८ वैशाख २०८१ शनिबार
समाज

बक्राहा नदीको बाँधमा डिई र ठेकेदारको चरम लापरवाही

जयनगरस्थित बक्राहा नदीमा निर्माण गरिएको बाँध । बलियो र सुरक्षित नहुँदा नयाँ बाँध पनि पानीले भत्काउन थालेको छ । तस्बिर : अजित तिवारी

विराटनगर – बक्राहा नदीको भत्केको बाँध निर्माणमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय र निर्माण कम्पनीको चरम लापर्वाहीले उत्तरपूर्वी मोरङको आधादर्जन भन्दा बढी बस्ती फेरि डुवानको खतरामा छन् । 

बाँध भत्किँदा गतवर्ष डुवान र कटानको समस्यासंग जुझेका उत्तरपूर्वी मोरङका बासिन्दाले बाँध निर्माणमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, विराटनगरका डिई देवनारायण साह र ठेकेदार कम्पनी निकिता कन्ट्रक्शनले चरम लापवार्ही गर्दा डुवानको समस्या फेरि बढेको बताएका छन् । ०७३ साल असार ७ र साउन ८ को बाढीले बक्राहा नदीको अमरदहस्थित पश्चिम तटबन्ध भत्काउँदा आधा दर्जन भन्दा बढी बस्ती डुवानमा परेको थियो । 

हाल पथरी शनिश्चरे–५ को जयनगरको करिव पाँचसय मिटर बक्राहाको बाँध बाढीले भत्काएर नदीको पानी मानव बस्तीमा पसेको थियो । गतवर्ष बक्राहा फुटेर मानव बस्तीमा पस्दा अमरदह, हसनदह, डाइनिया, गोविन्दपुर, रंगेली र आमगाँछी डुवानमा परेको थियो । बाढीले टुटाएको बक्राहाको बाँध निर्माणका लागि एककरोड एकलाख रुपैयाँमा निकिता कन्ट्रक्शनलाई ठेक्का दिइएको छ । जेठ मसान्तभित्रमा बाँधको निर्माण सक्ने समय पाएको निकिता कन्ट्रक्शनले माटोको ढिस्को तयार पारेर ‘फरार’ भएका छन् । 

डुवान क्षेत्रका बासिन्दाको दबाबमा सरकारले बाँध बाध्नका लागि रकम बिनियोजन गरेपनि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका डिइ साहले ‘कालो सूचि’मा परिसकेको निर्माण कम्पनीसंग ठेक्का सम्झौता गरेको स्थानीयको आरोप छ । ‘निकिता कन्ट्रक्शन कालो सुचिमा परेर फुकुवा भएको निर्माण कम्पनी हो,’ सुनवर्षी नगरपालिका–२ का वडाअध्यक्ष प्रताप तामाङले भने, ‘बाँधका लागि माटोको ढिस्को भरेर ठेकेदार फरार छन्, बर्षामा बाँध फेरि फुटाउने त्रास छ ।’ निर्माण कम्पनी निकिता कन्ट्रक्शनका साझेदार दिनेश साह भने जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका डिई साहका ‘नातेदार’ हुन् । कन्ट्रक्शनका अर्का साझेदार भने विवेश कार्की हुन् ।

बक्राहाको बाँध निर्माण बिचैमा अलपत्र पारेर फरार भएका निर्माण कम्पनीलाई भने डिई साहले ४० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । बक्राहाको बाढीले भत्काएको जयनगरको करिब पाँचसय मिटर बाँध निर्माणका ठेक्का पाएका निकिता कन्ट्रक्शनले माटोको ढिस्को वाहेकका काम नगरेकोमा स्थानीय आक्रोसित छ । ‘बाँधका लागि बनाइएको ढिस्को पनि समान्य वर्षामै बग्छ,’ वडाअध्यक्ष तामाङले भने, ‘ज्यादै कमसल काम गरेको छ, डिईलाई गुनासो गर्दा मतलबै गरेका छैनन् ।’

डिईको मिलोमतोमा निर्माण कम्पनीले बक्राहाको बाँध निर्माण अलपत्र छाडेर फरार भएको स्थानीयको आरोप छ । निर्माण कम्पनी फरार भएपछि निर्वाचित जनप्रतिनीधि र स्थानीयको सक्रियतामा बाँधमा तारजाली राख्ने र पानीको वहाव छेक्न बाँसको घेराबेरा लगाउने काम भइरहेको छ । ‘पाँचसय मिटर बाँधको एकसय मिटरमा ढुंगा र तारजाली बाँधेर राखेका छौं,’ पथरी शनिश्चरे–५ का वडाअध्यक्ष जोगवहादुर धिमालले भने, ‘साउन १ गते आएको बाढीले निर्माणाधिन बाँध भत्काउन थालेपछि गाँउलेको सहयोगमा रोकथामको प्रयास गरिरहेका छौं ।’

बक्राहा नदीको बाढीले भत्काएको बाँध मध्ये उपभोक्ता समितिमार्फत बाँधिएको एकसय मिटर बाँध भने ठेकेदार कम्पनीले बनाएको भन्दा बलियो र सुरक्षित रहेको स्थानीय चेतेन्द्र खड्काले बताए । ‘ठेकेदारले बाँध बाँध्दा खेतको माटो खने, जसले खोलाको स्तह भन्दा खेतको भाग गहिरो भएको छ,’ उनले भने, ‘ढुंगा हालेर तारजालीले बाँधलाई सुरक्षित गर्नुपर्ने काम पनि छोडेर ठेकेदार फरार छन, डिईलाई मतलबै छैन ।’

खड्का अनुसार बक्राहा नदीको पानीले पथरी शनिश्चरे–५ को सुन्दरी चोकमा पनि बाँध कटान गर्न थालेको छ । कटान भइरहेको बाँधबारे जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको उनको आरोप छ । 

 

प्रकाशित: ८ श्रावण २०७४ ०८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App