७ वैशाख २०८१ शुक्रबार
अन्य

छोराछोरीलाई व्यवसायी कसरी बनाउने ?

पछिल्लो समय लेखपढ गरेर मात्र छोराछोरीको भविष्य सुनिश्चित नहुने अवस्था सिर्जना भएको छ । लेखपढ गरेका युवाहरु बेरोजगारीको चपेटामा परेकाले अभिभावकको चिन्ता थपिएको छ । छोराछोरीलाई कसरी सुन्दर भविष्यको जिम्मा लगाउन सकिएला भन्ने चिन्ताले कतिपय अभिभावकको छटपटी बढेको छ । छोराछोरीको सुन्दर भविष्यको एउटै मात्र बाटो उनीहरुलाई असल व्यवसायी बनाउनु हो । राम्रो जागिर पाउलान् नपाउलान् तर राम्रो शिक्षाले राम्रो व्यवसायी बनाउने सम्भावना बढ्छ ।
उसो भए छोराछोरीलाई राम्रो शिक्षासँगै राम्रो व्यवसायी कसरी बनाउने ? यसबारेमा विदेशी लेखकहरुले कैयौँ राम्रा पुस्तक लेखेका छन् । चाहे पल टफको ‘हाउ चिल्ड्रेन सक्सिड’ होस् या रोबर्ट टि. कियासाकीको ‘रिच ड्याड पुअर ड्याड फर किड्स’ यस्ता दर्जनौँ पुस्तकले बालबालिकामा व्यावसायिक सोच रोप्न सकिन्छ भन्ने स्पष्ट बताएको छ ।
यदि ती पुस्तक पढ्न भ्याउनु भएको छैन भने शिवानी पण्डितले नो–स्टार्टअपका लागि लेखेको ब्लगअनुसार थोरबहुत जानकारी पाउन सक्नुहुन्छ ।
१. सम्वाद सबैभन्दा ठूलो कुरा होः आफ्ना बालबालिकाहरुलाई सम्वाद कला सिकाउनुहोस् । आफ्ना सोचलाई स्पष्ट राख्न सिकाउनुहोस् । कहाँ र कसरी व्यावसायिक अवसर खोज्न सकिन्छ भन्ने कुरा कथाका रुपमा सुनाउनुहोस् । कतिपय काम गरेर छोराछोरीलाई देखाउँदा उनीहरुले त्यही काम कसरी गर्थे होला भनी सोध्नुहोस् । आफू कहाँबाट कहाँ आइपुग्नु भयो र यस्तै प्रगति कसरी गर्न सकिन्छ भनी तिनलाई जानकारी दिनुहोस् । यसले तपाईंले गर्नुभएका कामको प्रशंसनीय दृष्टिकोण निर्माण गर्ने मात्र नभई तिनले भविष्यमा तपाईंका कामलाई अघि बढाउने सम्भावना बढाउँछ ।
२. उज्याला पक्ष देखाउने र प्रेरित गर्नेः तपाईंका सन्तानलाई आफ्नो व्यवसाय बचाउन कस्ता निर्णयहरु लिनु पर्यो भन्ने कुरा जानकारी दिनुहोस् । तपाईंका इमेलहरुका जवाफ दिने अवसर दिनुहोस् । करसम्बन्धी नियम, आय÷व्ययका टिपोट देखाउनुहोस् ।
३. तिनको व्यावसायिक क्षमता उजागर गराउनुहोस्ः जहिले पनि आफ्ना छोराछोरीहरुलाई नयाँ र आफैँले के गर्यौ भनी सोध्नुहोस् । कहिलेकाहीँ यो सोधाइको नकारात्मक असर पर्न सक्छ र जहिले पनि सकारात्मक भावमा सोध्नुहोस् । उनीहरुले नयाँ कुरा गर्न चाहे त्यो चिज कहाँबाट ल्याउन सकिन्छ÷पाउन सकिन्छ, त्यसको मूल्य, आम्दानी, घाटाबारे पूरापूर जानकारी बटुल्ने र सबैभन्दा कम दाममा किन्न सकिने ठाउँ पत्ता लगाउन उक्साउनुहोस् । मानौँ, विशेष किसिमको खेलौना वा नयाँ गितार किन्ने चाहना राख्ने आफ्ना सन्तानलाई त्यो पैसा आफ्नो गोजीबाट नदिई कुनै काम गरेबापत दिनुहोस् । दिइएका उपहारभन्दा आफ्नै कमाइले किनेका सामग्रीको मूल्य बढी हुन्छ भनी उनीहरुलाई बुझाउनुहोस् ।
