधान संशोधन प्रस्ताव प्रक्रियामा लैजान नेतृत्वलाई सुझाएका छन् । 
त्यस्तै, सदस्यहरूले मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन नेतृत्वसमक्ष आग्रह गरेका छन् । 

प्रकाशित: ९ श्रावण २०७४ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App