४. व्यवसायमा सिर्जनशीलता आवश्यक हुन्छः छोराछोरीलाई चलनचल्तीमा भइरहेका र गरिरहेका कुराहरुभन्दा बाहिरका कुरा सोच्न र निर्णय गर्न प्रेरित गर्नुहोस् । समस्यालाई बेग्लै तरिकाले कसरी समाधान गर्न सकिन्छ भनी सिकाउनुहोस् । समाधानका कैयौा उपायको सूची बनाउन लगाउनुहोस् । व्यवसायमा सिर्जनशीलताको ठूलो भूमिका हुन्छ भन्ने उनीहरुलाई देखाउनुहोस् ।
५. असफलतालाई स्वाभाविक मान्नुहोस्ः धेरैजसो अभिभावकले आफ्ना सन्तानले गरेका काम असफल भयो भने उल्टै हपार्छन् । सफल जीवनका लागि पटक÷पटकको असफलता झेल्न आवश्यक छ भन्ने बुझ्न जरुरी हुन्छ । असफलताको सिँढी चढेर नै मानिस सफल हुन्छ । कुनै काम असफल भए, त्यसको तनावबाट निस्कन कुनै थेरापी आवश्यक परे त्यसका लागि सहयोग गर्नुहोस् । कुनै समस्या आफैँ समाधान गर्न अघि नसर्नुहोस् । उनीहरुलाई असफलताको दोष नदिनुहोस् ।
६. दृढसंकल्पलाई प्रोत्साहित गर्नुहोस्ः उमेरका कारण कतिपय अवस्थामा निर्णय गर्न अप्ठेरो पर्न सक्छ, यस्तो अवस्थामा कामप्रति उनीहरुको विश्वासलाई अझ दृढ बनाउन सहयोग गर्नुहोस् ।
७. जोखिम मोल्न सिकाउनुहोस्ः जुनसुकै व्यवसाय गर्न जोखिम मोल्नुपर्ने हुन्छ । जोखिम आन्तरिक र वाह्य हुन सक्छ । जहिले पनि व्यवसायमा जोखिमका अवस्था देखाउनुहोस् किनभने जोखिम देख्दै नदेख्दा पछि त्यसले धोका दिने सम्भावना हुन्छ ।
८. व्यवसायप्रतिको चाह जाँच्नुहोस्ः व्यावसायिक बुद्धि र क्षमता सबैसँग उस्तै हुँदैन । कवि मनको व्यक्तिलाई व्यवसाय नरुच्न सक्छ तर व्यवसायलाई दीर्घकालसम्म चलाउने विवेक आफ्ना सन्तानमा छ देख्नुभएको छ भने उनीहरुको चाह, गहिराई जाँच्नुहोस् । गहिरो चाह भएको व्यवसायलाई उनीहरुले ठूलो उचाइ दिन सक्छन् ।
९. बजेट व्यवस्थापनः कुनै व्यवसाय सफल हुन त्यो व्यवसायका लागि आवश्यक बजेटको पनि ठूलो भूमिका हुन्छ । आफ्ना छोराछोरीले सञ्चालन गरेको व्यवसायको बजेट पर्याप्त छ कि छैन भन्ने पनि ख्याल राख्नुहोस् । राम्रो व्यवसाय कम बजेटका कारण असफल हुन सक्छ ।
१०. प्रचार र बिक्रीको क्षमताः राम्रो व्यवसाय चलाउनका लागि राम्रो प्रचारप्रसार आवश्यक हुन्छ । त्यसको तयारी के कस्तो छ भन्ने चासो दिनुहोस् र छोराछोरीहरुलाई प्रचारको महत्व बुझाउनुहोस् । राम्रो उत्पादन राम्रो कुरा हो तर राम्रो उत्पादनको गज्जबको प्रचार हुनु धेरै राम्रो हो भन्ने बुझाउनुहोस् ।

 

प्रकाशित: ८ श्रावण २०७४ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App